साढे १७ करोडको लागतमा ठडियो मध्यविन्दु नगर अस्पताल, अब गाउँमै विशेषज्ञ सेवा
सारांश
- नवलपरासीको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाखको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ।
- २०७९ मंसिरमा शिलान्यास भई ३ वर्षभित्रै अस्पताल निर्माण सम्पन्न भएको हो, जहाँ ओपिडी, ल्याब, र शल्यक्रिया सेवाहरू उपलब्ध छन्।
- अस्पतालले मध्यविन्दुसहित आसपासका क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नेछ, र दुर्घटनाका घाइतेलाई समेत उपचारमा सहयोग गर्नेछ।
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजार रुपैयाँको लगानीमा सुविधा सम्पन्न नगर अस्पताल भवन निर्माण भएको छ। चोरमारामा निर्माण गरिएको उक्त १५ शय्याको अस्पताल भवनको आइतबार औपचारिक उद्घाटन गरिएको हो।
२०७९ मङ्सिरमा शिलान्यास गरिएको यो भवन तीन वर्षभित्रै निर्माण सम्पन्न भएको हो। चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी निर्माण गरिएको यस अस्पतालमा ४२ वटा कोठाहरू रहेका छन्। दुई तले भवनमा बहिरङ्ग सेवा (ओपिडी), अत्याधुनिक ल्याब, अपरेसन थिएटर, फार्मेसी, वार्ड र चिकित्सक आवासको व्यवस्था छ। नवनिर्मित भवनबाट सेवा सुरु भएसँगै यस क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
नगर प्रमुख भीमलाल अधिकारीका अनुसार यसै महिनादेखि अस्पतालमा एमडिजिपीसहित दैनिक रूपमा विशेषज्ञ सेवाहरू प्रदान गरिनेछ। जसमा बालरोग, फिजियोथेरापी र हाडजोर्नी जस्ता सेवाहरू समावेश छन्। अस्पतालमा शल्यक्रियासहितको आँखा उपचार सेवासमेत सुरु भइसकेको छ। यस अस्पतालबाट मध्यविन्दु नगरपालिकाका साथै विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका बासिन्दाले समेत लाभ उठाउन सक्नेछन्।
पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको यो अस्पतालले सडक दुर्घटनाका घाइतेहरूलाई तत्काल उपचार दिन महत्वपूर्ण भूमिका खेल्ने अस्पतालका प्रमुख अमरेशचन्द्र साहले बताए। हाल यस अस्पतालमा दैनिक करिब तीन सय बिरामीले सेवा लिइरहेका छन्। सुविधा सम्पन्न पूर्वाधार बनेसँगै अब गुणस्तरीय स्वास्थ्य सेवालाई थप विस्तार गर्दै लैजाने नगरपालिकाको योजना छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण