बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

ईश्वर पोखरेलमाथि ओलीको कटाक्ष : अरुको एजेन्डा बोकेर मलाई कारबाही गर्नुपर्छ भन्ने ?

आइतबार, २८ मङ्सिर २०८२, ११ : २१
आइतबार, २८ मङ्सिर २०८२

सारांश

  • एमालेको ११औँ महाधिवेशनको बन्दसत्र अघि बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति असन्तुष्टि जनाए।
  • ओलीले आत्मआलोचना र प्रतिवेदनका नाममा आफूमाथि प्रहार गर्ने प्रयास भएको भन्दै कटाक्ष गरे, विपक्षीले समेत नसकेको कुरा आफ्नै नेताले गरेको गुनासो गरे।
  • ओलीले आफू भाग्यमानी नेता भएको र नेतृत्व तथा कार्यकर्ताबाट सहयोग पाएको बताए, साथै नयाँ नेतृत्व चयन नभएसम्म सबै केन्द्रीय कमिटी सदस्यकै हैसियतमा रहने जानकारी दिए।

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार बिहान भृकुटीमण्डपमा पार्टी केन्द्रीय समिति बैठक बसेको छ ।  बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

आत्मआलोचना र प्रतिवेदनका नाममा आफूमाथि प्रहार गर्ने प्रयास गरेको भन्दै ओलीले कटाक्ष गरेका हुन्। उनले अरुको एजेण्डा बोकेर आफूमाथि प्रयास गर्ने प्रयास भएको समेत बताए । 

उनले भने, 'आत्मआलोचनाका नाममा अरुका एजेन्डा बोकेर हिँडेका छन्। हामी त्यही एजेन्डा बोकेर हिँडेका छौँ। तत्कालीन प्रधानमन्त्री (म) लाई कारबाही गर्नु पर्यो भनेर माग गर्ने ?' उनले आफूलाई कारबाहीको माग गर्ने कुरा विपक्षी पार्टी र मिडियाले समेत भन्न नसकेको अवस्थामा आफ्नै नेताहरूले दस्तावेजमा समेटेको भन्दै रोष प्रकट गरेको एक नेताले बताए । पोखरेलले सार्वजनिक रुपमै ओलीले जेनजी आन्दोलनबारे गठन भएको छानबिन समितिमा बयान दिनुपर्ने बताएका थिए । उनले कोही दोषी भए कारबाहीको भागीदार हुनुपर्ने समेत बताउँदै आएका छन् । 

तर ओलीले आन्तरिक असन्तुष्टिका बीच पनि आफू भाग्यमानी नेता भएको दाबी गर्न बैठकमा भ्याएको ती नेताले बताए । उनले भने, 'म भाग्यमानी लिडर हुँ। मैले नेतृत्व र कार्यकर्ताबाट असाधारण सहयोग पाएको छु।'

ओलीले महाधिवेशनको प्रक्रिया र कमिटीको हैसियतबारे पनि प्रष्ट पारे। उनले नयाँ नेतृत्व चयन भई शपथग्रहण नभएसम्म सबै जना केन्द्रीय कमिटी सदस्य कै हैसियतमा रहने जानकारी गराए।

बन्दसत्र सञ्चालनका लागि बन्ने अध्यक्षमण्डलको अध्यक्षता पार्टी अध्यक्ष स्वयंले गर्ने ओलीले बैठकमा जानकारी गराए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप