शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
गण्डकी प्रदेश

कांग्रेसको उम्मेदवार सिफारिस : प्रत्यक्षतर्फ अधिकांश पुरुषको नाम, समानुपातिकमा महिलाको लर्को

शुक्रबार, ०४ पुस २०८२, १४ : ५४
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • नेपाली कांग्रेस गण्डकी प्रदेश कमिटीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आकांक्षीहरूको नाम संकलन गरेको छ।
  • प्रत्यक्षतर्फ पुरुषको संख्या बढी देखिएको छ भने समानुपातिकतर्फ महिलाको संख्या बढी रहेको छ।
  • महिलाहरूमा प्रत्यक्ष चुनाव लड्न मनोवैज्ञानिक त्रास रहेको र टिकट नपाइने मानसिकताले गर्दा आकांक्षी कम देखिएका छन्।

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कमिटीले फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने आकाङ्क्षीको नाम तल्लो कमिटीबाट संकलन गरेको छ ।  मनाङ र मुस्ताङबाहेक जिल्लाका क्षेत्रीय समितिबाट सिफारिस भएका नाम जिल्ला हुँदै प्रदेशमा पुगेको हो। 

मनाङ र मुस्ताङको प्रतिनिधि सभा प्रत्यक्षतर्फको नाम भने टुंगिन बाँकी रहेको कांग्रेस प्रदेश कार्यालयले जनाएको छ । कार्यालयमा सङ्कलन भएको नाम अनुसार, प्रत्यक्षतर्फका चुनावमा पुरुष हाबी भएका छन् भने महिलाहरू समानुपातिकतर्फको निर्वाचनमा बढी आकाङ्क्षी देखिएका छन् ।

प्रत्यक्षतर्फ १ सय ६३ जनाको नाम सिफारिस हुँदा महिला जम्मा १५ जना छन् । गोरखा क्षेत्र नम्बर-१ बाट जानुका पन्त, कास्की-१ बाट अप्सरा श्रेष्ठ र सरिता कार्की (लोभिसा), २ बाट लक्ष्मी पाण्डे र लक्ष्मी कार्की, ३ बाट सीता गुरुङको नाम सिफारिस भएको छ । यस्तै, तनहुँ-१ बाट सरीता गुरुङ, नवलपुर-१ बाट सरस्वती तिमिल्सिना, स्याङजा-१ बाट बन्दना लम्साल, २ बाट माया राना, बागलुङ- १ बाट सीता देवी सापकोटा, २ बाट अधिवक्ता गीता श्रीस काउचा तथा पर्वतबाट सीता काफ्ले, राधा कुवँर क्षेत्री र मुना भुषालको नाम सिफारिस भएको छ ।

समानुपातिकमा भने ६३ जनाको नाम क्षेत्रबाट जिल्ला हुँदै प्रदेशमा सिफारिस भएको छ । जसमा अधिकांश महिलाकै नाम छ । अघिल्लो निर्वाचनमा गण्डकीको कुनैपनि निर्वाचन क्षेत्रबाट कांग्रेसका महिला प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका थिएनन् । राष्ट्रिय सभामा पनि ५० जनाको नाम सङ्कलन गर्दा महिला ७ जनाले मात्रै आकाङ्क्षा देखाएका छन् । राष्ट्रिय सभाका गण्डकीबाट खुला १ जना र महिलाबाट १ जनाको सिट रिक्त हुँदैछ । त्यसैका लागि कांग्रेसले उम्मेदवारको खोजी गरेको हो ।

प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षमा गण्डकीका १८ वटा निर्वाचन क्षेत्र छन् । ७ क्षेत्रबाट महिलाको नाम सिफारिस नै हुन सकेन । म्याग्दी, नवलपुर- २, तनहुँ- २, लमजुङ र गोरखा- २ बाट महिला शून्य सिफारिस भएका छन् । मनाङ र मुस्ताङले पनि महिलालाई टिकट दिने सम्भावना देखिँदैन । 

त्यसमाथि दलित र अन्य क्लष्टरबाट भने महिलाको उपस्थिति लगभग छैन । आदिवासी जनजातिबाट ५ जनाको नाम छ भने १० जना खस आर्य समुदायका हुन् । दलित क्लष्टरबाट प्रत्यक्ष आकाङ्क्षी छैनन् । कास्की- १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने महिलालाई उम्मेदवारी दिनका लागि प्रोत्साहन गरेपनि उनीहरूले नै आकाङ्क्षा नदेखाएका बताउँछन् ।

‘हामीले खुला छोडेर उम्मेदवारको नाम सङ्कलन गरेका हौँ । कसैले कसैलाई अवरोध गरेको अवस्था छैन,’ उनले भने, ‘कसैलाई त नाम टिपाउनुस्, चुनाव लड्नुपर्छ भनेर पनि प्रोत्साहन गरेका हौँ । तर अपेक्षाकृत आकाङ्क्षी आएनन् ।’ प्रतिनिधि सभा तर्फ नै एमालेबाट कास्की-२ मा विद्या भट्टराई प्रत्यक्ष चुनाव लडेर निर्वाचित भएकी थिइन् । अन्य सबै क्षेत्रमा पुरुष निर्वाचित भएका हुन् । पुराना र स्थापित राजनीतिक दलहरूले महिलालाई २०७९ कै निर्वाचनमा पनि टिकट दिएको थिएन । प्रदेश सभातर्फ एमालेबाटै २ जनाले प्रत्यक्ष निर्वाचन जितेर आएका छन् ।

स्याङ्जाबाट सीताकुमारी सुन्दास र नवलपुरबाट पद्या जिसी श्रेष्ठले प्रत्यक्ष निर्वाचन जितेर प्रदेश सांसद बनेका हुन् । त्यसो त, पालिकामा पनि महिलाले नेतृत्व गरेको अवस्था धेरै छैन । नवलपुरको हुप्सेकोट गाउँपालिकामा लक्ष्मीदेवी पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित हुँदा बागलुङको बडिगाड गाउँपालिकामा गण्डकी थापा निर्वाचित भइन् ।

 पर्वतको मोदी गाउँपालिकामा हिरादेवी शर्माले चुनाव जितिन् । पाण्डे र थापा कांग्रेसका हुन् भने शर्मा एमाले । महिलाहरूमा प्रत्यक्ष चुनाव लड्न सुरुदेखि नै मनोवैज्ञानिक त्रास भरिएको गोरखा क्षेत्र नम्बर- १ बाट प्रत्यक्ष सिफारिस भएकी जानुका पन्तको तर्क छ ।

 ‘सक्षम भएको मान्छेलाई पनि टिकट पाइँदैन भन्ने मानसिकताले घर गरेको छ । फिल्डमा जाँदा महिला–महिला प्रतिस्पर्धा भए ठिकै छ, नत्र पुरुषसँग लड्न कहाँ सकिन्छ र भन्ने धारणा पनि भेटिन्छ,’ उनले भनिन्, ‘एक महिला आफै तयार छैनन् । अर्को चाहिँ तयार भएका महिलाहरूलाई पनि मनोवैज्ञानिक रूपमै कमजोर बनाउने काम गरिन्छ ।’ यद्यपि, यस वर्षको आकाङ्क्षी सङ्कलन गर्दा भने क्षेत्रबाट कसैले दबाब नदिएको उनले बताइन् ।

गण्डकी प्रदेशकी पूर्व सांसद तथा नवलपुरकी नेतृ ओमकला चालिसे टिकट नपाउने देखेर नै महिलाहरूले आफ्नो नाम प्रत्यक्षमा नटिपाएका बताउँछिन् । ‘पार्टीले एक ठाउँमा मात्रै नाम सिफारिस गर्न भनेर परिपत्र पठाएको छ । प्रत्यक्ष टिकट पाइँदैन केरे भनेर महिलाहरूले समानुपातिकमा मात्रै टिपाए,’ उनले भनिन्, ‘पुरुष नेताहरूले जरा गाडेर बसेका छन् । सजिलै टिकट पाउने अवस्था पनि छैन । यस्तो अवस्थामा जोखिम मोल्न नचाहेका हुन् ।’ उनी २०६४ मा नवलपुरबाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप