शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन : कास्की-१ मा कांग्रेसको उम्मेदवार बन्न १२ जना आकांक्षी

सोमबार, २२ मङ्सिर २०८२, ०९ : ५९
सोमबार, २२ मङ्सिर २०८२

सारांश

  • कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारको खोजी सुरु गरेको छ।
  • कास्की १ बाट प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि नेताहरूले नाम टिपाएका छन्।
  • केन्द्रले सहमतिमा १ जना र नभए ३ जनासम्मको नाम मागेकोमा आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ।

पोखरा । सरकारले तोकेको फागुन २१ को निर्वाचनका लागि कांग्रेसले उम्मेदवार खोजी सुरु गरेको छ । केन्द्रले हरेक निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि महिला सहित ३ आकांक्षीको नाम मागेको छ । 

सोही अनुसार हरेक जिल्लामा अहिले आकांक्षीहरुको भेला बस्ने र नाममा सहमति निकाल्ने काम भैरहेको छ । कास्की १ ले पनि आइतबार क्षेत्रीय भेला आयोजना गरेको थियो । जसअनुसार कास्की १ बाट प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवार हुन नेताहरुले नाम टिपाएका छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मात्रै १२ जनाले दाबी पेस गरेका छन् । कास्की कांग्रेसका सचिव भानु ढकालका अनुसार, प्रत्यक्षतर्फ विघटित प्रतिनिधि सभाका सांसद (समानुपातिक) तथा केन्द्रिय सहमहामन्त्री जीवन परियार सहितका नेताहरुले नाम टिपाएका छन् । यसैगरी पूर्व जिल्ला सभापति कृष्ण केसी, नेताहरु तिलक रानाभाट, गुरु बराल, सुदीपमोहन भट्टराई, भानु ढकाल, प्रेम सुवेदी, पुष्पमणी भण्डारी, अप्सरा श्रेष्ठ, बुद्धिमान गुरुङ, गिरिराज गौतम र सोभिता कार्की (लोभिसा) ले पनि उम्मेदवार बन्न आकांक्षा देखाएका छन् ।

यस्तै, समानुपातिकतर्फ पनि ८ जनाको आकांक्षा छ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल, प्रदेश सहमहामन्त्री कोपिला रानाभाट, दुर्गा लामिछाने, निशा मल्ल ठकुरी, इन्द्रमाया बानियाँ, लालकृष्ण शर्मा भट्टराई, लोककुमारी गुरुङ र खलिल मियाले दाबि गरेका हुन् । समानुपातिकमा सबैभन्दा बढी महिलाको नाम छ । केन्द्रले सकेसम्म सहमतिमा १ जना र नभए बढिमा ३ जनाको नाम मागेको छ । तर आकांक्षी अत्यधिक भएपछि मिलाउन सकस परेको नेताहरु बताउँछन् । उनीहरुबीच सहमति खोज्न आज भेला राखिएको छ ।

भेलाबाट सकेसम्म एकजनाको मात्रै नाममा सर्वसम्मत गरिने र नभए कुनै विधिबाट परिपत्र अनुसार नै नाम सिफारिस हुने क्षेत्रीय सचिव सरोज केसी बताउँछन् । क्षेत्रमा केहीले भने सबैको नाम सिफारिस गर्न सुझाएका छन् । धेरैले चाहिँ आन्तरिक निर्वाचनबाटै नाम सिफारिस गर्नुपर्ने बताइरहेका छन् । यता, क्षेत्र नम्बर २ र ३ ले पनि सोमबार नै भेला डाकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप