शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

भोट क्रसको 'त्रास'मा ओली समूह

बुधबार, ०२ पुस २०८२, १६ : १२
बुधबार, ०२ पुस २०८२

सारांश

  • नेकपा एमालेको ११औँ महाधिवेशनमा मतदान चलिरहँदा संस्थापन पक्षमा भोट क्रसको चिन्ता बढेको छ।
  • केपी ओली तेस्रो पटक अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन्, तर ओली पक्षकै उम्मेदवारहरू नै ढुक्क देखिएका छैनन्।
  • विभिन्न असन्तुष्टि र गुटबन्दीका कारण ओली पक्षमा भोट क्रस हुने आशंका बढेको छ।

काठमाडौँ । भावी नेतृत्व छनोटलाई लिएर नेकपा एमालेको ११औँ महाधिवेशनमा मतदान चलिरहँदा संस्थापन पक्षमा भोट क्रसको चिन्ता बढेको छ ।

नवौँ महाधिवेशनबाट नेतृत्वमा आएका केपी ओली तेस्रो पटक अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि ओली निर्वाचनमा जान बाध्य भएका हुन् ।

भृकुटीमण्डपमा बुधबार बिहान ८ बजेदेखि मतदान जारी छ । अपराह्न ४ बजेसम्म करिब ७ सय मत खसेको प्राविधिक पक्षले जनाएको छ ।

मतदानका लागि देशभरबाट दुई हजार २६३ महाधिवेशन प्रतिनिधि सहभागी छन् । बन्दसत्र हलमा मतदान प्रक्रिया चलिरहँदा बाहिर दुवै पक्षका समर्थकले आ–आफ्ना  उम्मेदवारलाई मत मागिरहेका छन्, तर ओली पक्षकै उम्मेदवारहरू नै ढुक्क भने देखिएका छैनन् । मतदानस्थलमा भेटिएका प्रतिनिधिहरू एउटै व्यक्ति नेतृत्वमा निरन्तर रहन नहुने धारणा राखिरहेका छन् । 

‘केपी कमरेडले ११ वर्ष पार्टीको नेतृत्व गर्नुभयो । चारपटक देशको प्रधानमन्त्री बन्नुभयो । एउटै व्यक्ति बारम्बार दोहोरिने भन्ने हुँदैन, पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन पनि फ्रेस व्यक्ति आउनुपर्छ,' रातोपाटीसँग एक प्रतिनिधिले भने ।

ओली पक्षकै प्रतिनिधिहरू समेत यसपटक भोट क्रस हुन सक्ने बताउँछन् । ओली क्याम्पमै रहेर विगतमा साथ दिएका नेताहरू विपक्षमा उभिनुले त्यसको प्रभाव मतबाट प्रकट हुन सक्ने उनीहरूले आशंका व्यक्त गरेका छन् । 

‘नवौँ महाधिवेशदेखि हरेक चुनौतीलाई साथ दिएका ईश्वर कमरेड प्रतिस्पर्धामा उत्रिएका छन् । एमाले स्थापनाकालदेखि नै ओलीलाई साथ दिएका विद्या कमरेड असन्तुष्ट छिन् । प्रदिप कमरेडले पदाधिकारी नै अस्वीकार गर्नुभयो । विगतमा साथ दिएका धेरै नेताहरू समेत योपटक असन्तुष्ट छन् । यी सबै असन्तुष्टिका कारण भेट क्रस हुन्छ कि भन्ने आशंका छ,' संस्थापननिकट एक प्रतिनिधि भन्छन् । 

दुवै पक्ष पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । ओली समूहबाट उपाध्यक्षहरूमा गुरुप्रसाद बराल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा र विष्णुप्रसाद पौडेल रहेका छन् । महासचिवमा शंकर पोखरेल छन् भने उपमहासचिवहरूमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णुप्रसाद रिमाल छन् ।

सचिवहरूमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्माकुमार अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यमलाल कँडेल, राजन भट्टराई, शेरधन राई र हिक्मतकुमार कार्की छन् ।  

पोखरेल प्यानलमा उपाध्यक्षहरू अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, डा. विन्दा पाण्डे, पर्शुमेघी गुरुङ रहेका छन् । महासचिवमा सुरेन्द्र पाण्डे छन् भने उपमहासचिवहरूमा योगेश भट्टराई, बैजनाथ चौधरी रहेका छन् । सविचवहरूमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाल रहेका छन् ।

किन बढ्यो त्रास ?     

जेनजी विद्रोहपछि नेतृत्व छाड्न पार्टीभित्र र बाहिरबाट ओलीमाथि निकै दबाब बढेको थियो । विघटित संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेससँग मिलेर असार ३१ मा प्रधानमन्त्री भएका ओली जेनजी विद्रोहकै कारण सत्ताच्यूत भए । उनी हेलिकप्टेर चढेर बालुवाटरबाट भाग्नुपरेको थियो । झण्डै दुई तिहाइ नजिकको शक्तिशाली प्रधानमन्त्रीले २८ घण्टामै राज्य विप्लव भएको नेपालको इतिहासमै पहिलो घटना थियो । विगतको भन्दा ढंगले हेरिएको जेनजी विद्रोहका कारण राज्यको प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एक साथ 'निकम्मा' सावित भयो । सरकारका मुख्य सहयात्री दल कांग्रेसका सभापति शेरबहादु देउवा र आफ्नै सरकार परराष्ट्रमन्त्री डा. आरजु देउवा राणालाई समेत सुरक्षा दिन नसकेकोमा ओली सरकार निकै आलोचित छ ।

भ्रष्टाचार र बेथिति विरुद्ध शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका २३ नवयुवाहरूको निर्मतापूर्वक हत्या गरिएकोमा ओलीको चौतर्फी विरोध भइरहेको छ । देशको केन्द्रीय प्रशासनिक भवन सिंहदरबार, व्यवस्थापिक संसद् भवन, सर्वोच्च अदालतलगायत देशभरका सार्वजनिक सम्पत्ति, नेताहरूको निजी सम्पत्ति, पार्टी कार्यालय, व्यवसायी प्रतिष्ठानमाथि लुटपाट र आगजनी हुँदासमेत सुरक्षा दिन नसकेकोप्रति पार्टीभित्र र बाहिरबाट ओली सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् ।

kp-oli-(2)_jCtPHGzYK1

भदौ २०–२२ मा ललितपुरको गोदावरी सम्पन्न विधान महाधिवेशनमा जेनजीले गर्ने भनिएको प्रदर्शनलाई ओलीले 'अराजकतावादीहरू तमासा' भनेर होच्याएका थिए । विरोध प्रदर्शनलाई सरकारले नजरअन्दाज गर्दा राज्यले ठुलो नोक्सानी भोग्यो । योजनाबद्ध विरोध प्रर्दशनको तयारी हुँदा समेत सरकारलाई कुनै जानकारी नहुनु ठुलो कमजोरी रहेको एमालेकै नेताहरूले आन्तरिक बैठकमा बताएका थिए ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायत नेताहरू नैतिकताका आधारमा राजीनामा दिन ओलीलाई सुझाव दिए । शाक्यले त ओलीको अनुहार लिए आगामी निर्वाचनमा समेत सहभागी हुन नसक्ने बताएकी थिइन् भने पाण्डेले भदौ २३ र २४ गतेको सम्पूर्ण घटनाको दोस सरकार प्रमुखको हिसाबले ओलीले लिनुपर्ने बताएका थिए । तर ओलीले पार्टी र सरकारमा रहँदा आफूले कुनै गल्ती नगरेको जिकिर गर्दै अध्यक्ष पदबाट राजीनामा नदिने बरु महाधिवेशन फेस गर्न विपक्षमा उभिएका नेताहरूलाई चुनौती दिए । ओलीले अर्को वर्ष नियमित महाधिवेशन गर्न चाहेको तर पार्टीभित्रका केही नेताहरूले उपद्रव मच्चाएकाले एक वर्षअघि नै महाधिवेशन बोलाएको सार्वजनिक रुपमै अभिव्यक्ति दिए । 

सारथिहरूको असन्तुष्टि

विगतमा संकटका बेला ओलीलाई बलियो साथ दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल योपटक आफै चुनावी मैदानमा उत्रिएका छन् । निकै संकटपूर्ण अवस्थामा साथ दिएका अन्य विश्वासिला नेताहरू गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, पूर्वमहान्यायाधिवक्ता समेत रहेका अग्निप्रसाद खरेल ओलीको टिममा नपरेपछि पोखरेलको प्यानलबाट पदाधिकारीका उठेका छन् ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ओलीको टिममा नपरेपछि स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए । यद्यपि अन्तिम समयमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिए । बौद्धिक तथा शालिन नेताको छवि बनाएका प्रदिप ज्ञवालीले महासचिव बन्न नपाएपछि उपाध्यक्ष पद अस्वीकार गरी केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् । ज्ञवाली महासचिव नभएकोमा विपक्षी कित्तामा रहेका मात्र नभई ओली टिमकै नेता तथा कार्यकर्ताहरू स्तब्ध भएका छन् ।

पछिल्लो समय महासचिवका प्रत्यासी शंकर पोखरेल र उपमहासचिव पदमा प्रत्यासी विष्णु रिमालबिच सम्बन्ध चिसिएको चर्चा चलेको छ । उपाध्यक्षमा प्रत्यासी विष्णु पौडेल र पोखरेलबिच लुम्बिनी प्रदेशको राजधानी दाङमा सारिएको बेलादेखि नै सम्बन्धमा दरार आएको चर्चा चल्दै आएको छ । उपाध्यक्षमा प्रत्यासी गुरुङ महासचिव बन्न नपाएकोमा असन्तुष्ट छन् । १०औँ महाधिवेशनमा ओलीकै जोड बलमा उपाध्यक्ष र सचिव बनेका पूर्वमाओवादी खेमाका रामबहादुर थापालाई उपाध्यक्षमै दोहोर्‍याएको र ओलीका विश्वास पात्र भानुभक्त ढकाललाई सचिवमा झारेर लेखराज भट्टलाई उपमहासचिवमा बढुवा गरेकोप्रति पनि असन्तुष्टि बढेको बताइन्छ ।

२०७४ सालमा पार्टी सत्ता र राज्य सत्तामा रहेको बेला मात्र नभई पूर्वमहासचिव मदन भण्डारीको निधनपश्चात् पार्टीभित्र हरेक स्टेपमा ओलीलाई साथ दिएकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी क्रुद्ध छिन् । पूर्वराष्ट्रपति समेत रहेकी भण्डारी असार १५ गते मदनको जन्मजयन्तीको अवसर पारेर एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्, तर भण्डारीको सक्रिय राजनीतिमा आउने घोषणा चुनौतीका रूपमा लिएका ओलीले उनको सदस्यता नवीकरण नै ‘पेन्डिङ’ राख्न संगठन विभाग प्रमुख काशीनाथ अधिकारीलाई दबाब दिएका पार्टीभित्रकै नेताहरूले आरोप लगाएका छन् ।

अधिकारी पनि पछिल्लो समय ओलीप्रति असन्तुष्ट रहेको एमालेकै नेताहरूले बताउने गरेका छन् । नेतृत्वमा आउन ओलीलाई सहज हुनेगरी विधानबाट दुई कार्यकाल र ७० वर्षे उमेरहद खारेज गरिएकोप्रति पोखरेल समूह असन्तुष्ट देखिएकाे छ । 

यी सबै परिघटनाका कारण संस्थापन पक्षको प्यानले आउने सम्भावना नदेखिएको महाधिवेशनस्थलमा चर्चा चलेको छ । सक्रिय राजनीतिबाट बिदा भएका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, केशब बडाल, अमृत बोहरा लगायत नेताहरूको कारणसमेत मत प्रभावित हुनसक्ने ओली समूहमा चिन्ता बढेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप