बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा

शनिबार, २७ मङ्सिर २०८२, ०१ : ००
शनिबार, २७ मङ्सिर २०८२

सारांश

  • गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा आयोजना हुने भएको छ।
  • प्रदेश खेलकुद परिषद्का सदस्यसचिवका अनुसार पालिका र जिल्लास्तरमा प्रतियोगिता भइरहेका छन् ।
  • खेलाडीको वृत्तिविकास र सेवासुविधामा लगानी बढाइएको छ।

गण्डकी। सोह्रौँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा हुने भएको छ । आगामी माघभित्र प्रतियोगिता आयोजना हुने प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्यसचिव श्रीधर शर्माले जानकारी दिए ।

“अहिले पालिका र जिल्लास्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भइरहेका छन्, प्रदेशस्तरीय प्रतियोगिता बागलुङमा गर्ने निर्णय भइसकेको छ, मिति तय हुन बाँकी छ”, उनले भने । उनका अनुसार १५औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गोरखामा भएको थियो ।

पछिल्लो समय प्रदेशस्तरीय प्रतियोगिता आलोपालो रूपमा जिल्लामा गर्ने गरिएको सदस्यसचिव शर्माले बताए । प्रतियोगिता सञ्चालनदेखि खेलका लागि बजेट तथा कार्यक्रमलाई विकेन्द्रित गर्दै लगिएको उनको भनाइ छ । समयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजन नगर्ने स्थानीय तहलाई ध्यानाकर्षणसमेत गराएको सदस्य सचिव शर्माले बताए ।

उनले प्रदेश खेलकदुर परिषद्ले खेलाडी कल्याण कोषमार्फत खेलाडीको वृत्तिविकास र सेवासुविधामा लगानी बढाइएको जानकारी दिए। पालिकास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडी जिल्ला, जिल्लाबाट छनोट भएका खेलाडी प्रदेश र प्रदेशबाट छनोट भएका खेलाडी केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप