शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

१०औँ महाधिवेशनमा सर्वाधिक मत ल्याउने नेताहरू अहिले ओलीको विपक्षमा

बुधबार, २४ मङ्सिर २०८२, १८ : ००
बुधबार, २४ मङ्सिर २०८२

सारांश

  • एमालेको ११औँ महाधिवेशनमा केपी ओली तेस्रो पटक अध्यक्ष बन्ने चाहनामा चुनौती थपिएको छ।
  • वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेपछि ओलीलाई सर्वसम्मत नेतृत्व चयन गर्न कठिन देखिएको छ।
  • पार्टीभित्रको असन्तुष्टि र फरक मतका कारण ओलीलाई यसपटक निर्वाचनको सामना गर्नुपर्ने सम्भावना बढेको छ।

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट तेस्रो पटक सर्वसम्मत अध्यक्ष बन्ने केपी ओलीको आकाङ्क्षामा चुनौती बढ्दो छ ।

मंसिर २७ देखि २९ गतेसम्म हुने ११औँ महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी दिने तयारी गरेका ओलीसँग योपटक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने भएका छन् । यद्यपि ओली निकटस्थहरूले अझै पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेको दाबी गरेका छन् ।

भदौ २०–२२ गते ललितपुरको गोदावरीमा सम्पन्न एमालेको दोस्रो विधान अधिवेशनले ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बन्न सहज हुनेगरी विधान संशोधन गरी दुई कार्यकाल र ७० वर्षे उमेरहदको व्यवस्था खारेज गरेको थियो ।

पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’मा राख्ने निर्णयप्रति वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी समिति सदस्य कर्ण थापा लगायत नेताहरूले असहमति जनाएका थिए । शाक्य, पाण्डे, ज्ञवाली र थापाले त उक्त निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ नै राखेका थिए । फरक प्रस्तावमाथि कुनै सुनुवाइ नगरी बहुमतको आधारमा निर्णय गरेकोमा असन्तुष्ट पक्षले महाधिवेशन हलमा यसबारे छलफल हुनुपर्ने प्रस्ताव राखेका छन् ।

तर अध्यक्ष ओली भने इतर पक्षको माग पूरा गर्ने पक्षमा देखिँदैनन् । विधान महाधिवेशनले नै नीतिगत निर्णय गरिसकेकाले राष्ट्रिय महाधिवेशनमा यसबारे कुनै छलफल नहुने उनले स्पष्ट सन्देश दिइसकेका छन् ।

ओलीले सार्वजनिक कार्यक्रममै ११औँ महाधिवेशनमा आफूले भाषण गर्ने र सर्वसम्मत नेतृत्व चयन गरेर सम्पन्न गर्ने बताइसकेका छन्, तर ओलीलाई सर्वसम्मत नेतृत्व चयन गर्न नदिन इतरपक्षले प्यानलै बनाएर चुनावी मैदानमा उत्रिने तयारी गरेको छ ।

२०७८ सालमा पार्टी विभाजन पश्चात् चितवनको सौराहामा सम्पन्न १०औँ महाधिवेशनमा पूर्वउपाध्यक्ष डा. भीम रावलले अध्यक्ष पदमा ओलीलाई चुनौती दिएका थिए । पूर्वउपमहासचिव घनश्याम भुसालले उपाध्यक्ष, पूर्वसचिव भीमप्रसाद आचार्य र स्थायी समिति सदस्य टंक कार्कीले सचिव पदमा उम्मेदवारी दिएका थिए । सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको प्रयास असफल भएपछि निर्वाचन भएको थियो । इतर पक्षका उम्मेदवारलाई मतदान नगर्न संस्थापन पक्षबाट सूचीसहित उर्दी जारी गरेपछि मतदानस्थलमा हङ्गामा मच्चिएको थियो ।

Untitled-1

कुल मतदाता २०९६ रहेको १०औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी ओली १८३७ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी रावलले जम्मा २२३ मत प्राप्त गरेका थिए । ३३ जनाले कसैलाई पनि मत दिएनन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका थिए । यी चारै जना ओली पक्षका हुन् । यसैगरी ६ जना उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत प्राप्त गरेका थिए । घनश्याम भुसालले जम्मा ७२५ मत प्राप्त गरी पराजित भएका थिए । यसैगरी ७ जना सचिव पदमा गोकर्ण विष्टले १९७४, योगेश भट्टराईले १९६४, टोपबहादुर रायमाझीले १८०४, छविलाल विश्वकर्माले १८०३, पद्मा अर्यालले १८०३, लेखराज भट्टले १७०४ र रघुवीर महासेठले १५०० मत प्राप्त गरेका थिए । सचिव पदमा उम्मेदवारी दिएका भीम आचार्यले ७८८ र टंक कार्कीले ५५९ मत प्राप्त गरी पराजित भएका थिए ।

अघिल्लो पटक उपाध्यक्षमा निर्वाचित भएका नेम्वाङको निधन भइसको छ भने रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँको आदेशमा पुर्पक्षका लागि जेलमा छन् ।

शाक्य, पाण्डे र ज्ञवाली अहिले ईश्वर पोखरेलको पक्षमा खुलेका छन् । सचिवमा निर्वाचित भएका भट्टराई र विष्ट पनि पोखरेलको पक्षमा उभिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप