शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुर उड्यो

शुक्रबार, ०४ पुस २०८२, १४ : ०८
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • भैरहवा विमानस्थलमा हुस्सुका कारण रास्वपा सभापति रवि लामिछानेलाई भरतपुर हुँदै रुपन्देहीतर्फ लगियो।
  • उच्च अदालतको आदेशानुसार लामिछानेले कागज गर्नुपर्ने भएकाले उनलाई नख्खु कारागारबाट रुपन्देही लगियो।
  • सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा लामिछानेले धरौटी र बैंक जमानत बुझाएपछि रिहा हुनेछन्।

काठमाडौँ । भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि रास्वपा सभापति रवि लामिछानेलाई भरतपुर हुँदै रुपन्देहीतर्फ लगिएको छ । लामिछाने सवार बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर उडेको छ ।

केन्द्रीय कारागारका डीएसपी जेसी शाहले लामिछानेलाई लिएर गएका हुन् । शुक्रबार बिहान ८ बजे नै विमानस्थलमा उपस्थित गराइए पनि भैरहवाको मौसम नखुलेका कारण लामिछाने लामो समय विमानस्थलमा रोकिएका थिए ।  

बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्ववय वासुदेव आचार्य र तेजनारायण पौडेलले उनलाई ३ वटा सर्त पुरा गरेर छाड्न आदेश गरेका थिए । आदेशको अन्तिम बुँदामा रविलाई कागज गराउने विषय उल्लेख छ ।

उच्च अदालतको आदेश अनुसार लामिछाने कागज गर्न आफैँ रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएपछि उनलाई ललितपुरको नख्खु कारागारबाट रुपन्देहीतर्फ लगिएको हो । उच्चको आदेशमा भनिएको छ, ‘फैसला हुँदा बिगोको हकमा थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउन मन्जुर भए, सोको कागज गरी प्रस्तुत मुद्दाको रोहबाट थुनामुक्त गर्नु ।’  

आदेश अनुसार लामिछानेलाई कागज गराएर मात्र रिहा गरिने रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले रातोपाटीलाई बताए । उनले भने– ‘उहाँलाई उपस्थित गराएर कागज गरेपछि मात्र थुनामुक्त गर्न सकिन्छ ।’

बुटवल स्थित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न कसुरमा लामिछानेले यसअघि २०८१ माघमा १ करोड धरौटी राखेका थिए । सो धरौटी फुकुवा भैसकेको हुनाले उनले फेरि धरौटी रकम जम्मा गर्नुपर्नेछ ।

लामिछानेले बिगोको हकमा दामासाहीले हुने रकम सुनिश्चितता गर्ने भन्दै बैंक जमानत सहित उच्च अदालतमा निवेदन दिएका थिए । सो जमान उच्च अदालतले सर्तसहित स्विकार्न आदेश गरेको छ ।

निवेदन साथ पेस गरेको बैक जमानत २ करोड ७४ लाख ८४ हजार रकम प्रमाणीकरण गरेर सनाखत गरेपछि लामिछाने रिहा हुनेछन् । उच्च अदालतले रविलाई विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्व जानकारी दिनुपर्ने आदेश गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप