बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

ओली प्यानलबाट बादलसहित बागमतीका को-को बने उम्मेदवार ?

सोमबार, २९ मङ्सिर २०८२, १४ : ३७
सोमबार, २९ मङ्सिर २०८२

हेटौंडा । नेकपा एमालेको ११औं महाधिवेशनमा निर्वाचनको कार्यक्रम भइरहेको छ । नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर आमनेसामने हुँदैछन् । 

ओलीको प्यानलबाट उपाध्यक्ष पदमा बागमती प्रदेशबाट रामबहादुर थापा ‘बादल’ उम्मेदवार बनेका छन् । गुल्मीमा जन्मेका थापा चितवनको रामपुर क्याम्पसमा अध्ययन गरेका हुन् । यसअघि बागमती प्रदेशबाट प्रतिनिधित्व गरेर राष्ट्रियसभा सदस्य बनेका उनी एमालेको उपाध्यक्ष पदमा दोहोरिन प्रतिस्पर्धामा उत्रिँदैछन् । चितवनमा भएको एमालेको दशौं महाधिवेशनबाट उनी उपाध्यक्ष चुनिएका थिए ।

ओली प्यानलबाट सचिव पदमा डा. राजन भट्टराई उम्मेदवार बनेका छन् । उनी एमालेको स्थायी कमिटी सदस्य हुन् भने परराष्ट्र विज्ञका रुपमा प्रधानमन्त्रीको सल्लाहकार बनेर काम गरिसकेका छन् । भक्तपुरका महेश बस्नेतलाई पनि ओली समूहबाट सचिवको उम्मेदवार बनाइएको छ । बस्नेत एमालेको पोलिटब्युरो सदस्य हुन् ।

ओली समूहबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूचीमा बागमती प्रदेशको भूगोलतर्फ खुला, युवा र महिला गरी ९ जना तथा काठमाडौँ उपत्यकालाई समेटिएको राजधानी विशेष क्षेत्रबाट ९ जना गरी १८ जनाको नाम प्रस्ताव गरिएको छ । प्रस्तावित सूची अनुसार बागमती प्रदेश भूगोलतर्फको खुला सदस्यमा रामेश्वर राना, हस्त पण्डित, मनोजजंग थापा, केशव पाण्डे र खेमप्रसाद लोहनी छन् ।

यसैगरी भूगोलतर्फको युवा कोटामा अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडाल तथा महिला सदस्यहरुमा निरुकुमारी दर्लामी, प्रभा बराल र विन्दा ढुंगाना उम्मेदवार बन्ने भएका छन् ।

‘राजधानी विशेष’ क्षेत्रबाट खुलातर्फ रमेश बडाल, काठमाडौँ महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्य, ललितपुरका हरिकृष्ण व्यन्जनकार, रामेश्वर फुयाँल र प्रेम पराजुलीको नाम प्रस्ताव गरिएको छ । राजधानी विशेषको युवा कोटामा अञ्जना अधिकारी तथा महिलातर्फ सुजिता शाक्य, विना श्रेष्ठ र काठमाडौँ महानगरपालिकी उपमेयर सुनिता डंगोलको नाम सूचीमा राखिएको छ ।

भूगोल र विशेष क्षेत्रबाहेक बागमती प्रदेशका अन्य नेताहरु भने पदाधिकारी तथा खुला केन्द्रीय सदस्यको सूचीमा समेटिएका छन् । खुलातर्फको सूचीमा सिन्धुपाल्चोकका शेरबहादुर तामाङ, काठमाडौँका कृष्णगोपाल श्रेष्ठ र रघुजी पन्त, दोलखाका पार्वत गुरुङ र ईश्वरबहादुर रिजाल, रामेछापका माधव ढुंगेल, मकवानपुरका महेश बर्तौला, सिन्धुलीका सुभाष देवकोटा,  चितवनका देवी ज्ञवाली, यामबहादुर परियार र जगन्नाथ थपलिया, काठमाडौंका नारायणबहादुर सिलवाल, अमन मास्के र किरण पौडेल, धादिङका भूमि त्रिपाठी लगायत परेका छन् ।

आदिवासी/जनजाति क्लस्टरमा बागमती प्रदेशका विषमलाल अधिकारी दनुवार (सिन्धुली) प्रेम तामाङ (रसुवा), सुभाष कर्माचार्य (सिन्धुपाल्चोक), अजयक्रान्ति शाक्य (काठमाडौं), एकलाल श्रेष्ठ (मकवानपुर) समेटिएका छन् भने दलित क्लस्टरमा महिलातर्फबाट रुक्मिणी राना बराइली (काभ्रे), र मजदुरतर्फ विनोद श्रेष्ठ (काठमाडौं) समेटिएका छन् ।

महिला क्लस्टरमा भारती पाठक मकवानपुर, प्रभा बराल चितवन, पार्वती रावल चितवन, बालिका गिरी चितवन, सन्तना दाहाल ललितपुर, डोल्मा तामाङ सिन्धुपाल्चोक, विन्दु महर्जन काठमाडौं, सुशीला नेपाल ललितपुर, उर्मिला सुनुवार दोलखा, तारा सञ्जेल ललितपुर, शकुन्तला श्रेष्ठ भक्तपुर समेटिएका छन् । केन्द्रीय अनुशासन आयोग अध्यक्षमा चितवनका काशीनाथ अधिकारी उम्मेदवार बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप