शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य गर्दै बागमती सरकार

बालाजु र बनेपामा नयाँ ट्रायल सेन्टर, कोटेश्वरमा पनि तयारी
बुधबार, ०२ पुस २०८२, १९ : ०८
बुधबार, ०२ पुस २०८२

सारांश

  • बागमती प्रदेश सरकारले यातायात सेवालाई व्यवस्थित र विस्तार गर्ने योजना बनाएको छ।
  • सवारी चालक अनुमति पत्रको 'सिन्डिकेट' अन्त्य गर्दै नयाँ ट्रायल सेन्टर थपिने र सेवा एकीकृत गरिनेछ।
  • काठमाडौँ उपत्यका र आसपासका जिल्लामा नयाँ ट्रायल सेन्टर सञ्चालनका लागि प्रक्रिया अघि बढाइएको छ।

हेटौँडा । यातायात क्षेत्रको सेवालाई व्यवस्थित र विस्तार गर्ने कार्य अघि बढाउन बागमती प्रदेश सरकार लागिपरेको छ । सवारी दर्ता तथा नवीकरण र सवारीचालक अनुमति पत्रलगायत कामलाई विस्तार गर्नेगरी अघि प्रदेश सरकार अघि बढेको हो । 

विगतमा अघि बढ्न नसकेका यातायात क्षेत्रका व्यवस्थापकीय कार्यलाई प्रक्रियागत रूपमा प्रदेश सरकारले तीव्रता दिएको हो । २०८० मंसिरमा भएको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा प्रदेश सरकार यातायात क्षेत्रका विकृति र सिन्डिकेट अन्त्यको दिशामा अघि बढेको हो ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले विशेषगरी काठमाडौँ उपत्यकाका यातायात सेवा कार्यालयका सेवालाई एकीकृत र व्यवस्थित गर्ने गरी काम गरिरहेको बताएको छ । 

कार्यालयहरूमा हुने सवारी चालक अनुमति पत्रको लामो लाइनको व्यवस्थापन गर्न मन्त्रालयले सवारी चालक अनुमति पत्रको सेवा थप गर्दै नयाँ ट्रायल सेन्टर सञ्चालनका लागि ठेक्का आह्वान गर्न पत्राचार गरेको हो । सोही पत्राचारअनुसार कार्यालयहरूले ट्रायल सेन्टरहरू चलाउन ठेक्का आह्वान गरिरहेका छन् । 

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवामा वर्षौँदेखि कायम सीमित ट्रायल सेन्टरको ‘सिन्डिकेट’ अन्त्य गर्ने गरी सरकारको निर्देशनमा मन्त्रालयले कार्यालयहरूलाई आवश्यक प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो । सेवाग्राहीको अत्यधिक चाप र सीमित सेवा प्रदायकको एकाधिकारलाई तोड्दै प्रदेश सरकारले काठमाडौँ उपत्यका र आसपासका जिल्लामा नयाँ ट्रायल सेन्टर थप गर्ने र सेवा एकीकृत गर्ने प्रक्रिया अघि बढाएको हो । 

यसअघि सीमित स्थानबाट मात्रै हुँदै आएको लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा (ट्रायल) अब बालाजु, कोटेश्वर र बनेपाबाट पनि सञ्चालनको तयारी गरिएको मन्त्रालयका सूचना अधिकारी विमल कुमार भट्टराईले जानकारी दिए ।

सेवाग्राहीको सहजताका लागि २०८० को मन्त्रिपरिषद्ले संगठन संरचना स्वीकृत गर्दै बनेपामा नयाँ कार्यालय खडा गर्ने र बालाजु र कोटेश्वरमा सेवा विस्तार गर्ने गरी संगठन संरचना तेरिज स्वीकृत गरेको उनले बताए । सोहीअनुसार यातायात व्यवस्था कार्यालय बालाजु (तत्कालीन सानोभर्‍याङको कार्यालय) ले लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालनका लागि औपचारिक रूपमा प्रक्रिया सुरु गरेको उनले बताए ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै ट्रायल सेन्टर सञ्चालनका लागि इच्छुक संस्थाहरूबाट प्रस्ताव आह्वान गरेको उनले बताए । 

‘यसअघि सो कार्यालयले सवारी दर्ता तथा नवीकरण र कर संकलन मात्र गर्दै आएकोमा अब ‘फुल फेज’ मा सेवा दिनेगरी अघि बढेको हो,’ उनले भने, ‘बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय र निर्देशनअनुसार कार्यालयमा सबै सेवा दिन सक्ने गरी प्रक्रिया अघि बढाइएको हो । सोहीअनुसार हामीले ट्रायल सेन्टर छनोटको प्रक्रिया अगाडि बढाएका हौँ । यससँगै बनेपाको कार्यालयले पनि सेवा सञ्चालन गर्नेगरी ट्रायल सेन्टर छनोट गरी सम्झौतासमेत गरिसकेको छ ।’ 

कोटेश्वरमा पनि सेवा विस्तारको तयारी

सेवाग्राहीलाई लक्षित गर्दै काभ्रेको बनेपास्थित यातायात कार्यालय स्थापना गरेर लाइसेन्सको ट्रायल सुरु गर्ने तयारी अन्तिम चरणमा पुर्‍याइएको उनले बताए । कार्यालयले सुरुमा सवारी दर्ता र नवीकरणको सेवा दिएकोमा अब छिट्टै लाइसेन्सको ट्रायल पनि आफ्नै क्षेत्रबाट लिने गरी प्रक्रिया अघि बढाएको उनको भनाइ छ । 

यसैगरी, भक्तपुरको सल्लाघारीमा रहेको यातायात कार्यालयलाई काठमाडौँको कोटेश्वरमा स्थानान्तरण गरी सेवा विस्तार गर्ने काम भइरहेको उनले बताए । उनका अनुसार सवारी साधनसम्बन्धी कामका अलावा लाइसेन्सको सम्पूर्ण सेवा पनि प्रदान गरिनेछ । यसका लागि पनि नयाँ ट्रायल सेन्टरको व्यवस्थापनको कामको तयारी भइरहेको उनले बताए । 

कुन कुन कार्यालयमा के सेवा दिइन्छ ? 

उनका अनुसार साविकको यातायात व्यवस्था विभाग मातहत रहेका कार्यालयहरू प्रदेशमा समायोजन भई आएकालाई प्रदेश सरकारले २०८० मंसिरमा गरेको संगठन संरचना सर्वेक्षणअनुसार ‘एकीकृत सेवा केन्द्र’को रूपमा विकास गर्न लागिएको हो । जसअनुसार अब एउटै कार्यालयबाट सवारी दर्ता, नवीकरण र लाइसेन्सको काम गर्नेगरी तयारी गरिएको उनले बताए । 

मन्त्रालय मातहत रहेका १२ कार्यालयमध्ये ३ वटा कार्यालय पछि थपिएका हुन् भने अन्य ९ कार्यालय साविककै विभागअन्तर्गतका हुन् । प्रदेश सरकारले २०७८ देखि २०८० मा यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडौँ, यातायात व्यवस्था सेवा कार्यालय चितवन, यातायात व्यवस्था सेवा कार्यालय खुर्कोट सिन्धुली, यातायात व्यवस्था सेवा कार्यालय काभ्रे बनेपा थप गर्ने र सेवा विस्तार गर्ने निर्णय गरेको हो । सोबाहेक सबै कार्यालय पुराना हुन् । 

यातायात व्यवस्था कार्यालय साना र ठुला सवारी एकान्तकुना ललितपुरले चारपाङ्ग्रे सवारीको दर्ता, नवीकरण तथा सवारी करसम्बन्धी काम गर्छ भने यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडौँले मोटरसाइकलको दर्ता तथा नवीकरण र करसम्बन्धी काम गर्छ । 

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुना ललितपुर, यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र राधेराधे भक्तपुर, यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र चाबहिल काठमाडौँ, यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठुलोभर्‍याङ काठमाडौँले सवारी चालक अनुमतिपत्रको काम गर्छ ।

यसबाहेक यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुर, यातायात व्यवस्था कार्यालय भरतपुर चितवन, यातायात व्यवस्था कार्यालय बनेपा काभ्रे, यातायात व्यवस्था कार्यालय खुर्कोट सिन्धुली, यातायात व्यवस्था कार्यालय कोटेश्वर काठमाडौँ, यातायात व्यवस्था कार्यालय बालाजु काठमाडौँले सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र लगायतको काम गर्दछ । 

कुन ट्रायल सेन्टरको सम्झौता कति अवधिको ? 

सवारी चालक अनुमतिपत्रसम्बन्धी काम गर्ने अधिकांश कार्यालयले ५ देखि १० वर्षसम्म ट्रायल सेन्टरसँग सम्झौता गरेका छन् । मन्त्रालयका सूचना अधिकारी भट्टराईका अनुसार यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुना ललितपुरले २०७५ मा १० वर्षका लागि ट्रायल सेन्टर सञ्चालनको अनुमति दिएको छ । यो ट्रायल सेन्टर सबैभन्दा पुरानो हो । 

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र राधेराधे भक्तपुरले २०५७ मा नै १० वर्षका लागि इजी वे ड्राइभिङ सेन्टरसँग १० वर्षका लागि सम्झौता गरेको उनले बताए । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र चाबहिल काठमाडौँले नेपाल ड्राइभिङ स्कुलसँग २०७८ मा ५ वर्षको सम्झौता गरेको छ भने यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठुलोभर्‍याङ काठमाडौँले भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरसँग २०७६ मा १० वर्षका लागि ट्रायल सेन्टर सञ्चालनको सम्झौता गरेको छ । 

यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले बागेश्वरी ड्राइभिङ सेन्टरसँग २०७६ मा १० वर्षका लागि ट्रायल सेन्टर सञ्चालनको तयारी गरेको छ भने यातायात व्यवस्था कार्यालय भरतपुर चितवनले २०७९ मा ५ वर्षका लागि, यातायात व्यवस्था कार्यालय बनेपाले २०८२ मा ५ वर्षका लागि सुमन ड्राइभिङ स्कुलसँग सम्झौता गरेको छ । यातायात व्यवस्था कार्यालय खुर्कोटले २०८० मा ५ वर्षका लागि ट्रायल सेन्टर चलाउन सम्झौता गरेको छ । 

कोटेश्वरको कार्यालय सार्न नसक्दा सेवा दिन सकिएनः सचिव पुरी 

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बाबुराम पुरीले यातायात सेवालाई चुस्त बनाउन र काठमाडौँ उपत्यकामा लाइसेन्स सेवा विस्तार गर्न निर्णय भए पनि कार्यालय व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताए । निर्णय भएको दुई वर्ष बितिसक्दा पनि कार्यक्षेत्रअनुसार सेवा प्रवाह कार्यान्वयन हुन नसकेको उनले बताए । 

भक्तपुरको सल्लाघारीमा रहेको सेवा कार्यालयलाई कोटेश्वर वा तीनकुने क्षेत्रमा सारेर पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना भए पनि ‘सार्न नसकेरै’ रोकिएको सचिव पुरीको भनाइ छ । २०८० सालमै संगठन संरचना स्वीकृत भए पनि विभिन्न अवरोधका कारण कार्यालय सार्न नसकिएको उनले बताए । सचिव पुरीका अनुसार २०८० मंसिर १३ गते स्वीकृत भएको मन्त्रालयको संगठन संरचनाअनुसार साविकका सेवा कार्यालयहरू (जसले ब्लुबुक नवीकरण र कर लिने काम मात्र गर्थे) लाई पूर्णकालीन यातायात कार्यालयमा स्तरोन्नति गर्ने निर्णय भएको थियो । 

‘मन्त्रालयको निर्णयअनुसार सानोभर्‍याङको कार्यालय बालाजु र सल्लाघारीको कार्यालय कोटेश्वर–तीनकुने क्षेत्रमा सर्नुपर्ने हुन्छ,’ सचिव पुरीले भने, ‘सल्लाघारीको अफिसको ठेगाना कागजी रूपमा कोटेश्वर–तीनकुने भनेर लेखिएको छ । प्रदेश सरकारले स्वीकृत गरेको संरचनामा पनि त्यही छ । तर, अफिस सार्न नसकेर अहिलेसम्म सल्लाघारीमै बसिरहेको छ ।’ 

यातायात सेवामा देखिएको ढिलासुस्ती अन्त्य गर्न मन्त्रालयले आवश्यक पहल गरिरहेको उनले बताए । सेवाग्राहीको सहजताका लागि मन्त्रालयले आवश्यक निर्णय पूरा गरी लाइसेन्सको परीक्षा प्रक्रिया भने छिटो बनाएको उनले बताए । सरकारले सेवाग्राहीलाई पायक पर्ने स्थानमा सेवा विस्तार गर्ने नीति लिए पनि कार्यान्वयन तहमा केही व्यावहारिक समस्या रहेकाले हल गर्न मन्त्रालय सक्रिय रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप