शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्री घिसिङको सुदूरपश्चिम र लुम्बिनी भ्रमण : सिँचाइ आयोजनाको अनुगमनदेखि पार्टी कार्यक्रमसम्म

सोमबार, २९ मङ्सिर २०८२, १२ : ०१
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • ऊर्जा मन्त्री कुलमान घिसिङ सुदूरपश्चिम र लुम्बिनी प्रदेशका निर्माणाधीन आयोजनाको निरीक्षणका लागि चार दिने भ्रमणमा निस्किएका छन्।
  • मन्त्रीले महाकाली सिँचाइ, रानीजमरा कुलरिया सिँचाइ, सत्तीघाट तटबन्ध लगायतका आयोजनाको अनुगमन गर्नेछन्।
  • भ्रमणको क्रममा मन्त्री घिसिङले विभिन्न स्थानमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने र विकास निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा निर्माणाधीन विकास आयोजनाहरूको निरीक्षण तथा राजनीतिक भेटघाटका लागि चार दिने भ्रमणमा निस्कने भएका छन् । मन्त्री घिसिङ आज बेलुका काठमाडौँबाट धनगढी प्रस्थान गरी पुस ३ गतेसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामामा निर्माणाधीन आयोजनाहरूको अनुगमनमा जान लागेका छन् ।

मन्त्रीको सचिवालय दिएको भ्रमण तालिकाअनुसार, मन्त्री घिसिङ सोमबार बेलुका धनगढी पुगेर कञ्चनपुर बस्ने कार्यक्रम तय भएका छन् । पुस १ गत बिहान उनले महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन मन्त्री घिसिङले महेन्द्रनगरदेखि पहल्मानपुर कान्द्रा नदी क्षेत्रको अवलोकन गर्दै जानकी गाउँपालिकास्थित रानीजमरा कुलरिया सिँचाइ आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । दिउँसो जानकीबाट जोशीपुर हुँदै हुलाकी सडक मार्फत टीकापुर पुगेर उनले टीकापुर पार्कको भ्रमण तथा अनुगमन गर्नेछन् ।

पुस २ गते मन्त्री घिसिङ बर्दियाको राजापुर क्षेत्रमा जाने कार्यक्रम तय भएको छ । उक्त दिन मन्त्री घिसिङले सत्तीघाट तटबन्ध, भिममापुर सिँचाइ र शंकरपुर बोर्डरदेखि कोठियाघाटसम्मको डुबान क्षेत्र तथा जङ्गली जनावरको समस्याबारे स्थलगत अवलोकन गर्ने छन् ।

मन्त्री घिसिङले ओखरिया दौलतपुरमा विकास निर्माणको शिलान्यास गर्ने र राजापुरको लठ्ठौहवा आयोजना हुने उज्यालो नेपाल पार्टीले आयोजना गरेको प्रवेश कार्यक्रममा सहभागी हुने तालिका छ। गुलरिया नगरपालिका वडा नं १ मा बन्दै गरेको सिँचाइ नहरको अनुगमन गर्ने कार्यक्रम छ ।

भ्रमणको अन्तिम दिन पुस ३ गते बिहान मन्त्री घिसिङले खैरापुरमा पार्टी कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा सहभागिता हुनेछन् । त्यसपछि उनले गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा भत्केको जब्दी पुलको स्थलगत भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

मन्त्री घिसिङको यो भ्रमण मुख्यतया सिँचाइ आयोजनाहरूको प्रगति विवरण बुझ्न, बाढी तथा डुबानका समस्या समाधानको पहल गर्न र पार्टी सङ्गठन सुदृढीकरणमा केन्द्रित रहने बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप