रवि–बालेन भेटः पुराना दलको सिन्डिकेट तोड्न कि पपुलिजममा रमाउन ?
सारांश
- रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र शाहबीच ५ घण्टा लामो छलफल भयो।
- छलफलमा देश बनाउन नयाँ शक्तिहरू एकजुट हुनुपर्छ भन्ने सन्देश दिइएको छ, र यसले राजनीतिक वृत्त तरंगित बनाएको छ।
- भेटमा दुई नेताबीच के कुरा भयो भन्ने गोप्य राखिएको छ, तर यसलाई जेनजी पुस्ताले आशाको रूपमा हेरेका छन्।
काठमाडौँ । सोमबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच पाँच घण्टाभन्दा लामो छलफल भयो ।
कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको छलफल करिब ५ घण्टा चलेको थियो, जुन भेटले यतिबेला पूरै राजनीतिक वृत्त तरंगित बनाइदिएको छ । बैठकपछि रवि र बालेन एउटै गाडीमा मुस्कुराउँदै बाहिरिएका थिए ।
भेटको कथा
बैठकमा सहभागी रास्वपाका केन्द्रीय सदस्य शाहले यो भेटघाटलाई समयको माग र देशको आवश्यकता भनेर व्याख्या गरेका छन् । उनले भनेका छन्, ‘रवि र बालेन मिलेर जाऊन् भन्ने आम नागरिकको भावना छ । देश बनाउन नयाँ शक्तिहरू एकजुट हुनुपर्छ भन्ने सन्देश यो भेटले दिएको छ ।’
भेट सकारात्मक रहेको र यसले निरन्तरता पाउने दाबी गर्दै उनले आगामी दिनमा वैकल्पिक शक्तिहरूबिच सहकार्य अझ मजबुत हुने जिकिर गरे ।
छलफलमा रास्वपाका तर्फबाट लामिछाने, उपसभापति डीपी अर्याल र असीम शाह सहभागी थिए भने बालेनको तर्फबाट उनका सहयोगी कुमार व्यञ्जनकार (कुमार बेन) को उपस्थिति थियो । यद्यपि दुई नेताबचि कुन–कुन विषयमा सहमति भयो भन्ने विषयलाई दुवै पक्षले गोप्य राखेका छन् ।
मेयर बालेन र उनको सचिवालयले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा परिवर्तनका लागि जुटेका नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताएका छन् । यस भेटलाई उनले सोही अभियानको एक महत्त्वपूर्ण कडीका रूपमा व्याख्या गरेका छन् ।
‘हामीले पहिलेदेखि नै भन्दै आएका छौँ कि परिवर्तनमा लाग्नुभएका नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत एकै ठाउँमा ल्याउने हाम्रो प्रयास हो,’ लामिछानेले भने, ‘यसलाई निष्कर्षमा पुर्याउने गरी अहिले संवाद सुरु भएको छ ।’
प्रधानमन्त्रीका साझा उम्मेदवारका विषयमा सोधिएको प्रश्नमा उनले अहिले नै त्यो चरणमा नपुगेको स्पष्ट पारे । उनले भने, ‘हामी अहिले नै त्यो चरणमा प्रवेश गरेका छैनौँ । पहिला त कुराकानी हुनुपर्यो, एक–अर्काको विचार र परिस्थिति बुझ्नुपर्यो । हतार नगर्नुस्, बिस्तारै राजनीतिक प्रक्रिया अगाडि बढ्छ ।’ लामिछानेले बालेनबाहेक अन्य शक्तिहरूसँग पनि संवाद जारी रहेको जानकारी दिए ।
रास्वपाका अर्का नेता गणेश पराजुलीले भने यो भेटको उद्देश्य पुराना राजनीतिक दलहरूको ‘सिन्डिकेट’ तोड्नु रहेको प्रस्ट पारेका छन् ।
जेनजी पनि उत्साहित
नेपाली राजनीतिमा अहिले दुई वटा धार प्रस्ट देखिएका छन् । एउटा व्यवस्था परिवर्तन गर्न भूमिका खेलेका पुराना शक्तिहरू र अर्को सुशासनका नारा दिइरहेका नयाँ शक्तिहरू । लामिछाने र शाहबचिको पाँच घण्टे वार्ता सफल भए अथवा यी दुईको समीकरणले मूर्त रूप लिए आगामी दिनमा पुराना शक्तिहरूका लागि कडा चुनौती खडा गर्ने निश्चित छ । त्यसमाथि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पुराना राजनीतिक दलहरू प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् ।
भ्रष्टाचारविरोधी नारा र सुशासनको एजेन्डा बोकेका युवाहरूले पुराना दलहरूबाट सुधारको कुनै गुन्जायस नदेखिएको आरोप लगाउँदै आएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली फेरि नेकपा एमालेका अध्यक्षमा चयन हुनु र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वकै लागि सक्रिय हुँदा नयाँ पुस्ता थप निराश छन् ।
यही अवस्थामा यी दुईको भेटलाई जेनजी पुस्ताले ‘आशा’का रूपमा हेरेका छन् ।
जेनजी अभियान्ता सुदन गुरुङ र पुरुषोत्तम यादवले यसलाई एकताको सुखद सुरुवात भनेका छन् भने अर्का अभियन्ता संगम सापकोटाले रवि–बालेन–कुलमान र हर्क साम्पाङ मिल्ने हो भने नेपालले दशकौँदेखि भोग्दै आएको तीन ठुला दलको ‘म्युजिकल चियर’ बाट मुक्ति पाउने बताए । सापकोटाले एउटा गम्भीर डर पनि व्यक्त गरेका छन् । उनले भने, ‘अहिले ठुला दलहरूले हामीलाई डलरे र अपराधीजस्ता शब्द प्रयोग गरिरहेका छन् । यदि आगामी चुनावमा पनि यिनै शक्तिहरू सरकारमा आए भने आन्दोलनकारी युवालाई अपराधी करार गरेर जेल हाल्ने डर छ । त्यसैले वैकल्पिक शक्तिहरू एक हुनुको विकल्प छैन ।’
पपुलिस्ट राजनीतिको डर
तर केही जेनजी अगुवाहरू भने यी दुईको भेट पपुलिस्ट राजनीति मात्रै हुने हो कि भन्ने डरमा छन् । वैकल्पिक राजनीतिक शक्ति मिल्दा देशलाई निकास हुने आश गरे पनि प्रतिशोध र पपुलिस्ट कुरामा मात्रै रमाउने आशंका पनि उनीहरूले गरेका छन् । जेनजी अभियन्ता मोनिका निरौलाले लामिछाने शाहबिचको पछिल्लो भेटले कुनै ठोस र वास्तविक योजना नआएको टिप्पणी गरेकी छन् ।
निरौलाका अनुसार नयाँ पुस्ताले उनीहरूबाट केवल विकल्प नभई ती कसरी र कुन योजनाका साथ कार्यान्वयन हुन्छन् भन्ने स्पष्ट मार्गचित्र खोजेको छ । उनीहरूबचिको सहकार्य स्पष्ट एजेन्डा र नीतिमा आधारित नभई केवल सत्ता र शक्तिका लागि हुने हो भने यसले फेरि पुरानै ‘पावर पोलिटिक्स’ (सत्ताको राजनीति) लाई नै निरन्तरता दिने उनको बुझाइ छ ।
रास्वपाले जेनजी आन्दोलनका मागहरूलाई सम्बोधन नगरेको र पुराना सम्झौताहरू कार्यान्वयन गर्ने विषयमा ठोस प्रतिबद्धता नजनाएकोमा पनि उनले प्रश्न उठाएकी छन् । ‘हामी विकल्प मात्र हौँ भनेर पुग्दैन, योजना र नीतिमा के विकल्प हो भन्ने कुरा स्पष्ट चाहिन्छ,’ उनले भनिन् ।
देशका जटिल र संरचनागत समस्याहरूलाई सम्बोधन गर्न केवल लोकप्रियताभन्दा पनि गहिरो अध्ययन र स्पष्ट कार्ययोजना आवश्यक रहेकोमा उनले जोड दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण