मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

पोखरामा जलन अस्पताल बनाउन अध्ययन सुरु, कोइकाले सहयोग गर्ने

बुधबार, २४ मङ्सिर २०८२, १७ : ५१
बुधबार, २४ मङ्सिर २०८२

पोखरा । पोखरामा जलन अस्पताल (बर्न) निर्माणका लागि प्रारम्भिक अध्ययन सुरु भएको छ । कोरियन सहयोग नियोग (कोइका)को सहयोगमा पोखराको पुरानो लेखनाथ नगरपालिका भएको परिसरमा अस्पताल निर्माण गर्न लागिएको हो । 

एक सय शय्याको अस्पताल बनाउन सम्भाव्यता अध्ययन सुरु भएको महानगरपालिकाले जनाएको छ । त्यहाँ रहेको ३६ रोपनी जग्गामध्ये २८ रोपनी अस्पतालका लागि प्रयोग गरिनेछ ।

अध्ययनका लागि कोइकाका कन्ट्री डाइरेक्टरसहित १७ जना विज्ञहरूको उच्चस्तरीय टोली खटिएको छ महानगरका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले जानकारी दिए । 

उनका अनुसार अस्पतालमा जलन उपचारलाई प्राथमिकता दिइनेछ भने प्रसूति तथा स्त्री रोग, बालबालिका, ट्रमा, मिर्गौला उपचारको सेवा पनि दिइनेछ । तर, अहिले पूर्व सम्भाव्यता अध्ययन मात्रै भइरहेको महानगरले जनाएको छ ।

कोरियाली सरकारको सहयोगमा अस्पताल बनाउने योजना अनुरूप अहिले विशेषज्ञसहितको कोरियन टोली पोखरा आएर अध्ययन गर्न थालेको हो । उनीहरू विगत ६ दिनदेखि पोखरामा रहेको पौडेलले सुनाए । ‘विशेषज्ञसहितको टोली आएको छ,’ उनले भने, ‘टोलीले यहाँको स्वास्थ्य सम्बन्धी सबै रिपोर्टको मिहिन अध्ययन गर्नेछ र एउटा निष्कर्षमा पुग्नेछ ।’

विशेष गरी पोखरामा जलन अस्पतालको आवश्यकता, अन्य अस्पतालहरूको अवस्था, बिरामीको चाप र पोखराबाट रिफर भएर काठमाडौँ जानुपर्ने बाध्यता लगायतका सूचकका आधारमा सूक्ष्म विश्लेषण भइरहेको उनले जानकारी दिए । यदि अध्ययन सफल भएर योजना स्वीकृत भएमा सन् २०२७ को बजेटमा यसलाई समेटिने बनाइएको छ ।

प्रारम्भिक अनुमान अनुसार यो परियोजना करिब एक अर्बभन्दा बढी लागतको हुनेछ । ‘कार्यक्रम आयो भने २०२७ मा यो बजेटमा पर्छ भन्ने छ । अहिले प्रारम्भिक रूपमा १ अर्ब प्लस जतिको लागत हुन्छ भन्ने कुरा छ,’ पौडेलले थपे, ‘तर बजेट यति नै भन्ने क्लियर छैन । पूर्व सम्भाव्यताको अध्ययन चलिरहेको हो ।’

गत वर्ष पोखरामा भएको आगलागीको घटनामा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य बेलुन पड्किएर घाइते भएपछि उपचारका लागि काठमाडौँ लगिएको थियो । 

तत्कालीन समयमा धेरैले पोखरामा बर्न उपचारको अस्पताल नभएकोमा आलोचना पनि गरे । यसपछि मेयर आचार्यले नै पोखरामा बर्न अस्पताल बनाउने प्रतिबद्धता जनाएर पहल थालेका हुन् ।

यसअघि नेपाल सरकारले पनि सातै प्रदेशमा बर्न अस्पताल निर्माण गर्ने घोषणा गरिसकेको छ । 

कोइकाको टोली अहिले निरन्तर महानगरसँग छलफल र संवादमा छ । यसअघि पोखरामै भएको आरयू फेष्टका क्रममा कोइकाको टोलीले निकट भविष्यमै बर्न अस्पतालका निर्माणको योजना रहेको घोषणा गरेको थियो ।

मेयर आचार्यका अनुसार, अहिले कोइकासँगै युएनडीपी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समेत पोखरामै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप