शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गीतिकविता

बहिनीको आँसु खसेछ

सोमबार, ०७ पुस २०८२, ११ : ४६
सोमबार, ०७ पुस २०८२

बहिनीको आँसु खसेछ
साइत माला नगाँस्दै
लाग्नु छ भोलि उकालो
बिहान भाले नबास्दै

ढकने, पुवा, कुराउनी
खट्टे र गुन्द्रुक झोलामा
तुइन छ, त्यसमै तर्नु छ
पुल छैन हाम्रा खोलामा
नाघ्नु छ भञ्ज्याङदेउराली
थुम्कामा घाम नहाँस्दै
लाग्नु छ भोलि उकालो
बिहान भाले नबास्दै

भारी छ मन, अघोरै
नबजाऊ दाजै पिपिरी
सुक्दैन गह आमाको
साहूको रिन नतिरी
फर्किनु पर्छ भित्तामा
बैंकले भाका नटाँस्दै
लाग्नु छ भोलि उकालो
बिहान भाले नबास्दै

बहिनीको आँसु खसेछ
साइत माला नगाँस्दै
लाग्नु छ भोलि उकालो
बिहान भाले नबास्दै

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ईश्वर पोखरेल
ईश्वर पोखरेल
लेखकबाट थप