बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमाले महाधिवेशन

एमालेको गर्विलो इतिहास बोकेको पाँचौँ महाधिवेशनका चर्चित नेता को–कता ?

बुधबार, २४ मङ्सिर २०८२, १५ : ००
बुधबार, २४ मङ्सिर २०८२

सारांश

  • एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशन एकताको आधार बन्यो, जसमा मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव चयन भए।
  • महाधिवेशनमा युवा र अनुभवी नेताको संयोजनबाट नयाँ नेतृत्व निर्माण भयो, तर केही नेताले असन्तुष्टि जनाए र पार्टी छाडे।
  • तत्कालीन नेताहरूमध्ये अधिकांश अहिले एमालेमा सक्रिय छन्, तर केहीको निधन भयो वा उनीहरू निष्क्रिय छन्, केपी ओली फेरि अध्यक्ष बन्ने तयारीमा छन्।

काठमाडौँ । नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनको इतिहास आफैँमा गर्विलो छ । पार्टी एकता, नीति र नेतृत्वको हिसाबले उक्त महाधिवेशन ऐतिहासिक भएको चर्चा अहिले पनि राजनीतिक वृत्तमा चल्ने गरेको छ ।

२०४९ माघ १४ गतेदेखि २० गतेसम्म काठमाडौँमा एमालेको पाँचौँ महाधिवेशन सम्पन्न भएको थियो । काठमाडौँको दशरथ रंगशालामा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको थियो । २०४६ को संयुक्त जनआन्दोलनपछि २०४७ साल पुस २२ गते तत्कालीन नेकपा (माले) र नेकपा (मार्क्सवादी) मिलेर नेकपा (एमाले) बनेपछि पहिलो महाधिवेशन भएकाले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा पायो ।

अन्तरिम सरकार, नयाँ संविधान निर्माण र २०४८ को आमनिर्वाचन सम्पन्न भएर प्रतिनिधि सभामा ६९ सिट प्राप्त गरी एमाले प्रमुख विपक्षी दलको हैसियतमा स्थापित भइसकेको परिस्थितिमा उक्त महाधिवेशन राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चाको विषय बन्यो ।

मार्क्सवादीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी २००८ र २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव भइसकेका अनुभवी पुराना नेता थिए । मालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी प्रखर वक्ता तथा युवा नेता थिए । एकतापछि युवाहरूको ऊर्जा र पुराना नेताको अनुभवसहितको संयोजनबाट बलियो पार्टीका रूपमा एमाले निर्माण भएको थियो ।

मालेमा युवाहरूको वर्चस्व थियो भने मार्क्सवादीमा पुराना र अनुभवी नेताहरूको वर्चस्व थियो । भण्डारीले प्रस्ताव गरेको जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त पारित गर्‍यो । बहुमतबाट नेतृत्व चयनको विषयमा विवाद भएपछि अन्तिममा सहमतिबाटै समस्याको समाधान निकालिएको त्यतिबेलाका केन्द्रीय सदस्य रहेका झलनाथ खनालले बताए । आजको बलियो एमाले निर्माणमा पाँचौँ महाधिवेशन एकताको बलियो आधार भएको खनाल सम्झिन्छन् ।

खनालका अनुसार त्यस महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव चयन गर्दै अनुभवी र युवाको संयोजनसहित नयाँ नेतृत्व निर्माण गरेको थियो । बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेको कारण भण्डारीको उचाइ चुलिएको थियो ।

नेतृत्व चयनप्रति अष्टलक्ष्मी शाक्य र प्रदीप नेपालले असन्तुष्टि जनाएका थिए । पार्टीबाट अलग हुने घोषणा गरेपछि उनीहरूलाई समेत केन्द्रीय समितिमा ल्याइएको थियो ।

पाँचौँ महाधिवेशनले ३७ जनालाई पूर्ण र सात जनालाई वैकल्पिक गरी ४४ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । तीमध्ये माधव नेपाल, जीवराज आश्रित, केपी ओली, सीपी मैनाली, अमृत बोहरा, भरतमोहन अधिकारी, मोहनचन्द्र अधिकारी, वामदेव गौतम, राधाकृष्ण मैनाली र साहना प्रधान गरी १० जना स्थायी समिति सदस्य चुनिएका थिए ।

11

त्यतिबेला केन्द्रीय समितिमा रहेका नेताहरूले नै अहिले एमाले हाँकिरहेका छन् । एमालेबाट मनमोहन, माधव, झलनाथ र केपी ओली प्रधानमन्त्री भइसकेका छन् । अन्य नेताहरू पटक–पटक उपप्रधानमन्त्री, मन्त्री भएका छन् । पाँचौँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएकामध्ये केहीको निधन भइसकेको छ भने केहीले पार्टी छाडेका छन् । केही नेता राजनीतिक रूपमा निष्क्रिय छन् ।

पाँचौँ महाधिवेशनबाट अध्यक्षमा चयन भएका मनमोहन अधिकारीको २०५६ सालमा निधन भइसकेको छ । तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० सालमा दासढुंगा दुर्घटनामा निधन भयो । स्थायी समिति सदस्य रहेका पूर्वउप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री साहना प्रधानको पनि निधन भइसकेको छ । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रदीप नेपाल र प्रेम सिंह धामीको पनि निधन भइसकेको छ । यस्तै सलिम अन्सारी र सीतानन्दन रायको पनि निधन भइसकेको छ । रायले २०६२/६३ सालको जनआन्दोलनपछि एमाले छोडेका थिए ।

झन्डै १५ वर्ष महासचिव रहेका पूर्वप्रधानमन्त्री माधव अहिले नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक छन् । २०७८ सालमा एमालेबाट अलग भएपछि उनले चार वर्ष नेकपा एकीकृत समाजवादीको नेतृत्व गरे ।

पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि अहिले नेपाली कम्युनिस्ट पार्टीमै छन् । खनाल पनि माधवसँगै एमालेबाट अलग भएका थिए ।

स्थायी समिति सदस्य सीपी मैनालीले २०५४ सालमा पार्टी विभाजनपछि नेकपा मालेमा लागे । उनी अहिले मालेका महासचिव छन् । पाँचौँ महाधिवेशनबाट स्थायी कमिटी सदस्य चयन भएका मोहनचन्द्र अधिकारी २०५४ सालमा भएको छैटौँ महाधिवेशनपछि अलग भए । उनी अहिले निष्क्रिय अवस्थामा छन् ।

स्थायी समिति सदस्य रहेका वामदेव गौतमले २०५४ सालमा पार्टी विभाजन गरी माले गठन गरेका थिए । एमालेका पूर्वउपाध्यक्ष समेत रहेका उनी उपप्रधानमन्त्री र पटक–पटक मन्त्री भए । २०५६ सालको निर्वाचनमा आफ्नो पार्टी (नेकपा माले) ‘निल’ भएपछि २०५९ सालमा गौतम फेरि एमाले फर्किए । २०७८ सालमा एमाले विभाजन हुँदा गौतम कुनै गुटमा पनि नलागेर नेकपा एकता राष्ट्रिय अभियान चलाए । अहिले उनी नेपाली कम्युनिस्ट पार्टीमा छन् ।

तत्कालीन स्थायी समिति सदस्य तथा पूर्वमन्त्री राधाकृष्ण मैनाली एमालेबाट माओवादी, माओवादीबाट राजावादी हुँदै फेरि एमालेमै फर्किए । अहिले एमाले राजनीतिबाट टाढा रहेका उनी निष्क्रिय छन् । एमालेका पूर्वउपाध्यक्ष रहेका अशोक राई २०६९ सालमा अलग भएर संघीय समाजवादी पार्टी गठन गरे । जसपा नेपाल हुँदै अहिले उनले आफ्नै नेतृत्वमा जसपा गठन गरेका छन् ।

२०७८ सालमा एमालेबाट बाहिरिएका पुराना नेता केशवलाल श्रेष्ठ एकीकृत समाजवादी हुँदै अहिले नेपाली कम्युनिस्ट पार्टीमा छन् । पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका राजेन्द्र श्रेष्ठले पनि एमाले छोडेका छन् । उनी संघीय समाजवादी, जसपा नेपाल, जसपा हुँदै अहिले नेपाली कम्युनिस्ट पार्टीमा छन् ।

वैकल्पिक केन्द्रीय सदस्य रहेका हिरण्यलाल श्रेष्ठ र प्रेमबहादुर सिंहले पनि एमाले छाडिसकेका छन् । परराष्ट्रविद् रहेका श्रेष्ठले रुसका लागि नेपाली राजदूतको भूमिका निर्वाह गरिसकेका छन् । सिंह अहिले नेपाली कम्युनिस्ट पार्टीमा छन् । केन्द्रीय सदस्य गोविन्द कोइराला, त्रिलोचन ढकाल, भीमबहादुर कडायत, सिद्धिलाल सिंह अहिले निष्क्रिय छन् ।

त्यतिबेला स्थायी समिति सदस्य रहेका केपी २०७१ सालदेखि एमालेका अध्यक्ष छन् । यही मङ्सिर २७ देखि २९ सम्म हुने ११औँ महाधिवेशनबाट तेस्रो कार्यकाल अध्यक्ष बन्ने तयारीमा छन् । उनी चार पटक प्रधानमन्त्री भइसकेका छन् । भदौ २३ र २४ गते जेनजी विद्रोहका कारण उनी सत्ताच्यूत भएका थिए । पार्टीभित्र अध्यक्ष पद छाड्न दबाब बढ्दै जाँदासमेत उनले पद छाड्न मानेका छैनन् । केपीलाई योपटक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने भएका छन् । ईश्वर पाँचौँ महाधिवेशनमा केन्द्रीय सदस्य थिए । पार्टीभित्र सधैँभरि केपीलाई साथ दिएका उनले योपटक साथ छोडेका छन् ।

यी बाहेक त्यतिबेला स्थायी समिति सदस्य रहेका अमृत बोहरा, केन्द्रीय सदस्य अष्टलक्ष्मी शाक्य पनि एमालेमै छन् । काशीनाथ अधिकारी, किरण गुरुङ, केशव बडाल, गुरु बराल, गोपाल शाक्य, जितेन्द्र देव पनि एमालेमै छन् । मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वाचस्पती देवकोटा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, देवराज घिमिरे, शान्ता मानवी, सानु श्रेष्ठ र हेमराज राई पनि एमालेमै छन् । पटक–पटक मन्त्री भएकी अष्टलक्ष्मी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री हुन् । देवराज अहिले सभामुख छन् । 

5th-National-Congress_page-00015th-National-Congress_page-0002

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप