तनहुँ प्रशासनको सेवा प्रवाहमा जेनजी प्रदर्शनको प्रभाव : पहिलो त्रैमासिकमा १५ हजारलाई सेवा
सारांश
- तनहुँ जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्षको पहिलो त्रैमासिकमा १५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ।
- जेनजी प्रदर्शनका कारण सेवा प्रवाहमा केही अवरोध आए पनि मर्मतपछि नियमित सेवा सुरु भएको छ।
- कार्यालयले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका विभिन्न सेवाहरू प्रदान गरेको छ।
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि असोजसम्म) मा करिब १५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ। यद्यपि, गत भदौ २३ र २४ गते भएको 'जेनजी' प्रदर्शनपछि भने सेवा प्रवाहमा केही असहजता आएको थियो। प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार विभिन्न कठिनाइका बीचमा पनि सेवा प्रवाह रोकिएन।
जेनजी प्रदर्शनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी समेत भएको थियो। यसपछि केही दिन सेवा प्रवाह पूर्णरूपमा अवरुद्ध समेत भएको थियो। केही समयपछि कार्यालय भवन मर्मत तथा वैकल्पिक व्यवस्था गरी हाल नियमित रूपमा सबै प्रकारका सेवा प्रवाह भइरहेको छ।
प्रजिअ अधिकारीका अनुसार पहिलो त्रैमासिकमा ५,३८८ जनालाई राष्ट्रिय परिचयपत्र, ३,६५९ जनालाई राहदानी, ३,६०७ जनालाई नागरिकता, १,२१३ जनालाई सिफारिस/प्रमाणीकरण सेवा प्रदान गरिएको छ। यस्तै, ४३४ जनाको गुनासो सम्बोधन, ३९८ जनालाई संस्था दर्ता र नवीकरण, १४० जनालाई नाबालक परिचयपत्र र ६५ जनालाई हातहतियार नवीकरण तथा नामसारी सेवा प्रदान गरिएको छ।
- नागरिकता वितरणको अवस्था
तीन महिनाको अवधिमा जम्मा ३,६०१ जनालाई नागरिकता वितरण गरिएको छ। साउनदेखि असोजसम्म १,७२४ नयाँ र १,८७७ प्रतिलिपि वितरण गरियो।
नयाँ नागरिकतातर्फ १,७१४ जनालाई वंशज (बाबुको आधारमा), ५ जनालाई वंशज (आमाको आधारमा), ३ जनालाई गैरआवासीय र २ जनालाई वैवाहिक अङ्गिकृत नागरिकता वितरण गरिएको छ। नयाँ नागरिकता पाउनेमा ९३३ महिला र ७९१ पुरुष छन्। प्रतिलिपितर्फ वंशजका आधारमा ९२० महिला र ९५७ पुरुष गरी १,८७७ जनालाई नागरिकता वितरण गरिएको छ।
सो अवधिमा दुई महिला र चार पुरुष गरी ६ जनाले नागरिकता परित्याग गरेको प्रजिअ अधिकारीले बताएका छन्।
नागरिकता वितरण साउनमा १,४७९, भदौमा १,०३६ र असोजमा १,०८६ जनालाई गरिएको थियो। सोही अवधिमा १४० नाबालक परिचयपत्र वितरण गरिएको छ। नयाँ दर्तातर्फ १३५ र प्रतिलिपितर्फ ५ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको हो।
- राहदानी र राष्ट्रिय परिचयपत्रको प्रगति
कार्यालयले १,६५३ राहदानी वितरण गरेको छ भने २,००० जनाको विवरण सङ्कलन गरेको छ। राष्ट्रिय परिचयपत्रका लागि ५,३८८ जनाको विवरण सङ्कलन गरिएको छ भने १०,५३६ जनाको परिचयपत्र वितरणका लागि सम्बन्धित पालिकामा पठाइएको जनाइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण