बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

बिहीबार, २५ मङ्सिर २०८२, २२ : ४४
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • रामपुर नगरपालिकाले ज्येष्ठ नागरिकका लागि स्कुल सञ्चालन गरेको छ।
  • स्कुलले पाका पुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तामा पुर्याउने लक्ष्य राखेको छ।
  • विद्यालयमा धार्मिक प्रवचन, भजन किर्तन, र स्वास्थ्य परीक्षणको व्यवस्था छ।

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालन गरिएको छ । रामपुर नगरपालिकाले रु एक करोड २६ लाख लागतमा स्कुल सञ्चालनमा ल्याएको हो ।

ज्येष्ठ नागरिकलाई सम्मानसहितको सक्रिय जीवन निर्वाहसँगै संस्कार र संस्कृतिको संरक्षण, पाका पुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्य राखेर स्कुल सञ्चालनमा ल्याइएको नगर प्रमुख रमणबहादुर थापाले बताए । उनले भने, “सन्तानहरू रोजगारी तथा विभिन्न पेसा, व्यवसाय र पढाईको सिलसिलामा घरभन्दा बाहिर हुँदै गर्दा ज्येष्ठ नागरिक निरास जीवन जिउनुपर्ने बाध्यता छ । आफ्ना दौतरीसँग भलाकुसारी गर्दै अनुभव र ज्ञान नयाँ पुस्तामा बाँड्ने उद्देश्यका साथ स्कुल स्थापना गरेका हौँ ।”

पाकापुस्तालाई आफ्ना दौतरीसँग दिन बिताउने वातावरण स्कुलले प्रदान गर्नेछ । उनले परम्परागत संस्कार र संस्कृतिको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताए । ज्येष्ठ नागरिकलाई धार्मिक प्रवचनसँगै फुर्सदको समयमा बात्ती काट्ने, दुनाटपरी बनाउनेलगायत वातावरण निर्माणसँगै बजारीकरणका लागि प्रबन्ध मिलाइएको छ ।

विद्यालयमा विषेशगरी दिउँसोको समयमा ज्येष्ठ नागरिकलाई स्कुलसम्म ल्याई पुराना संस्कार र संस्कृतिबारे नयाँ पुस्ताले अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । स्कुलमा धार्मिक प्रवचन, भजन कीर्तन, घरेलु सामग्री र यसको प्रयोग, ज्येष्ठ नागरिकका लागि दिवा खाजा, स्वास्थ्य परीक्षणसहित सन्ध्या आरतीको व्यवस्था गरिएको नगर प्रमुख थापाले बताए ।

नगरभित्रका विद्यार्थीलाई अध्ययनका लागि व्यवस्थासमेत मिलाइएको उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । ज्येष्ठ नागरिक स्कुलले जीवनका अनुभवलाई आपसमा साटासाट गर्नुका साथै समाजको मौलिकपनलाई पनि जीवन्त राख्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।

नगरपालिकाले स्कुल सञ्चालनका लागि कार्यविधि निर्माण गरी आवश्यक बजेटकोसमेत व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताए ।

ज्येष्ठ नागरिकलाई आउन र जानका लागि बससेवासमेत सञ्चालनमा ल्याएको छ । नगरपालिकाले बुधबारदेखि स्कुल सञ्चालनमा ल्याएको हो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको रु एक करोड २६ लाख लागतमा स्कुल निर्माण भएको व्यवस्थापन समिति अध्यक्ष बुद्धि प्रकाश रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप