मदन-मनमोहनको रसायनबाट बलियो बनेको एमाले नेतृत्व सत्ताच्युत किन हुन पुग्यो ?
काठमाडौँ । नेकपा एमालेका नेताहरूले नीति र नेतृत्वको हिसाबले पाँचौं महाधिवेशन ऐतिहासिक भएको दाबी गर्दै आएका छन् । २०४७ साल पुस २२ गते मनमोहन नेतृत्वको नेकपा (मार्क्सवादी) र मदनकुमार भण्डारी नेतृत्वको तत्कालीन नेकपा (माले) मिलेर नेकपा (एमाले) बनेको थियो ।
एमाले बनेपछि २०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौँमा भएको पहिलो महाधिवेशनले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) बहुमतले अनुमोदन भयो । कार्यकारी महासचिवमा भण्डारी निर्वाचित भए । अध्यक्षमा अधिकारी निर्वाचित भएका थिए । २०५१ सालमा भएको मध्यावधि निर्वाचन पछि ९ महिने अल्पमतको सरकारका अधिकारी प्रधानमन्त्री भए । निकै लोकप्रिय रहेको उनको शासनकाल भजाएर एमालेले राजनीतिक क्रेडिट लिन खोजेको आरोपबाट समेत मुक्त हुन सकेको छैन ।
महाधिवेशनले २ जना पदाधिकारी, १० जना स्थायी समितिसहित ३७ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो । सात जना वैकल्पिक केन्द्रीय सदस्य बनाएको थियो । त्यतिबेला एमालेमा मालेबाट आएका युवाहरूको वर्चस्व रहेको थियो । मार्क्सवादीबाट आएका पुराना र अनुभवी नेताहरूको पनि राम्रो उपस्थिति रहेको थियो । २००८ साल र २०१० सालमै नेपाल कम्युनिस्ट पार्टीका महासचिव भइसेका अधिकारी सर्वोच्च पद अध्यक्ष बनेका थिए । जबजका प्रणेता तथा प्रखर वक्ता भण्डारी महासचिव भए ।
२०४६ सालको जनआन्दोलनले बहुदल स्थापना गरेपछि खुला राजनीतिमा आएको हुनाले एमालेप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा निकै चर्चा चल्यो । २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा एमालेले प्रतिनिधिसभामा ६९ सिट जितेर प्रमुख प्रतिपक्ष दल बन्न सफल भयो । नीति र नेतृत्वको हिसाबले बलियो रसायनबाट बनेको एमाले तीन दशक पार गर्दासम्म राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिकामा रहेको छ । पार्टी एकताको हिसाबले पाँचौं महाधिवेशन बलियो रसायन भएको पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले जिकिर गरे ।

‘एमालेको पाँचौं महाधिवेशन ऐतिहासिक थियो । सहमतिको आधारमा नयाँ र पुराना नेताहरूलाई जिम्मेवारी दिएको थियो । सहमतिकै आधारमा केन्द्रीय समिति घोषणा भएपछि कार्यकर्ताले निकैबेर ताली पिटेर अनुमोदन गरेका थिए । त्यो हिस्टोरिकल ताली थियो । पाँचौँ महाधिवेशनबाट एमाले एकताबद्ध भएर आयो,’ खनालले भने ।
खनालका अनुसार त्यतिबेला पार्टीभित्र वैचारिक र सैद्धान्तिक मात्र बहस हुने गरेको सम्झन्छन् । महासचिव भण्डारीले प्रस्ताव गरेको जबज पारित भएपछि खनाल, सीपी मैलानी, आरके मैनाली, मनमोहन अधिकारी, मोहनचन्द्र अधिकारी लगायत नेताहरूले विरोध गरेका थिए । बुर्जुवाहरूको जबजले समाजवादमा नपुग्ने निष्कर्ष सहित इतर पक्षका नेताहरू नयाँ जनवादको पक्षमा उभिएका थिए । तर नीति र नेतृत्व भण्डारीको पास भएपनि बहुमतको निर्णय मानेर गएका थिए । त्यतिबेला विद्रोह गरेका अष्टलक्ष्मी शाक्य र प्रदीप नेपाललाई भण्डारीले समेटेर पार्टीलाई एकताबद्ध बनाएका थिए । त्यतिबेला वैचारिक र सैद्धान्तिक बहस हुने गरेको भएपनि अहिले नेतृत्वमा विचलन आएको शाक्य सम्झिन्छन् ।
_rz7DCMH7gb.jpg)
‘पाँचौँ महाधिवेशनमा मदनले हामीलाई जसरी पनि केन्द्रीय समितिमा आउनुपर्छ, पार्टीमा तपाईंहरूको आवश्यकता छ भनेर ल्याउनु भएको हो । उहाँले त्यतिबेला युवा र पुराना नेताहरूलाई योग्यता र क्षमताका आधारमा संयोजन गरी अगाडि बढाउनुभयो’, उनले भनिन्, ‘पछिल्लो समय नेतृत्व अराजक बन्दै गयो । नेतृत्व तहबाटै गुटबन्दी हुन थाल्यो । पार्टी अनुशासन, विधि, विधान र पद्धति पालन भएन । मार्गदर्शक सिद्धान्तबाट नेतृत्व विचलित भए । नेतृत्व हस्तान्तरण नहुँदा पार्टी कमजोर बन्दै गयो ।’
पार्टीलाई बलियो बनाउन नेतृत्वले तीन कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिइन् । पहिलो कुरा मार्क्सवाद, लेनिनवादको मार्गदर्शक सिद्धान्तबाट प्रशिक्षित गरेर वैचारिक रुपमा पार्टी र नेतृत्व रुपान्तरण गर्नुपर्ने बताइन् ।
दोस्रो पार्टी सामूहिक नेतृत्वमा चाल्नुपर्ने उनको मत रहेको छ । सबैले दुःख गरेर बनाएको पार्टीमा अनुशासित र नैतिकवान् नेतृत्व बन्न आवश्यक रहेको शाक्यको भनाइ छ ।
‘सबैले दुःख गरेर पार्टी बनाएको हुन्छ । तर नेतृत्व तहबाट नै गुट बनाउँछन् । पार्टीमा सामूहिक भावना नै छैन । आफ्नो मान्छेलाई माथिबाट टिपेर ल्याएको हुन्छ । त्यसको योग्यता, क्षमता केही हेरिँदैन । तर मन नपरेको व्यक्ति जस्तोसुकै योग्य र क्षमतावान् होस्, त्यसलाई अगाडि बढ्न दिइँदैन । एमाले मात्र होइन, पार्टी विधि, पद्धतिबाट चल्नुपर्छ । नेतृत्व नैतिवान् र अनुशासित हुनुपर्छ । अराजक हुनुहुँदैन’, उनले भनिन् । तेस्रो युवा पुस्तालाई अगाडि बढाउन दुई कार्यकालको व्यवस्था विधानमै हुनुपर्नेमा उनले जोड दिइन् ।

‘पार्टीमा पुराना वा अनुभवी भनेर मात्र हुँदैन । सामाजिक न्याय र समृद्धिका कुरा गरेका छौँ । हामीभन्दा युवा पुस्तामा धेरै क्षमता छ,’ उनले भने, ‘उनीहरूलाई अगाडि बढाउन नेतृत्वले मार्गदर्शक सिद्धान्तको आधारमा वैचारिक प्रशिक्षण दिन आवश्यक छ । वैचारिकतालाई व्यवहारमा उतारे मात्र पार्टीलाई बलियो बनाउन सकिन्छ ।’
२०५० जेठ ३ गते मदनको चितवको दासढुंगा दुर्घटनामा रहस्यमय निधन भएपछि नीति र नेतृत्व दुवैमा विचलन आएको राजनीतिकवृत्तमा चर्चा छ । एमालेले महाकाली सन्धि अनुमोदन गर्न सहयोगी भूमिका खेलेको भन्दै २०५४ सालमा साहना प्रधान, वामदेव गौतम, सीपी मैनाली लगायत नेताहरूले पार्टी विभाजन गरी नेकपा माले गठन गरे । पार्टीले संघीयता, आदिवासी जनजाति पहिचान विरोधी नीति लिएको आरोपमा अशोक राई, राजेन्द्र श्रेष्ठ लगायत नेताहरूले २०६९ साल पार्टी छोडे ।
केपी ओली नेतृत्वमा आएपछि पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको, संविधान विपरीत दुई-दुई पटक संसद् विघटन गरेको आरोप लगाउँदै २०७८ सालमा माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने लगायत नेताहरूले पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादी बनाए । पार्टीको विधि, विधान र पद्धति अनुसार चल्नुपर्नेमा आवाज उठाउँदै आएका भीम रावल, घनश्याम भुसाल पार्टीबाट निष्कासनमा परे । पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक्न सदस्यता नै पेन्डिङमा राखेको आरोप ओलीमाथि लागेको छ ।
मनमोहन अधिकारीका उत्तराधिकारी ओलीको शासनकालमा पार्टीभित्र विग्रह र बाहिर जनअसन्तुष्टि बढेको एमालेभित्रै आरोप लागेको छ । २०८१ असारमा संसद्को ठुलो दल कांग्रेससँग मिलेर सरकार बनाएका ओली भदौ २३ र २४ गते भएको जेनजी विद्रोहबाट सत्ताच्युत भए । केन्द्रीय प्रशासनिक भवन सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायत देशभरका सार्वजनिक सम्पत्ति ध्वस्त भयो ।

गर्विलो इतिहास बोकेको एमालेले भृकुटीमण्डपमा ११औं महाधिवेशन चलिरहेको छ । मंसिर २६ गतेदेखि जारी बैठकमा नयाँ नेतृत्वका लागि साँझ सात बजेबाट मतदान हुने भनिएपनि अहिलेसम्म प्रक्रिया अगाडि बढेको छैन । तेस्रो पटक अध्यक्षमा सर्वसम्मत चयन हुन चाहेका ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका छन् । २०७१ सालमा भएको नवौं महाधिवेशनबाट नेतृत्वमा आएका ओली पार्टी विधान, विधि र पद्धति अनुसार नचलेको, पार्टीभित्र फरक मत राख्नेमाथि दमनकारी नीति लिएको पोखरेल पक्षले आरोप लगाउँदै प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

पार्टी रुपान्तरण तथा नेतृत्व हस्तान्तरणबारे मूल नेतृत्वको असहिष्णु व्यवहारप्रति क्रुद्ध भएका उनीहरूले पार्टीलाई विधि र पद्धतिमा फर्काएर बलियो बनाउन चुनावी प्रतिस्पर्धामा उत्रिएको जिकिर गरेका छन् । ओलीकै कारण पार्टी फेरि विभाजन हुने हो कि भन्ने चिन्ता नेता तथा कार्यकर्तामा बढेको छ ।
२०४७ सालमा एमाले बनेपछि पार्टी छाडेका लोकनारायण सुवेदीले त्यतिबेला सैद्धान्तिक विषयमा कुरा नमिलेपछि आफूहरू अलग भएको जिकिर गरेका छन् । सुवेदी पनि त्यतिबेला नयाँ जनावादको पक्षमा उभिएका थिए । जबजलाई उनले बुर्जुवाहरूको नेता छान्ने प्रणाली भएको आरोप लगाए ।
‘त्यतिबेला मुख्य कुरा सैद्धान्तिक कुरामा मतभेद थियो । हाम्रो लाइन नयाँ जनवाद थियो । उहाँहरूले जनताको बहुदलीय जनवाद अनुमोदन गरे’, उनले भने, ‘जबजले पुँजीवादी विकृती भित्र्यायो । एमाले श्रमजिवीको पार्टी होइन रहेछ भन्ने कुरा अहिले आएर प्रमाणित भएको छ ।’
पछिल्लो समय एमालेबाट बाहिरिएकाहरू कुनै सैद्धान्तिक र वैचारिक रुपमा नभइ पदको भागबण्डा नमिलेको कारण भएको सुवेदीले आरोप लगाए । पुष्पलालको विचार अनुसार कम्युनिस्ट पार्टी अगाडि बढे कि बढेनन् भन्ने कुरा महत्वपूर्ण भएको बबढे कि बढेन भन्ने कुरा महत्वपूर्ण भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण