शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कांग्रेस राजनीति

पूर्णबहादुर खड्काले १३ दिनसम्म बनाएनन् विधान संशोधन मस्यौदा समिति

आइतबार, २८ मङ्सिर २०८२, १७ : ४१
आइतबार, २८ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो र ३ समिति बनाउने निर्णय गरेको थियो।
  • कार्यवाहक सभापति खड्काले निर्वाचन समितिलाई पूर्णता दिए र क्रियाशील सदस्यता छानबिन समिति गठन गरे।
  • विधान मस्यौदा समिति भने अझै गठन हुन सकेको छैन, तर केही दिनमै गठन हुने कांग्रेसले जनाएको छ।

काठमाडौँ । नेपाली कांग्रेसको मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५ औँ पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गर्दै त्यसका लागि ३ समिति बनाउने निर्णय गरेको थियो । 

समितिहरू गठन गर्ने कार्य आवश्यक परामर्श गरी सभापति/कार्यवाहक सभापतिले गर्ने,’ बैठकको निर्णयमा लेखिएको थियो ।

महाधिवेशनका लागि विधान मस्यौदा समिति, क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने र केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिने निर्णय केन्द्रीय समितिको थियो ।

अरू दुई समिति बने पनि विधान मस्यौदा समिति केन्द्रीय समितिले निर्णय गरेको १३ दिनसम्म गठन हुन सकेको छैन ।

निर्णयबमोजिम कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन समितिलाई पूर्णता दिने र क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने काम सभापति शेरबहादुर देउवासँगको परामर्शमा गरेका छन् ।

पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती नेतृत्वको निर्वाचन समितिमा खड्काले लमजुङ घर भएका वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र सुनसरी घर भएका अधिवक्ता राजु कटुवाललाई सदस्य मनोनयन गरेका छन् । समितिमा अधिवक्ताद्वय यगराज पोखरेल र तेज रावल सदस्य थिए ।  

त्यस्तै कार्यवाहक सभापति खड्काले सहमहामन्त्री महेन्द्र यादवको संयोजकत्वमा ५ सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति बनाएका छन् ।

समितिका चार सदस्यमा केन्द्रीय सदस्यहरू शिव हुमागाईँ, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु सिवाकोटी र शान्ति परियार बिकलाई सदस्य बनाइएको छ । भागबण्डामा समितिलाई पूर्णता दिइएको हो ।

संस्थापन पक्षीय सहमहामन्त्री यादवको संयोजकत्वमा गठित समितिमा बिक र हुमागाईँ संस्थापन पक्षीय नै हुन् । पोखरेल इतर समूहका नेता डा. शेखर कोइराला निकट र सिवाकोटी महामन्त्री थापा निकट हुन् ।

तर, विधान मस्यौदा समिति अहिलेसम्म पनि गठन नै भएको छैन । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अब केही दिनमै गठन हुने बताए । ‘सल्लाह हुँदैछ । केही दिनमै गठन हुन्छ,’ विश्वकर्माले रातोपाटीसँग भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप