चन्द्रकिशोर वीरगञ्जमा रहेर पत्रकारिता गर्छन् । राजनीतिक, सामाजिक, इतिहासलगायत विविध विषयमा गहिरो दखल राख्ने उनी नियमित रूपमा चलेका अखबार र अनलाइनमा लेख लेख्छन् ।
२०४२ सालमा हस्तलिखित पत्रिका ग्रामको सम्पादनमार्पmत पत्रकारिता सुरु गरेका चन्द्रकिशोर खोज पत्रकारिता केन्द्रका कुनैबेलाका अध्यक्ष पनि हुन् । यसको अर्थ उनी पत्रकारिताका अध्यापक हुन्, प्रशिक्षक हुन् र खोज, अनुसन्धानमा त उनको विशेष रुचि नै छ । त्यसैकारण उनी देश दुनियाँ चहारिरहन्छन् र भुइँमान्छेसँग अन्तरक्रिया गर्छन्, उनीहरूका गुनासो, समस्या र चासो राज्यसत्ताको उपल्लो तहमा बसेकालाई पत्रकारिताकै माध्यमबाट सुनाउँछन् ।
भदौ २३–२४ को आन्दोलनलाई तल्लो तप्काका जनताले कसरी लिएका छन् ? अब के होस् भन्ने चाहना छ उनीहरूको ? त्यस यताको राजनीतिक घटनाक्रमलाई स्वयं चन्द्रकिशोरले कसरी लिएका छन् ? २३–२४ लाई भदौरे चट्याङको संज्ञा दिने चन्द्रकिशोरलाई चट्याङ पर्न बाँकी नै छजस्तो लाग्छ कि सकियो ? विविध विषयमा उनीसँग रातोपाटीका रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ, चन्द्रकिशोरसँग गरिएको कुराकानीको सम्पादित अंश– (पूरा अन्तर्वार्ता भिडियोमा)
भदौ २३ र २४ को घटना लामो समयदेखिको उकुसमुकुस थियो । जसरी यो दलीय अभ्यासको क्रममा एउटा गिरोहतन्त्र, दलतन्त्र हाबी भएको थियो । मान्छेमा छटपटी र बेचैनी थियो । आम मान्छेचाहिँ राज्यसँग आफूलाई जोड्न सकिरहेका थिएनन् । त्यो बेलामा जुन प्रकट भयो उकुसमुकुस, मान्छेलाई यो अपेक्षित नै लागेको पाएँ ।
आन्दोलनको बटमलाइन के हो ? क्लेम के हो ? डिमान्ड के हो भन्ने कुराहरूको स्पष्टता हुन्थ्यो । यसमा न पात्र परिदृश्यमा थियो, प्रक्रिया एउटा कुरा भनिएको थियो, परिणाम अर्को आइदियो ।
नेपाली जनताको सार्वभौम सत्ताको प्रतीक संसद् जसरी ध्वंस गरियो, त्यसले मान्छे स्तब्ध भएका छन् । आक्रमण किन गर्नुपर्यो ? २४ गतेको विध्वंसप्रति मान्छे अचम्मित भएका छन् । मान्छेका मनमा चिसो पस्न थाल्यो । अनेक आशङ्का र अनुमान पनि भए ।
आन्दोलनका केही प्रक्रिया हुन्छन्, जसले गर्दा परिणामका बारेमा आकलन गर्न सकिन्छ । पात्रहरूका बारेमा थाहा हुन्छ । परिणाम कस्तो होला ? त्यो परिणाम स्थायी वा दीर्घ होला वा अस्थायी होला ? आन्दोलनमा अनुमान हुन्छ । आन्दोलनको बटमलाइन के हो ? क्लेम के हो ? डिमान्ड के हो भन्ने कुराहरूको स्पष्टता हुन्थ्यो । यसमा न पात्र परिदृश्यमा थियो, प्रक्रिया एउटा कुरा भनिएको थियो, परिणाम अर्को आइदियो ।
जहाँ सीमान्तकृतहरू बढी बस्छन्, जसको राज्यसँग आफैँ लडिरहेका क्षेत्रहरू हुन्छन्, तिनीहरूमा अन्योल, डर त बढी हुने नै भयो नि ।
_E8LZV8OkwC.jpg)
किनभने यस परिस्थितिका शक्ति कोसँग पुग्छ ? शक्तिको अभ्यास गर्न कुन शक्ति अगाडि आउाला ? त्यसले पनि धेरै कुरा अर्थ राख्छ । मधेसमा नागरिक शक्तिको ठाउँमा यदि कुनै बन्दुकको शक्ति आयो भने, स्वभावतः बढी पिल्सिने त्यही वर्ग हुन्छ । आम मान्छेमा दुईथरिको त्रास आयो । एउटा त व्यक्तिगत रूपमा आक्रमण हुने हो कि ? जो पदमा थिएनन्, उनीहरू पनि आक्रमणमा परे । निसाना बने । मान्छेले आफूलाई असुरक्षित महसुस गर्न थाले । टोल छिमेकले कसले कसलाई कतिखेर के गर्ने हो ? किनभने कहीँ पनि सुरक्षा एजेन्सी थिएनन् । त्यसकारण एउटा ठुलो दुश्चिन्ताको मनोविज्ञान मैले खास गरेर मधेसमा पाएँ ।
सात दशकको अनुभवले के देखाएको छ भने प्रत्येक जनसंघर्षले जनतालाई बलियो बनाएको छ, तर कतै यसपटक जनताका जे जति अधिकार छन्, संकुचनमा पर्ने हो कि भन्ने एउटा त्रास भयो । कोरोनाको बेलामा स्थानीय सरकारहरूले अत्यन्त प्रभावकारी काम गरेका थिए । त्यस्ता सरकारहरूमाथि आक्रमण हुन थाल्यो । प्रादेशिक अभ्यास, जसले भर्खर सेतुको काम गरिरहेकै छ, तिनीहरूमाथि आक्रमण गर्ने प्रयास भयो । त्यसकारण आम मान्छेमा यो पनि भयो कि हामीले ठुलो संघर्ष गरेर प्राप्त गरेका उपलब्धिहरू गुम्ने त होइनन् ?
हामीले परिणाम हेर्ने हो । जनताका अधिकारहरू झन् संकुचनमा पर्ने हुन् कि भन्ने मान्छेमा डर लाग्न थालेको छ । विभिन्न अनुमान र आशंका गर्न थालिएका छन् । आन्दोलनको गर्भबाट एउटा सरकार अस्तित्वमा छ । राष्ट्रपतिले यो सरकारलाई ‘जुक्ति पुर्याएर ल्याएको’ भन्नुभएको छ । त्यो जुक्ति लोकतन्त्र भयो । लोकतन्त्र त आफैँमा लोकतन्त्र हो नि त । त्यसमा न पूर्ण चाहिन्छ, न त्यसमा जुक्ति चाहिन्छ । यो जुक्ति लोकतन्त्र भयो । यो जुक्ति लोकतन्त्रचाहिँ कसको हो ?
लोकतान्त्रिक मुलुकहरूमा कार्यकारिणी र अदालत मिलेर बाटो कोर्छ ? अदालत र आर्मी मिलेर दिशा निर्देश गर्छ ? यो दुई वटै अवस्था लोकतन्त्रका लागि सहज र सरल अवस्था होइनन् ।
भदौरे चट्याङ ।
होइन । आन्दोलनका लागि परिस्थिति निर्माण भइराखेको थियो, तर जसरी भयो, जुन रूपमा भयो, त्यो आन्दोलनकारीका कारणमात्रै त्यस्तो भयो भन्ने छैन नि त फेरि । आज कसैले भन्छ कि हामी फेरि सिंहदरबार बनाउँला, फेरि अदालत बनाउँला, संसद् बनाउँला, भौतिक संरचना बनाउँला, तर अदालतबाट जुन दस्तावेज खरानी भयो, त्यो के फिर्ता भएर आउँछ ?
समान रूपले दुई पक्षले लिनुपर्छ । जसले आन्दोलन गर्यो उसले पनि र कांग्रेस, एमाले, माओवादीका दलपतिहरूले पनि जिम्मा लिनुपर्छ ।
म त वीरगन्जमा बस्छु । वीरगन्जको छेउमा साढे सात सय वर्ष पहिला एउटा ठुलो विध्वंस भएको थियो सिम्रौनगढमा । सिम्रौनगढ एउटा वैभवशाली राज्य थियो । त्यहाँ गयासुद्दीन तुगलक भन्ने आएर आक्रमण गरेको थियो । यस्तै विध्वंस गरिदियो ।
एकदम छ । जो मैले पटकपटक दलतन्त्र भनिरहेको छु, दलपतिहरू, (किनभने महिला त हुनुहुन्न) सबै दलपति हुन् । अहिलेका जुन परिस्थित्,ि जुन अराजकता, अन्योल छ, सबैको श्रेय त यी दलपतिहरूले लिनै पर्छ ।
समान रूपले दुई पक्षले लिनुपर्छ । जसले आन्दोलन गर्यो उसले पनि र कांग्रेस, एमाले, माओवादीका दलपतिहरूले पनि जिम्मा लिनुपर्छ ।
नयाँ भन्नेहरूले पनि जुन गतिविधि देखाइराखेका छन्, जुन किसिमको भाव र भंगी देखाइरहेका छन्, जुन किसिमको हतारोपन देखाइराखेका छन्, त्यो त्यति सकारात्मक छैन ।
दलहरूमा कतै पनि सुधारको सम्भावना देखा परिरहेको छैन । निर्वाचनका लागि जिल्ला–जिल्लाबाट नाम सिफारिस गर्दा दलहरूले सामाजिक छवि राम्रो भएको, भ्रष्टाचार आरोपित नभएका, अपराधमा कहीँ संलग्न नभएका क्राइटेरियाहरू बनाए त ? त्यस्ते हुनुपर्थ्यो नि, तर त्यो छैन । फेरि उही बासी अनुहारहरू आइराखेका छन् । पुराना दलहरूलाई के लागिरहेको छ भने केही दिन चट्याङ पर्यो, त्यसपछि मौसम त फेरि अनुकूल हुँदै गइराखेको छ । हामीहरू त त्यही जडतामा बसिरहौँ, त्यही यथास्थितिमा राखिरहौँ भनेर बसिरहेका छन् ।
नयाँ भन्नेहरूले पनि जुन गतिविधि देखाइराखेका छन्, जुन किसिमको भाव र भंगी देखाइरहेका छन्, जुन किसिमको हतारोपन देखाइराखेका छन्, त्यो त्यति सकारात्मक छैन । राजनीतिक दल गठन गर्नु भनेको केवल चुनावी उद्देश्यका लागिमात्र होइन नि । एउटा भुलभुलैया खडा गर्ने, भ्रमको कुहिरो खडा गर्ने भनेको होइन नि । नयाँ शक्तिका रूपमा उदाइराखेका दलका पात्रहरू कस्ता छन् ? हामीले कहिलेकाहीँ प्रक्रियामा बढी जोड दिन्छौँ र बढीचाहिँ हामी परिणाममा जोड दिन्छौँ, तर अहिंसात्मक तरिकाले समाज रूपान्तरण गर्नका लागि पात्रहरूको निष्ठा, पात्रहरूको पात्रता, पात्रहरूको शुद्धता सबभन्दा बढी महत्त्वपूर्ण हुन्छ ।
केही, कहीँ, कतै फरक पारेको पाइनँ ।
केपी ओलीजीको ठाउँमा ईश्वर पोखरेलजी, आउँछु–आउँछु भनेर भनिरहनुभएको थियो । विद्यादेवी भण्डारीजी नै आउनुभएको भए पनि चाल र चरित्रमा केही फरक हुँदैनथ्यो ।
कानुनी रूपमा त उहाँले चुनाव जित्नुभयो । एक हदसम्म लोकतान्त्रिक हुन सक्छ । उदार हुन सक्छ । त्यो दलको संरचना नै त्यही हो ।
केपी ओलीजीको ठाउँमा ईश्वर पोखरेलजी, आउँछु–आउँछु भनेर भनिरहनुभएको थियो । विद्यादेवी भण्डारीजी नै आउनुभएको भए पनि चाल र चरित्रमा केही फरक हुँदैनथ्यो । चेहरा बदलिँदैमा चाल र चरित्रमा केही फरक हुँदैनथ्यो । किनभने ०४६ सालपछि एमालेले जसरी आफ्नो चरित्रको विकास गर्यो, एमाले हुनुको जुन खास चरित्र बन्ने हो, त्यसले गर्दा चेहरा बदलिँदैमा उसको चाल बदलिने वाला होइन । अहिलेको बदलिएको नेपालको सारथि हुँ भन्ने शक्तिले आफूमा के रूपान्तरण गर्न सक्यो ? जनताका उकुसमुकुस, जनताका तिक्ततासँग आफूलाई कहाँ जोड्यो ? एमालेले झ्याल–ढोकाहरू बन्द गरेर राखेको अवस्था छ ।
एमालेले परिवर्तनको हाँकलाई आउन नदिन, परिवर्तनको हावालाई आफूभित्र छिर्न नदिन झ्यालढोका बन्द गरेको छ ।
महाधिवेशनले हाम्रो लोकतन्त्र लिकभन्दा बाहिर जाने अवस्था किन आयो ? त्यसको त व्याख्या गर्नुपर्यो नि त । सबै कुरा अर्काको टाउकोमा राखेर त भएन नि । यो संविधान ल्याउने मानष पुत्र त एउटा खड्गप्रसादजी हुनुहुन्छ नि त । यो संविधान त उहाँको परिकल्पनाबाट आएको हो । त्यसैले यो संविधानको रक्षा, स्वीकार्यता, यो संविधान कसरी गतिशील हुन सक्छ भन्नेबारे सोच्नुपर्दैन ? केवल चर्का–चर्का कुरा गरेर हुन्छ ?
कानुनी रूपमा नेतृत्व परिवर्तन हुन्छ भन्ने देखिन्छ, तर कुर्सी अहिले पनि खाली छ । कार्यवाहक दिएर जाँदा ठुलो उत्सवजस्तो गरियो । उहाँको उदारताको महिमामण्डन गरियो, तर आज पनि संस्थापन त्यहाँ मजबुत छ । परिवर्तन चाहनेहरू चाहिँ कमजोर छ ।
अझै अनेकौँ भदौरे चट्याङको प्रतीक्षा गरिरहेको छ मुलुकले ।
शेरबहादुरजी आफू नआए पनि शेरबहादुर प्रवृत्ति हो नि त । शेरबहादुरजी एउटा पात्रभन्दा पनि प्रवृत्ति हो । नेपाली जनता एकातिर छन्, दलहरू एकातिर छन् । यो बिचको ग्यापमा एउटा भदौरे चट्याङले धक्का दिएको थियो । जनतासँग जाउ, जोड, कुरा सुन, तर अहिले पनि फुङ्गीबाट भुइँमा नियाल्ने काम भइराखेको छ ।
एकदमै छैन । मधेसबाट कुहिरो लागेको देखा पर्छ ।
अझै अनेकौँ भदौरे चट्याङको प्रतीक्षा गरिरहेको छ मुलुकले ।
काठमाडौँमा जति मान्छे भेटियो, उति बतासे खबर सुनिन्छन् । अनेकथरीका अनुमान, आशंका छन् र ठोकुवा पनि छन् । अब सामान्य रूपमा भन्दा निर्वाचन हुनुपर्ने हो ।
ज्योतिषिजस्तो भन्न सक्दिनँ, तर पनि हामीले चुनाव हुनुपर्छ भन्नुपर्छ ।
देशमा दण्डहीनताकाप्रति धेरै प्रश्न छन् । संरचनागत भ्रष्टाचार छन् । बेथिति छन् । असमानता छन् । त्यसका लागि अनेकौँ प्रश्न छन्, तर अनिर्वाचित सरकार छ । यहाँ मन्त्री कसले बनाउँछ ? भद्रकाली प्रमुख हो कि बालुवाटार निर्णायक हो भन्ने विरोधाभास छ । यसलाई टुङ्ग्याउन पनि निर्वाचनतिर जानुपर्छ ।
जस्तो परिस्थिति आयो, त्यो परिस्थितिका लागि प्रतिनिधि सभा पनि त कारण हो नि । किनभने त्यहाँ सांसदहरूले आफ्ना दलपतिहरूसँग प्रश्न गर्न सकेनन् नि । सबै खामोश बाँधेर बसेका भीष्मपितामहहरू भए, शुक्रराजहरू भए । दुर्योधनले चीरहरण गरिरहेको बेला त्यो सभामा त एक से एक ज्ञानी पुरुष त थिए नि । प्रतिनिधि सभामा त ती सबै मौन भए त– द्रौपदीको चीरहरण हुँदै गर्दा ।
_je5oONRtWI.jpg)
म जनतालाई भन्छु– यसपटक के गर्ने, हामीसँग विकल्प भएन भनेर भन्ने अवस्था नआओस् । सार्वभौमसत्ता तपाईंकहाँ आइपुग्दैछ । पटक–पटक सोच्नुहोस् ।
लोकतन्त्रमा कोही देवता हुँदैनन् । सबै समान नागरिक हुन् । चमत्कार भन्ने कुरा जनताको सामूहिक ऐक्यबद्धताले प्रकट हुने हो । नयाँ दलहरूमा पनि देवताहरूको खोजी भइराखेको छ । नयाँ दलहरूमा पनि बडा हतारोपन छ । कैयौँ नैतिक प्रश्नको जबाफ दिनबाट उनीहरू पछाडि परिरहेका छन् । पुराना दलहरूप्रति लाखौँ प्रश्न छन् । नयाँ दलहरूप्रति हजारौँ प्रश्न छन् । नयाँ र पुरानोको गोलचक्करमा पर्नुभन्दा तपाईंकहाँ आइपुग्ने कसैलाई पनि निःसंकोच प्रश्न गर्नुस् । सिधै जयगान गर्न नजानुस् । सिधै लाइक गर्न नजानुस् । भर्चुअल दुनियाँभन्दा यथार्थको दुनियाँमा आउनुहोस् ।
यो देशमा लोकतन्त्र समाप्त भयो भने, यो देशमा बन्दुकको शासन कुनै पनि नाउँमा अगाडि आयो भने सबभन्दा बढी सशक्त प्रतिरोध मधेसले गर्छ । निश्चित रूपमा मधेसले गरेको संघर्षबाट प्रादेशिक अभ्यास आएको हो । त्यो प्रादेशिक अभ्यासबाट मधेस पनि सन्तुष्ट छैन, तर मधेसमा भदौ २३ पश्चात् जे भयो, त्यो काठमाडौँको राजनीतिक प्रयोगशालाको रूपमा मधेसलाई उभ्याइयो । हामी जनकपुरको सत्तालाई हेरेर उनलाई प्रश्न गरिरहेका छौँ, तर वास्तवमा खेल त काठमाडौँमा भइरहेको थियो ।
प्रतिक्रिया