शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ओली फेरि अध्यक्ष बने, अदालतले रवि लामिछानेलाई रिहा गर्न आदेश दियो

बिहीबार, ०३ पुस २०८२, २२ : ००
बिहीबार, ०३ पुस २०८२

काठमाडौँ । आज मिति २०८२ साल पुस महिनाको ३ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

१. एमाले अध्यक्षमा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनी प्रतिस्पर्धी ईश्वर पोखरेललाई हराउँदै १ हजार ६६३ मत पाएर विजयी भएका हुन् ।  

उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् । निर्वाचनमा २२२७ मत खसेको थियो।

२. ओलीको टीम

नेकपा एमालेको ११औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न भएको छ । शनिबार भक्तपुरमा उद्घाटनपछि आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र भएर त्यहीँ निर्वाचन भएको थियो ।

निर्वाचनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने पदाधिकारी र केन्द्रीय सदस्यमा पनि ओली प्यानल हाबी भएको छ । निर्वाचनबाट पदाधिकारीसहित ३०१ जना निर्वाचित भएका छन् ।

सबै अपडेट यहाँबाट

३. ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण वा कानुनी प्रहार भए देश ठप्प पार्ने चेतावनी दिएका छन्।

बिहीबार काठमाडौँमा आयोजित शपथग्रहण समारोहलगत्तै कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्वलाई छुन खोज्नु संसारकै सबैभन्दा महँगो पर्ने दाबी गरेका हुन् ।

 उनले पार्टी नेतृत्वविरुद्ध भइरहेका विभिन्न प्रचार र हल्लाहरूलाई पञ्चायतकालीन कूकर्मको संज्ञा दिँदै त्यसको सशक्त प्रतिकार गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।

४. रविलाई रिहा गर्न आदेश

रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

५. रास्वपाको प्रतिक्रिया

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएपछि पार्टीले अदालतले प्रतिशोध खारेज गरेको प्रतिक्रिया दिएको छ ।

पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले अदालतको घेराभित्र राजनीतिक प्रतिशोध खारेज भएकाले स्वच्छ राजनीति अगाडि बढाउने प्रतिक्रिया दिए ।

 

६. आयोगको म्याद थप

सरकारले गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

७. कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन घोषित मिति पुस २६ देखि २८ गतेभित्र नहुने लगभग निश्चित छ ।

मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले कार्यतालिकासहित पुस अन्तिममा महाधिवेशन गर्ने निर्णय गरे पनि सोही तालिकाअनुसार काम हुन नसक्दा निर्धारित समयमा महाधिवेशन हुने सम्भावना क्षीण बन्दै गएको हो ।

८. अध्यादेश सिफाारिस

सरकारले प्रतिनिधि सभा निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०७८ सालको जनगणनाको अन्तिम प्रतिवेदनअनुसार विभिन्न क्लस्टरको जनसंख्या प्रतिशत मिलान गर्न निर्वाचन ऐन संशोधन गर्ने निर्णय गरेको हो।

९. प्रभु बैंक प्रकरण

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन विगत १९ दिनदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् ।

प्रभु मनि ट्रान्सफरको रकम हिनामिनासँग जोडिएको एउटा पुरानो प्रकरणलाई लिएर सीआईबीले गत मङ्सिर १४ गते उनलाई नियन्त्रणमा लिएको थियो । एउटा ठुलो वाणिज्य बैंकका बहालवाला सीईओ यति लामो समयसम्म हिरासतमा हुँदा बैंकिङ क्षेत्र तरङ्गित छ ।

१०. सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप