सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

युवाको मनस्थिति बुझ्न धनगढीमा जेनजी टोली

मङ्गलबार, २३ मङ्सिर २०८२, १४ : ५४
मङ्गलबार, २३ मङ्सिर २०८२

धनगढी  । जेनजी अभियन्ता खेमराज साउद अहिले आफ्नो टोलीसहित सुदूरपश्चिममा छन् । पाँचवटा प्रदेशको यात्रा सकेर साउदको टोली सुदूरपश्चिममा आफ्नो अभियान लिएर आएको हो । 

कोशी प्रदेश, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सहरमा कार्यक्रम गरेर धनगढीका युवाहरुको मनस्थिति र समस्या बुझ्न अभियान लिएर आएको साउदले बताए । 

‘हामी देशभरका सबै प्रदेशमा पुगिरहेका छौँ,’ उनले भने, ‘पाल्पा, रूपन्देहीको कञ्चन गाउँपालिका, दाङको तुलसीपुर र घोराही हुँदै नेपालगन्जसम्मका युवाहरूसँग अन्तरक्रिया गरेर हामी सुदूरपश्चिमको राजधानी धनगढी आइपुगेका हौँ ।‘

यो अभियानलाई युवाहरूको मनस्थिति बुझ्ने, उनीहरूका समस्या सुन्ने र राज्यसँग ती समस्याको समाधान माग्ने माध्यमको रुपमा अगाडि बढाइएको उनले बताए । 

सोमबार धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा विद्यार्थी र युवाहरूको उल्लेख्य सहभागिता रह्यो । ‘यो कुनै राजनीतिक दलको कार्यक्रम होइन, यो विशुद्ध युवाहरूको, जेनजीहरूको कार्यक्रम हो । हामी जेनजीहरू कलेजमै पढ्ने भएकाले हाम्रो उपस्थितिको थलो पनि त्यहीँ भयो,’ साउदले भने । 

साउदले अभियानको उद्देश्य अरुको विरोध गर्नु नरहेको बताए । देशमा विभिन्न कालखण्डमा भएका आन्दोलनका सहिद परिवार, बेपत्ता पारिएका नागरिक र घाइतेहरूको पीडालाई नजिकबाट बुझ्न र सम्बोधन गर्ने प्रयास गर्न जेनजी अभियान लिएर देश दौडाहामा निस्किएको उनको भनाइ छ । 

‘हाम्रा जेनजीका समस्याहरू के हुन् ? सहिद परिवार र घाइतेहरूको अवस्था कस्तो छ ? उनीहरूलाई राज्यले कुन अवस्थामा राखेको छ ? देशमा यत्रो ठुलो परिवर्तन ल्याउने जेनजी पुस्ताले अब देशलाई कता लैजाने ? अबको विकल्प के हो ? यिनै विषयमा हामी युवाहरूसँग अन्तरक्रिया गरिरहेका छौँ,’ साउदले भने । 

सेती प्रादेशिक अस्पतालको अवस्था देख्दा स्तब्ध भएको उनले सुनाए । ‘सेती प्रादेशिक अस्पतालमा डाक्टर छन् तर उपचार छैन । भवन छ तर उपकरण छैन । कतिपय ठाउँमा उपकरण छन् तर चलाउने जनशक्ति छैन,’ साउदले भने, ‘यहाँको व्यवस्थापनले गर्नुपर्ने आधारभूत काम पनि भएको छैन । आवश्यक उपकरण राज्यले दिँदैन भने हामी त्यसका लागि लड्छौँ, तर व्यवस्थापन र सरसफाइ जस्ता कुरामा भएको लापरवाही क्षम्य हुँदैन ।‘

सुदूरपश्चिममा जेनजी अभियानमा लागेका १० जना प्रहरी हिरासतमा राखिएकोमा साउदले आपत्ति जनाए । आन्दोलनमा सहभागी भएकै भरमा युवाहरूलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप