भेनेजुएलाबाट कसरी ओस्लो पुगिन् नोबेल पुरस्कार विजेता भूमिगत नेतृ
जर्मनी । यस वर्षको नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी भूमिगत नेतृ मारिया कोरिना माचाडो जोखिम मोलेर बुधबार राति ओस्लो आइपुगेकी छन् ।
नोबेल शान्ति पुरस्कार ग्रहण गर्नका लागि भनेर नर्वे आइपुगेकी माचाडो महिनौँपछि पहिलोपटक सार्वजनिक रूपमा देखिएकी हुन् । तर, उनी पुरस्कार वितरण समारोह सकिएपछि राति मात्र ओस्लो आइपुगिन् । ओस्लोको ग्रान्ड होटलको बालकोनीमा मध्यराति देखापरेकी उनलाई स्वागत गर्दै समर्थकको भिडले ‘मारिया मारिया’ भन्दै चिच्याएको थियो ।
गत जनवरीपछि पहिलोपटक सार्वजनिक रूपमा देखिएकी उनले समर्थकहरूलाई भावपूर्ण अभिवादन गरिन् ।
भेनेजुएला सरकारले उनलाई यात्रा गर्न प्रतिबन्ध लगाएको छ । यस्तो अवस्थामा नर्वे पुगे ‘फरार’ घोषणा गरिने सरकारको चेतावनीबिच उनले अत्यन्त गोप्य तयारीसहित देश छाडेकी हुन् । भूमिगत यात्राको जोखिमबारे बीबीसीले सोधेको प्रश्नमा उनले भनिन्, ‘म आफ्ना सबै जोखिमबारे जानकार छु ।’
भावुक माहोलबिच होटल बाहिर उपस्थित समर्थकहरूले उनलाई माला लगाइदिएका थिए । ओस्लोमा बीबीसीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘यस्तो स्थितिमा देश छाड्नु अत्यन्त खतरनाक थियो । तर धेरैले आफ्नो ज्यान जोखिममा पारे, त्यसैले म यहाँ आइपुगेकी छु ।’
यसअघि बुधबार उनी उपस्थित हुन नसक्दा रहँदा छोरी आना कोरिना सोसाले नोबेल पुरस्कार ग्रहण गरेकी थिइन् । माचाडोलाई यस वर्ष ‘सर्वसत्तावादबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण संक्रमणका लागि गरेको योगदान’ वापत नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो ।
सुरक्षाका कारण उनले सबै छोराछोरीलाई विदेश पठाएकी थिइन् । करिब दुई वर्षपछि छोराछोरीसँग पुनर्मिलन हुँदा आफू भावुक बनेको पनि उनले बताइन् ।
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो नेतृत्वको सरकारको कडा आलोचक रहेकी माचाडोलाई गत वर्षको राष्ट्रपति चुनावमा उम्मेदवारी दिन नै प्रतिबन्ध लगाइएको थियो । मदुरोलाई तेस्रो कार्यकालका लागि विजेता घोषणा गरिएको भए पनि त्यस निर्वाचनलाई धेरै देशहरूले वैध मानेका छैनन् ।
सरकारले माचाडो नर्वे गएमा ‘षड्यन्त्र, घृणाको उक्साहट तथा आतंकवाद’ सम्बन्धी मुद्दामा फरार घोषणा गरिने चेतावनी दिएको थियो । नोबेल इन्स्टिट्यूटले समेत उनको ओस्लोसम्मको यात्रा अत्यन्त जोखिमपूर्ण भनेको छ ।
द वाल स्ट्रिट जर्नलका अनुसार माचाडोले भेष बदलेर करिब १० वटा सैनिक चौकी पार गरी ज्यान जोखिममा राखेर माछा मार्ने समुद्री गाउँ हुँदै काठको डुंगामा चढेर नर्वे पुगेकी हुन् । यसमा उनलाई भूमिगत सञ्जाल र अमेरिकी सहयोग रहेको दाबी गरिएको छ । तर यसबारे माचाडो स्वयंले भने केही भन्न चाहिनन् ।
अब आफ्नो देश फर्कने सम्भावनाबारे उनले भनिन्, ‘अवश्य फर्किन्छु । जोखिमहरू स्पष्ट रूपमा बुझेकी छु ।’ हालको परिस्थितिमा आफ्नो संघर्षका लागि सबैभन्दा प्रभावकारी स्थान ओस्लो नै रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण