अदालतले के आधारमा दियो रवि लामिछानेलाई रिहा गर्न आदेश ?
सारांश
- उच्च अदालतले रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ।
- अदालतले लामिछानेले पेश गरेको बैंक ग्यारेन्टीलाई स्वीकार गर्दै निक्षेपकर्ताको रकम फिर्ताको सुनिश्चितता गरेको छ।
- अदालतले विदेश भ्रमणमा जानु परेमा जानकारी गराउनु पर्ने र थप दायित्व भएमा रकम तिर्नुपर्ने शर्त राखेको छ।
काठमाडौँ । सहकारी ठगी तथा संगठित अपराध कसुरमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामुक्त गर्न आदेश दिएको छ।बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
जिल्ला अदालत रुपन्देहीले यसअघि गरेको थुनामा पठाउने आदेशलाई बदर गर्दै उच्च अदालतले लामिछानेले पेस गरेको बैंक ग्यारेन्टीलाई स्वीकार गरेको छ। अदालतले लामिछानेलाई रिहा गर्नुको मुख्य आधार ‘निक्षेपकर्ताको रकम फिर्ताको सुनिश्चितता’ लाई मानेको छ।
लामिछानेले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट प्रवाह भएको रकममध्ये आफ्नो भागमा पर्ने (दामासाहीले हुने) बिगो बराबरको बैंक ग्यारेन्टी राखी पाऊँ भनी निवेदन दिएका थिए। अदालतले प्रतिवादीबाट बिगोको हकमा दामासाहीले हुने रकमको जमानत प्राप्त हुँदा बचतकर्ताको बिगो सुरक्षित हुने र निक्षेपकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता भएको ठहर गरेको छ।
लामिछानेले निवेदनसाथ पेस गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत (ग्यारेन्टी)लाई अदालतले बिगोका हकमा सुरक्षित राख्ने आदेश दिएको छ। निक्षेपकर्ताको रकम सुरक्षित भइसकेको अवस्थामा थुनामै राखेर मुद्दा चलाउनु नपर्ने तर्कसहित अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ बमोजिम उनलाई रिहा गर्ने निर्णय गरेको हो।
यद्यपि, अदालतले लामिछानेलाई रिहा गर्दा केही सर्तहरू तोकेको छ। उनले व्यक्तिगत वा संस्थागत रूपमा विदेश भ्रमणमा जानुपरेमा अदालतलाई पूर्वजानकारी दिनुपर्नेछ। साथै, अन्तिम फैसला हुँदा थप दायित्व सिर्जना भएमा सो रकम तिर्न बुझाउन मञ्जुर भई कागज गराएर मात्र उनलाई थुनामुक्त गर्न भनिएको छ ।
यसैगरी, सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको हकमा भने अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै मिसिल पुनः जिल्ला अदालतमै फिर्ता पठाएको छ। जोशीका कानुन व्यवसायीले बहसका क्रममा बैंक जमानतको छायाप्रति मात्र पेस गरेको हुँदा, उनले सक्कल प्रमाणसहित निवेदन दिएमा पुनः विचार गर्न भन्दै अदालतले मिसिल सुरु जिल्ला अदालत रुपन्देहीमा पठाउने आदेश दिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण