एमाले महाधिवेशनलाई शुभकामना दिँदै विद्या भण्डारीले के भनिन् ?
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको महाधिवेशन सफलताको कामना गरेकी छिन्।
- उनले जबजको आधारभूत मान्यता अपनाएर नेतृत्व चयन हुने विश्वास व्यक्त गरिन्।
- भण्डारीले मुलुकको वर्तमान अवस्थामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।
काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारीले नेकपा (एमाले) को ११औँ महाधिवेशन सफलताको कामना गर्दै जनताको बहुदलीय जनवाद (जबज)को आधारभूत मान्यता अपनाएर नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी हुन् ।
आज सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– 'महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेता समेत हुनुभएकाले पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे अवगत नै हुनुहुन्छ । यस्तो परिवेशमा आयोजित पार्टीको सर्वोच्च निकायका रूपमा रहेको यो महाधिवेशन जबजका आधारभूत मान्यताहरूलाई आत्मसात् गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउँदै योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेछ भन्ने दृढ विश्वास लिएको छु ।'
उनले थप भनेकी छिन्– 'मुलुक अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा, प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल होस् ।'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण