शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

साउदी अरबमा अब गैरमुस्लिम विदेशीले रक्सी खरिद गर्न सक्ने

आइतबार, ०६ पुस २०८२, १६ : २१
आइतबार, ०६ पुस २०८२

सारांश

  • साउदी अरबले गैर-मुस्लिम विदेशीहरूलाई रक्सी खरिद गर्न अनुमति दिएको छ, जसले गर्दा स्टोरमा लाइन लागेको छ।
  • १९५० को दशकदेखि रक्सीमा प्रतिबन्ध लगाएको साउदी अरबमा, अब गैर-मुस्लिम विदेशीहरूले रक्सी किन्न पाउनेछन्।
  • क्राउन प्रिन्स मोहम्मद बिन सलमानको उदारकरण नीतिले पर्यटन र अन्तर्राष्ट्रिय व्यापारलाई बढावा दिने लक्ष्य राखेको छ।

रियाद । साउदी अरबले आफ्नो मदिरा नीतिमा चुपचाप परिवर्तन गर्दै गैरमुस्लिम विदेशी नागरिकहरूलाई रक्सी खरिद गर्न अनुमति दिएको छ । जसका कारण रियादको डिप्लोम्याटिक क्वार्टरमा अवस्थित एक मात्र अधिकृत स्टोरमा मान्छेहरूको लाइन लागेको छ । 

साउदी अरबमा रक्सी बेच्न र खरिद गर्न प्रतिबन्ध थियो, तर अब त्यहाँ बस्ने गैरमुस्लिम विदेशीहरूले रक्सी किन्न सक्छन् । यद्यपि यस निर्णयको कुनै आधिकारिक घोषणा भने नगरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

१९५० को दशकमा लागेको थियो प्रतिबन्ध

यो पसल जनवरी २०२४ मा गैरमुस्लिम कूटनीतिज्ञहरूका लागि खोलिएको थियो । नयाँ नियमअनुसार प्रिमियम रेसिडेन्सी भएका गैरमुस्लिम विदेशीहरूले रक्सी किन्न सक्छन् । यो रेसिडेन्सी परमिट विशेष सीप भएका विदेशीहरू, लगानीकर्ताहरू र उद्यमीहरूलाई दिइन्छ । इस्लामको सबैभन्दा पवित्र स्थलहरूको घर साउदी अरबले १९५० को दशकको सुरुदेखि नै रक्सीमा प्रतिबन्ध लगाएको थियो । यस पसललाई रक्सीको नियन्त्रित बिक्रीको सावधानीपूर्वक परीक्षण गर्ने एक तरिकाका रूपमा हेरिएको छ । 

साउदी अरबका वास्तविक शासक, क्राउन प्रिन्स मोहम्मद बिन सलमान र उनका पिता राजा सलमानले साम्राज्यमा एक उदारकरण नीति अपनाएका छन्, जसको लक्ष्य देशमा पर्यटन आकर्षित गर्ने, अन्तर्राष्ट्रिय व्यापारलाई बढावा दिने र कच्चा तेलमा आर्थिक निर्भरता कम गर्ने हो ।

इस्लामी शरिया कानुनको पालना गर्ने यस देशमा सिनेमाघर खोलिएका छन्, महिलाहरूलाई सवारी साधन चलाउन अनुमति दिइएको छ र ठुला संगीत समारोहहरूको आयोजना गरिएको छ । यद्यपि राजनीतिक भाषण र असहमति व्यक्त गर्न अहिले पनि सख्त अपराध मानिन्छ, जसका लागि मृत्युदण्डसम्मको सजाय तोकिएको छ । 

पसलमा केके वर्जित छन् ? 

यो पसल आज पनि आम जनताका लागि प्रतिबन्धित छ । कुनै नाम वा बोर्ड नभएको यो पसल ड्युटी फ्री स्टोरजस्तो देखिन्छ, जसको स्वामित्व आधिकारिक रूपमा गोप्य राखिएको छ । यहाँ सुरक्षाको अत्यन्त कडा प्रबन्ध गरिएको छ । प्रत्येक आगन्तुकको योग्यता जाँच गरिन्छ र प्रवेश गर्नुअघि उनीहरूको गहन तलाशी लिइन्छ । स्टोरभित्र मोबाइल फोन र क्यामेरा पूर्ण रूपमा वर्जित छन् र सुरक्षाकर्मीले स्मार्ट चस्मासमेत जाँच गरिरहेका हुन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप