आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

हिमाली जिल्लाका सभापतिद्वारा महाधिवेशन आन्तरिक कार्यतालिका सच्याउन माग

बुधबार, २४ मङ्सिर २०८२, १६ : २०
बुधबार, २४ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसका कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाका सभापतिहरूले महाधिवेशन कार्यतालिका सच्याउन माग गरेका छन्।
  • उनीहरूले चिसो र अधिवेशन छिटो सक्नुपर्ने भन्दै कार्यतालिका परिवर्तनको लागि आग्रह गरेका थिए।
  • कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ।

काठमाडौँ । नेपाली कांग्रेसका कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका हिमाली जिल्लाका सभापतिहरूले पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका सच्याउन माग गरेका छन् ।

बुधवार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित क्रियाशील सदस्यता व्यवस्थापन समितिले गरेको भर्चुअल संवादमा उनीहरूले अत्यधिक चिसो र एक दिनमै एउटा तहको अधिवेशन भ्याउन गाह्रो हुने भन्दै कार्यतालिका सच्याउन माग गरेका हुन् ।

२९ भन्दा बढी जिल्ला सभापतिहरू सहभागी भर्चुअल संवादमा हिमाली जिल्लाका सभापतिहरूले महाधिवेशनको आन्तरिक कार्यतलिकामा हेरफेर गर्न आग्रह गरेको क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्य सिता गुरुङले जानकारी दिइन् । ‘हिमाली जिल्लाका सभापतिहरूले कार्यतालिका दैनिक रहेको र हिमाली भेगमा चिसो पनि बढेकाले केही परिवर्तन गर्नुपर्ने भन्दै आग्रह गर्नुभयो,’ सदस्य गुरुङले भनिन्, ‘दैनिक अधिवेशनका लागि सबै ठाउँमा सहमति हुन नसक्ने, निर्वाचन प्रक्रियामा जाँदा दुई दिनसम्म लाग्न सक्ने र एउटा वडाबाट अर्को वडामा जान समेत एक दिन समय लाग्ने स्थान भएको र त्यो भन्दा अझ पालिकासम्म पुग्दा बढी समय लाग्ने भन्दै आफूहरूको समस्या दर्साएर सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।’

कांग्रेले पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

कांग्रेसले गाउँ/नगर वडा अधिवेशन पुस १६ गते, गाउँ/नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते,  दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते तथा प्रदेश अधिवेशन पुस २३ र २४ गते गर्ने कार्यतालिका मंसिर १५ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले पारित गरेको थियो ।

वडा, पालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रको अधिवेशनको समय टाइट भएको भन्दै परिमार्जन गर्न हिमाली भेगका जिल्ला सभापतिहरूले आग्रह गरेको सदस्य गुरुङले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप