बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
व्यवसाय पुनर्जागरण

कर्मचारीलाई ढाडस दिँदै भाटभटेनी पुनर्निर्माणमा खटिएका मीनबहादुर

‘भाटभटेनी देशकै सम्पत्ति हो, अब यस्तो घटना कहिल्यै नघटोस्’
सोमबार, ०७ पुस २०८२, २० : ३०
सोमबार, ०७ पुस २०८२

काठमाडौं । २०४१ जेठ ४ गते । यो मितिलाई मीनबहादुर गुरुङ बिर्सिन सक्दैनन् । बिर्सुन् पनि कसरी ? खोटाङका मीनबहादुरले श्रीमतीलाई दिएको गहना बेचेर भाटभटेनी सुपरमार्केटको सुरुवात गरेका थिए । ३५ हजार रुपैयाँमा नक्सालको एउटा सटरबाट सुरु भएको भाटभटेनीले अहिले देशमा सुपरस्टोरको साम्राज्य नै खडा गरेको छ । आज भाटभटेनीका शाखा देशव्यापी झण्डै तीन दर्जन हाराहारीमा फैलिएका छन् । त्यहाँ १० हजार बढीले रोजगारी पाएका छन् । 

एकपछि अर्को शाखा देशका ठुला सहरपछि साना सहरहरूमा समेत विस्तार गरिरहेको भाटभटेनीले गत भदौ २३ गते जेनजी विद्रोहपछि भने अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो । जेनजी प्रदर्शनकारीका नाममा भदौ २४ गते देशभर भाटभटेनीका २० वटा शाखामा आगजनी र तोडफोड भयो । १२ वटा शाखा पूर्ण ध्वस्त भए । जसबापत १० अर्ब रुपैयाँ बराबर क्षति पुग्यो । त्यहाँ कार्यरत कर्मचारीहरु जागिर गुम्छ कि भन्ने ठुलो चिन्तामा परे ।
 
तर ठुलो मन भएका भाटभटेनीका संस्थापक मीनबहादुरले कसैलाई निराश बनाएनन् । अर्बौं रकमको क्षति पुग्दा पनि उनले कर्मचारी कटौती गरेनन् । कसैको तलब, भत्ता, सेवा सुविधा रोकेनन् । बरु सबै कर्मचारीहरुलाई हिम्मत गरेर अगाडि बढ्ने आँट र हिम्मत थपिदिए- ‘नआत्तिनुस्, म छु ।’ उनी कर्मचारीहरुलाई ढाडस दिइरहेका भेटिन्छन् । उनको हौसलाले कर्मचारीहरुको मनमा उत्साह मिल्छ, जीवनमा बाँच्ने आशा मिल्छ । भाटभटेनीका कर्मचारीहरुका लागि मीनबहादुर भरोसा बनेका छन् । 

Min Bahadur Bhatbhateni1

भदौ २४ मा भाटभटेनी सुपरस्टोरमाथिको आक्रमणलाई मीनबहादुर सम्झिन पनि चाहँदैनन् । पछाडि फर्केर हेर्नु भन्दा त्यो पीडा बिर्सेर अगाडि बढ्न चाहन्छन् । त्यो घटनालाई सम्झिरहे आफूमा वितृष्णा पैदा हुने र जीवनमा अघि बढ्न नसकिने कुरामा उनी ‘कन्भिन्स’ छन् । 

अहिले भाटभटेनीको पुनर्निर्माण भइरहेको छ । त्यसका लागि सयौं कर्मचारी अहोरात्र खटिइरहेका छन् । मीनबहादुर आफैं पनि बिहानदेखि साँझसम्मै काममा खटिन्छन् । अर्बौं रुपैयाँ बराबरको क्षति भएपनि मीनबहादुरको आत्मविश्वासमा पटक्कै कमी देखिँदैन । बरु थप साहसका साथ अघि बढिरहेका छन् । जेनजी विद्रोहमा अर्बौं रकमको क्षति व्यहोरेका मीनबहादुरमा कसैसँग बदलाको भावना छैन । उनको एउटै कामना छ- अब त्यस्तो घटना कहिल्यै नघटोस् ।

देशलाई आपतविपत् पर्दा मीनबहादुरले ठुलो छाती देखाएर सहयोग गरेका छन् । देशमा भूकम्प, नाकाबन्दी, कोभिड महामारी जस्ता ठुला विपत्तिमा उनले दिल खोलेर सहयोग गरे । उनी भाटभटेनीलाई आफ्नो होइन, देशकै सम्पत्ति भन्न रुचाउँछन् । माघको अन्तिम साता कोटेश्वरस्थित भाटभटेनीको शाखा सञ्चालनमा ल्याउने तयारी छ । दैनिक ३ सय कर्मचारी र १७ जना प्राविधिकहरू अहोरात्र खटिएका छन् । कोटेश्वरको यो शाखा आगजनीले खण्डहर बनेको थियो । 

भाटभटेनी सुपरस्टोरका चिफ इन्जिनियर सुवर्ण डंगोल चाँडै नै पुनर्निर्माणको काम सकिने बताउँछन् । भाटभटेनी शाखाका कन्सट्रक्सन प्रोजेक्ट म्यानेजर सिभिल इन्जिनियर रविन महर्जनका अनुसार  रेट्रोफिटिङ बाहेक टायल लगाउने र फिनिसिङको काम भइरहेको छ । कोटेश्वरमा मात्रै होइन, आगजनी र तोडफोडले क्षतिग्रस्त बनेका अन्य शाखाको पुनर्निर्माणको काम धमाधम भइरहेको छ । 

रिपोर्टिङ : नरेन्द्र रौले

भिडियो : कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप