बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकाधिकारको आरोपपछि इन्डिगोलाई उडान १० प्रतिशत घटाउन आदेश

बुधबार, २४ मङ्सिर २०८२, १० : २१
बुधबार, २४ मङ्सिर २०८२

सारांश

  • भारत सरकारले इन्डिगो एयरलाइन्सलाई उडानहरूमा १० प्रतिशत कटौती गर्न आदेश दिएको छ।
  • उड्डयन मन्त्रीका अनुसार, यसले सञ्चालनलाई स्थिर बनाउने र उडान रद्द हुने क्रम कम गर्नेछ।
  • इन्डिगोले डिसेम्बर ६ सम्म प्रभावित उडानहरूको १०० प्रतिशत रिफन्ड पूरा गरेको जनाएको छ।

नयाँ दिल्ली । घरेलु उड्डयन क्षेत्रमा एकाधिकारको आरोपका बिच भारत सरकारले सबैभन्दा ठुलो एयरलाइन्स इन्डिगोलाई आफ्नो उडानहरूमा १० प्रतिशत कटौती गर्ने आदेश जारी गरेको छ।

मंगलबार केन्द्रीय उड्डयन मन्त्री राम मोहन नायडूले एक्समा एक पोस्ट गर्दै यसको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘इन्डिगोको रुटहरूमा कटौती जरुरी रहेको मन्त्रालयलाई लागेको छ । यसले सञ्चालनलाई स्थिर बनाउनेछ र उडान रद्द हुने क्रम कम हुनेछ। कम्पनीलाई १० प्रतिशत कटौतीको आदेश दिइएको छ।’

मन्त्री नायडूले इन्डिगोका सीईओ पीटर एल्बर्सलाई एयरलाइनको स्थिरीकरण प्रक्रियाको जानकारी दिन मन्त्रालयमा बोलाइएको बताएका छन्। नायडूले लेखेका छन्, ‘इन्डिगोका सीईओ पीटर एल्बर्सलाई फेरि मन्त्रालयमा बोलाइएको थियो। उनले डिसेम्बर ६ सम्म प्रभावित सबै उडानहरूको १०० प्रतिशत रिफन्ड पूरा गरिएको पुष्टि गरेका छन्। बाँकी रिफन्ड र ब्यागेज ह्यान्डओभरको कामलाई तीव्र रूपमा पूरा गर्न निर्देशन दिइएको छ।’

यसअघि, डिसेम्बर ८ मा उड्डयन महानिर्देशनालय (डीजीसीए) ले कम्पनीलाई पाँच प्रतिशत उडानहरू कम गर्न भनेको थियो। डीजीसीएले नोभेम्बरमा इन्डिगोले स्वीकृत ६४ हजार ३४६ उडानहरूमध्ये केवल ५९ हजार ४३८ मात्र सञ्चालन गरेको र ९५१ उडानहरू रद्द भएको जानकारी दिएको थियो। साथै, कम्पनीलाई ४०३ विमान सञ्चालनको स्वीकृति मिले पनि केवल ३४४ विमान मात्र सञ्चालन गरेको पाइएको थियो। 

डीजीसीएले इन्डिगोलाई बुधवार साँझ ५ बजेसम्म नयाँ संशोधित समय तालिका जारी गर्न आदेश दिएको छ।

इन्डियन एक्सप्रेसका अनुसार, इन्डिगो भारतको सबैभन्दा ठुलो एयरलाइन्स हो र यसको घरेलु बजारमा करिब ६५ प्रतिशत हिस्सा रहेको छ। एयरलाइन्सले दैनिक २ हजार ३०० भन्दा बढी उडानहरू सञ्चालन गर्छ, जसमध्ये करिब २ हजार १५० घरेलु उडानहरू हुन्छन्। घरेलु उडानहरूमा १० प्रतिशतको कटौतीको अर्थ अब इन्डिगोको दैनिक घरेलु उडानहरू १ हजार ९५० भन्दा कम हुनेछन्।

इन्डिगोले मंगलबार जारी गरेको बयानमा आफ्नो सञ्चालन अब स्थिर र सामान्य भएको बताएको छ। एयरलाइन्सले मंगलबार १ हजार ८०० भन्दा बढी उडानहरू सञ्चालन गरेको र आफ्नो सबै गन्तव्यमा सेवा दिएको उल्लेख गरेको छ। 

कम्पनीको अन-टाइम पर्फमेन्स ८० प्रतिशतभन्दा माथि फर्किएको र बुधवार करिब १ हजार ९०० उडानहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप