शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेशमा सभामुख निर्वाचनको तालिका सार्वजनिक

शुक्रबार, ०४ पुस २०८२, २२ : ३१
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • मधेस प्रदेशमा सभामुखको निर्वाचनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ।
  • सभामुख निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता गरिनेछ, भने आइतबार निर्वाचन हुनेछ।
  • यसअघि सभामुख रहेका रामचन्द्र मण्डल पदमुक्त भएपछि नयाँ सभामुखको निर्वाचन हुन लागेको हो।

जनकपुरधाम । मधेस प्रदेशमा सभामुखको निर्वाचनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। शुक्रबार निर्वाचन तालिका सार्वजनिक गरिएको हो ।

प्रदेशसभा सचिवालयका अनुसार आइतबार हुने सभामुख निर्वाचनका लागि शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गर्न सकिनेछ।

प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ अनुसार उपसभामुख बबिता राउत ईशरले सभामुख निर्वाचनको मिति र समय निर्धारण गरेपछि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो।

प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाका अनुसार दर्ता भएका उम्मेदवारहरूको सूची शनिबार नै दिउँसो साढे ३ बजे दर्ता क्रमअनुसार प्रकाशन गरिनेछ।

सार्वजनिक सूचीका आधारमा आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तावकले उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गर्नेछन् भने समर्थकले समर्थन जनाउनेछन्। उम्मेदवारमाथि सामूहिक छलफलपछि दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गरिने कार्यतालिका रहेको सचिवालयले जनाएको छ।

उम्मेदवारी दर्ता गर्दा प्रस्तावित उम्मेदवारले आफ्नो एकप्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसअघि सभामुख रहेका रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि उनी पदमुक्त भएका थिए।

सात दलीय गठबन्धनबिच भएको सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालले सभामुख पाउने सहमति भएको बताइए पनि यसबारे औपचारिक निर्णय भने सार्वजनिक भइसकेको छैन।

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप