बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा

सोमबार, २२ मङ्सिर २०८२, १० : ५२
सोमबार, २२ मङ्सिर २०८२

सारांश

  • एमाले मुख्यालय च्यासलमा ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि व्यवस्थापन समिति सचिवालयको बैठक बसेको छ।
  • बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र संरचनाबारे समीक्षा गर्यो, तयारी अन्तिम चरणमा पुगेको निष्कर्ष निकालियो।
  • महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा मंसिर २७ गतेदेखि सुरु हुने महाधिवेशनको तयारीबारे छलफल भयो।

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन भएको व्यवस्थापन समिति सचिवालयको बैठक एमाले मुख्यालय च्यासलमा बसेको छ ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफलसहित समीक्षा गरेको एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सबै उपसमितिहरूले गरिरहेका काम र रिपोर्ट पेस गरिएको बैठकमा महाधिवेशन तयारीको काम अन्तिम चरणमा पुगेको निष्कर्ष निकालेको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि सुरु हुँदै छ । महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले तयारीहरू तीव्र पारिएको छ । महाधिवेशनका लागि बनेका विभिन्न समिति र उपसमितिहरूले युद्धस्तरमा काम गरिरहेको सो पार्टीले जनाएको छ ।

समग्र तयारीको अवस्थाबारे छलफल गरी बाँकी काम सम्पन्न गर्न व्यवस्थापन समिति सचिवालय अर्को बैठक मंसिर २५ गते  बस्ने ढुङ्गेलले जानकारी दिए । यसअघि महाधिवेशन सम्पन्न गर्न एमालेले विभिन्न १३ वटा उपसमिति गठन गरेको थियो ।

‘सम्भवतः ११ औँ राष्ट्रिय व्यवस्थापन समिति सचिवालय सो बैठक अन्तिम बैठक हुने छ’, ढुङ्गेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप