शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
गोवा आगलागीको झस्का

नाइट क्लब कि ‘डेथ ट्र्याप’ ?

सुरक्षित छैनन् नेपालका नाइट क्लब : फितलो नियमन, अनुमतिबिना सञ्चालन
मङ्गलबार, २३ मङ्सिर २०८२, १४ : ००
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ जना नेपाली सहित २५ जनाको मृत्यु भयो, जसले नेपालका क्लबहरूलाई सतर्क गराएको छ।
  • आगो लाग्नुको कारण क्लबमा प्रयोग गरिएको 'इलेक्ट्रोनिक फायरक्राकर' र सुरक्षा मापदण्डको पालना नहुनु रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
  • नेपालका नाइट क्लबहरूमा सुरक्षाको अभाव रहेको र आपत्कालीन अवस्थाका लागि आवश्यक पूर्वतयारी नभएको विज्ञहरूको निष्कर्ष छ।

काठमाडौँ । भारतको पर्यटकीय क्षेत्र गोवाको अरपोरामा शनिबार मध्यरातमा एक नाइट क्लबमा आगलागी भयो । उक्त घटनामा २५ जनाको मृत्यु भयो, जसमा ४ जना नेपाली समेत परेका छन् । यो घटनाले नेपालका क्लबहरूलाई समेत झस्काएको छ । 

उक्त नाइट क्लबमा पार्टी चलिरहेको थियो । पर्यटक र स्थानीयको बाक्लो उपस्थितिका बिच माहौल तताउन ‘इलेक्ट्रोनिक फायरक्राकर’ चलाइयो । अधिकारीहरूका अनुसार त्यही पटाकाको झिल्कोले क्लबको पर्दा र सजावटका सामग्रीमा आगो सल्कियो । हेर्दाहेर्दै आगोले विकराल रूप लियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार क्लबमा निकै ठुलो भिड थियो । आगो लाग्न सुरु भएको केही मिनेटमै पूरै संरचना जलेर नष्ट भयो । आगोको लप्का ग्यास सिलिन्डरसम्म पुगेर विस्फोट हुँदा भयावह अवस्था सिर्जना भयो । साँघुरो बाटोका कारण दमकल समयमै घटनास्थल पुग्न सकेन । धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिए । न त भाग्ने ठाउँ थियो, न त आगो नियन्त्रणको पूर्वतयारी ।

घटनाको प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको देखाएको छ । गोवा प्रहरीले क्लबका मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरेको छ भने नियमविपरीत सञ्चालन अनुमति दिने तीन वरिष्ठ अधिकारीलाई निलम्बन गरिएको छ । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई राहत घोषणा गर्दै राज्यभरका क्लबहरूको ‘सेफ्टी अडिट’ गर्ने प्रतिबद्धता जनाएका छन् । 

581943060_1424103746388167_672511425951175630_n

  • नेपालमा झन् खतरा

छिमेकी मुलुकमा भएको यो घटनाले नेपालका काठमाडौँ, पोखरा लगायत मुख्य सहरहरूमा च्याउ झैँ खोलिएका नाइट क्लबहरूको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ । झिलिमिली बत्ती, चर्को संगीत र मादक पदार्थको नशामा झुम्ने युवा जमातले भरिभराउ हुने नेपालका नाइट क्लबहरू आपत्कालीन अवस्थामा कति सुरक्षित छन् ? के यहाँका क्लबहरू मनोरञ्जनका केन्द्र हुन् वा सम्भावित ‘डेथ ट्र्याप’ ?

काठमाडौँको ठमेल, दरबारमार्ग, ललितपुरको झम्सीखेल, पोखराको लेकसाइड र धरान नाइट क्लबका हब हुन् । ती क्षेत्रमा सञ्चालित दर्जनौँ नाइट क्लबहरू हरेक रात हजारौँ युवाहरूको गन्तव्य बन्ने गरेका छन् । तर आगलागी नियन्त्रण विज्ञहरूका अनुसार नेपालका अधिकांश नाइट क्लबहरू सुरक्षाका दृष्टिकोणले ‘डेथ ट्र्याप’ का रूपमा सञ्चालित छन् ।

आगलागी नियन्त्रण विज्ञ किशोरकुमार भट्टराईका अनुसार नेपालका नाइट क्लबहरू आगलागीको उच्च जोखिममा छन् र त्यहाँको सुरक्षा अवस्था भगवान् भरोसामा चलिरहेको छ । नेपालमा ‘सेफ्टी’ भन्दा ‘ब्युटी’लाई मात्र प्राथमिकता दिने गलत प्रवृत्तिका कारण ठुलो दुर्घटनाको जोखिम मोलेर व्यवसाय सञ्चालन भइरहेको उनको निष्कर्ष छ । यहाँका क्लबहरूको संरचनागत त्रुटि, प्रज्वलनशील पदार्थको प्रयोग र फितलो नियमन छ ।

493086394_1140902141385949_7043770017126722030_n

  • सजावटका नाममा ‘बारुदको थुप्रो’

अमेरिका, जापान र मलेसियामा फायर फाइटिङ कोर्स गरेका भट्टराईका अनुसार क्लब सञ्चालकहरूले आन्तरिक सजावटमा अत्यधिक ज्वलनशील पदार्थहरूको प्रयोग गर्ने गरेका छन् । ग्राहकलाई आकर्षित गर्न र भित्री वातावरणलाई विलासी देखाउन फोम, गद्दा, म्याट्रेस र भेलभेटका कपडाहरूको अत्यधिक प्रयोग गरिन्छ ।

‘हामी सेफ्टी हेर्दैनौँ, ब्युटी मात्र हेर्छौँ,’ भट्टराई भन्छन्, ‘राम्रो देखाउनका लागि प्रयोग गरिने यी सामग्रीहरू यति संवेदनशील हुन्छन् कि सानो आगोको झिल्को पर्ने बित्तिकै त्यसले पेट्रोलले जस्तै आगो टिप्छ ।’

क्लबहरूमा ‘साउन्ड प्रुफिङ’का लागि भित्तामा टाँसिने फोम र कार्पेटहरू अत्यधिक प्रज्वलनशील हुन्छन् । क्लबभित्र चल्ने ठुला साउन्ड सिस्टम र हाइ भोल्टेजका बत्तीहरूका कारण विद्युतीय ‘सर्ट सर्किट’ हुने सम्भावना सधैँ रहन्छ । थ्री–फेज लाइन र हेभी इक्विपमेन्टको प्रयोग हुने ठाउँमा सामान्य तार सर्ट हुँदा पनि त्यहाँ रहेका ज्वलनशील पर्दा र सोफाहरूले सेकेन्डभरमै आगो टिप्ने र नियन्त्रण बाहिर जाने खतरा रहन्छ ।

597410673_122157534944929554_3316446236713370796_n

  • ‘अन्डरग्राउन्ड’ पास र निकासको अभाव

नेपालका अधिकांश क्लबहरूको भौतिक संरचना नै आपत्कालीन अवस्थाका लागि अनुपयुक्त रहेको विज्ञहरूको ठहर छ । ध्वनि प्रदूषण रोक्ने नाममा क्लबहरू प्राय ‘अन्डरग्राउन्ड’ (भूमिगत) तलामा वा झ्याल–ढोका नभएका बन्द कोठाहरूमा सञ्चालन गरिन्छन् ।   

विज्ञ भट्टराई भन्छन्, ‘क्लबभित्र छिरेपछि त्यहाँ दिन हो कि रात थाहा हुँदैन, चौबीसै घण्टा अँध्यारो हुन्छ । न त्यहाँ झ्याल हुन्छ, न त इमर्जेन्सी एक्जिटको कुनै योजना नै हुन्छ ।’

उनका अनुसार सबैभन्दा डरलाग्दो पक्ष भनेको प्रवेश र निकासका लागि एउटै मात्र साँघुरो बाटो हुनु हो । ‘एउटा मात्र मुख्य प्रवेशद्वार हुन्छ, दुर्घटना भयो भने सयौँ मानिस एकैपटक त्यही ढोकाबाट निस्किन खोज्दा भागदौड मच्चिन्छ,’ भट्टराई भन्छन् ।

विदेशमा ‘फायर स्केप प्लान’ र नक्सा अनिवार्य हुन्छ । जसले आपतको बेला कुन बाटो प्रयोग गर्ने भनेर निर्देशित गर्छ । तर नेपालमा यस्तो कुनै अभ्यास छैन । ग्राहकहरू रमाइलो गर्न छिर्छन्, तर आपत् पर्दा निस्किने बाटो कहाँ हो भन्ने कसैलाई थाहा हुँदैन । भागदौडमै धेरैको ज्यान जान सक्ने स्थिति यहाँका क्लबहरूमा छ ।

406785667_378423561409393_6466680801192212175_n

  • आगोभन्दा पहिले धुवाँको खतरा

आगलागीका घटनामा आगोले जलेर भन्दा पनि निसास्सिएर धेरै मानिसको मृत्यु हुने तथ्याङ्क छ । विज्ञ भट्टराईका अनुसार ८० प्रतिशत मानिसको मृत्यु आगोले नभई धुवाँका कारण हुन्छ । नेपालका क्लबहरूमा ‘स्मोक भेन्टिलेसन’ जडान गरिएको पाइँदैन । गुम्सिएको कोठामा जहाँ हावा पास हुने ठाउँ छैन, त्यहाँ फोम र प्लास्टिक जल्दा निस्किने कालो र विषाक्त धुवाँले केही सेकेन्डमै मानिसलाई बेहोस बनाउँछ । अक्सिजनको मात्रा ह्वात्तै घट्छ र कार्बन मोनोअक्साइड जस्ता ग्यासले मानिसको फोक्सो अवरुद्ध पार्छ ।

‘धुवाँ बाहिर जाने ठाउँ नभएपछि मानिसले सास फेर्न सक्दैन र त्यहीँ ढल्छ । गोवामा पनि धेरैजसोको मृत्यु यसरी नै भएको देखिन्छ,’ भट्टराई भन्छन् । 

नाइट क्लबको वातावरण आफैंमा जोखिमपूर्ण हुन्छ । त्यहाँ जानेहरू प्रायः मनोरञ्जनका लागि मादक पदार्थ सेवन गरेर बसेका हुन्छन् । चर्को संगीत र मदिराको नशामा रहेका मानिसहरूको सोच्ने र प्रतिक्रिया दिने क्षमता सामान्य अवस्थाको भन्दा निकै कम हुन्छ ।

आगो लागेको वा खतराको संकेत पाउँदा पनि नशामा रहेका व्यक्तिले तत्काल निर्णय लिन सक्दैनन् । यस्तो अवस्थामा अलार्म सुन्ने वा सही बाटो ठम्याउने स्थिति रहँदैन । यसले मानवीय क्षतिलाई बढवा दिने भट्टराई बताउँछन् ।

purple-haze-nepal-neon-lights

  • फितलो नियमन : अनुमतिबिना सञ्चालन

विकसित मुलुकहरूमा कुनै पनि क्लब वा सार्वजनिक भवन सञ्चालन गर्नुअघि ‘फायर ब्रिगेड’बाट अनिवार्य स्वीकृति लिनुपर्छ । भवनको सुरक्षा जाँच, फायर अलार्म र निभाउने उपकरणहरूको अवस्था ठिक छ भनेर प्रमाणित गरेपछि मात्र सञ्चालन अनुमति पाइन्छ ।

तर नेपालमा यो प्रक्रियालाई  बेवास्ता गरिएको छ । ‘यहाँ फायर इन्जिनियरिङ भन्ने नै छैन,’ भट्टराई भन्छन्, ‘नियमन गर्ने निकायले कडाइ गर्दैन र सञ्चालकहरूले पनि यसलाई खर्चको रूपमा मात्र हेर्छन् । दमकलको स्वीकृति बिना नै ठुला–ठुला क्लबहरू चलिरहेका छन् ।’

सरकारी निकायहरूले कर संकलन र मदिरा बिक्री वितरणको इजाजतमा मात्र ध्यान दिने, तर भौतिक पूर्वाधार र आपत्कालीन सुरक्षामा आँखा चिम्लिने परिपाटीले जोखिम बढाएको छ ।

Senate-Club-Thamel-Nepal

 

  • व्यवसायीको स्वीकारोक्ति : फायर अलार्म नै छैन, सिलिन्डरको भर

नेपालका क्लब सञ्चालकहरूको छाता संगठन ‘नाइट क्लब एसोसिएसन अफ नेपाल’ले पनि क्लबहरूको सुरक्षा अवस्था कमजोर रहेको स्वीकार गरेको छ । एसोसिएसनका अध्यक्ष राजु दनाईले नेपालका अधिकांश क्लबहरूमा आधुनिक ‘फायर अलार्म सिस्टम’ नरहेको रातोपाटीसँगको कुराकानीमा बताए । उनका अनुसार नेपालका नाइट क्लबहरूमा आगलागी भएको जानकारी दिने स्वचालित साइरन वा ‘फायर अलार्म’ जडान गरिएको छैन । आगलागी हुनासाथ पानी छर्किने ‘स्प्रिंकलर सिस्टम’ त परको कुरा हो ।

‘अलार्म भनेर राखेको चाहिँ छैन । तर हाम्रो क्लबहरूमा आगो निभाउनका लागि ४–५ वटा फायर एक्सटिङ्गुइसर (सिलिन्डर) भने राख्ने गरिएको छ,’ दनाई भन्छन् । 

यद्यपि विज्ञहरूका अनुसार हजारौँ मानिस अट्ने र अत्यधिक प्रज्वलनशील सामग्री भएको ठाउँमा चार-पाँचवटा सिलिन्डर हात्तीको मुखमा जिरासरह हो । ठुलो आगलागी हुँदा यी सिलिन्डरको प्रयोग गर्न नपाउँदै आगो फैलिन सक्छ ।

  • संरचनागत सुधारको प्रयास

दनाईले पुराना संरचनामा चलेका क्लबहरूमा ‘फायर स्केप’ र पूर्वाधारको अभाव रहेको स्वीकार गरे । ‘पुराना क्लबहरूमा त्यो सिस्टम छैन, तर नयाँ खुल्दै गरेका र पुनः निर्माण भइरहेका क्लबहरूमा भने सञ्चालकहरू सचेत हुन थालेका छन्,’ उनी भन्छन् । 

नयाँ बन्ने क्लबहरूमा ढोकाहरू ठुलो राख्ने फराकिलो एरिया बनाउने र आपत्कालीन निकासको व्यवस्था गर्ने क्रम बढेको उनको दाबी छ । तर पुराना र चर्चित क्लबहरूमा भने अझै पनि जोखिम कायमै रहेको देखिन्छ । अधिकांश क्लबमा एक प्रवेशद्वार (इन्ट्री) र एक निकास (एक्जिट) गरी जम्मा दुईवटा ढोका मात्र रहेको उनले जानकारी दिए ।

  • तालिमको अभ्यास

पूर्वाधारमा कमी भए पनि जनशक्तिलाई भने आपत्कालीन अवस्थाका लागि तयार गर्न थालिएको व्यवसायीहरूको भनाइ छ । आगलागी वा अन्य दुर्घटना हुँदा भीडलाई कसरी नियन्त्रण गर्ने र सुरक्षित रूपमा बाहिर निकाल्ने भन्ने विषयमा कर्मचारी तथा बाउन्सरहरूलाई तालिम दिने गरिएको दनाईले बताए । 

‘केही घटना भइहाल्यो भने मानिसलाई कसरी सुरक्षित निकाल्ने भनेर हामीले स्टाफहरूलाई इन्स्ट्रक्सन र तालिम दिने गरेका छौँ,’ उनले भने । एसोसिएसनमा हाल काठमाडौँ उपत्यका र बाहिर गरी दर्ता भएर सञ्चालनमा रहेका नाइट क्लबको सङ्ख्या करिब २५ देखि ३० वटा छ । यीमध्ये अधिकांश काठमाडौँमै केन्द्रित छन् ।

  • बेलैमा नचेते ‘मानव चिहान’ बन्ने खतरा

गोवामा भएको घटना र विगतमा हङकङ, थाइल्याण्ड र अमेरिकाका नाइट क्लबहरूमा भएका भयानक आगलागीका घटनाले एउटै सन्देश दिन्छन् । सुरक्षामा गरिएको सानो लापरबाहीले सयौँको ज्यान लिन सक्छ ।

नेपालमा अहिले जुन ‘ट्रेन्ड’ मा नाइट क्लबहरू चलिरहेका छन्, त्यो प्राविधिक र सुरक्षाका दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण रहेको विज्ञदेखि व्यवसायीसम्मले स्वीकार गर्छन् । स्वचालित ‘स्प्रिंकलर सिस्टम’, प्रभावकारी ‘फायर अलार्म’, धुवाँ बाहिर फाल्ने भेन्टिलेसन र फराकिलो आपत्कालीन निकासको व्यवस्था नगरी चलेका क्लबहरू जुनसुकै बेला ‘मानव चिहान’ बन्न सक्ने चेतावनी विज्ञ भट्टराईले दिएका छन् । 

‘गोवाको घटनाबाट पाठ सिक्दै सम्बन्धित सरकारी निकाय र क्लब सञ्चालकहरूले तत्काल सेफ्टी अडिट गर्नुपर्ने आवश्यकता देखिएको छ,’ भट्टराई भन्छन् ।

593937046_1160702932924734_6980555892837504983_n

  • अधिकांश क्लबमा ‘फायर हाइडेन्ट’ छैन, गोवा घटनाबाट  सिक्नुपर्छ : एलओडी सञ्चालक श्रेष्ठ

नेपालको चर्चित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिंक्स) का सञ्चालक रुदीप श्रेष्ठ भारतको गोवामा भएको आगलागीको घटनाबाट पाठ सिक्दै नेपालमा पनि सुरक्षा सतर्कतामा गम्भीर हुनुपर्ने बताउँछन् । गोवाको घटनामा बाँसजस्ता अत्यधिक ज्वलनशील सामग्रीको प्रयोग र बन्द बेसमेन्ट मुख्य कारण रहेको औँल्याउँदै उनी नेपालका ठुला क्लबहरूमा भने कङ्क्रिट संरचना रहेकाले तुलनात्मक रूपमा सुरक्षित रहेको दाबी गर्छन् । उनले आफ्नो क्लबमा आगलागी नियन्त्रणका लागि फायर हाइड्रेन्ट, ब्याकअप जेनेरेटरसहितको आधुनिक प्रविधि र किचनसहित ४ देखि ५ वटा आपत्कालीन निकास (इमर्जेन्सी एक्जिट) को व्यवस्था रहेको बताए । 

श्रेष्ठ नेपालका अधिकांश नाइट क्लबहरूको सुरक्षा अवस्था कमजोर र जोखिमपूर्ण रहेको स्वीकार गर्छन् । ‘मैले देखेसम्म नेपालका धेरैजसो क्लबमा फायर हाइड्रेन्ट जडान गरिएको छैन, केवल ४–५ वटा सामान्य सिलिन्डरको भरमा चलेका छन्,’ उनी भन्छन्, ‘अझ धेरै मानिस जम्मा हुने ठाउँमा एउटै मात्र प्रवेश र निकास हुनु अत्यन्त जोखिमपूर्ण हो ।’ 

अन्तर्राष्ट्रिय र्‍याङकिङमा पर्ने र ठुला क्षमताका क्लबहरूले अनिवार्य रूपमा सुरक्षा मापदण्ड पालना गर्नुपर्ने भए पनि नेपालका धेरैजसो क्लबमा यसको अभाव खड्किएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप