बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

'कुमारी' प्रवर्द्धनका लागि देशव्यापी कन्सर्ट हुने

बुधबार, ०९ पुस २०८२, १२ : ३५
बुधबार, ०९ पुस २०८२

सारांश

  • फिल्म 'कुमारी' ले देशव्यापी लाइभ म्युजिकल कन्सर्ट गर्ने भएको छ, जसको नाम 'कुमारी लाइभ म्युजिकल कन्सर्ट' राखिएको छ।
  • कन्सर्ट माघ १ गतेदेखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौँ, नेपालगन्ज, चितवन र धरानमा हुनेछ।
  • फिल्ममा नव कलाकार अबिषेक खड्का, आकृति राजभण्डारीको साथमा अन्य कलाकारहरूको अभिनय रहेको छ।

काठमाडौँ । फिल्म ‘कुमारी’ले देशव्यापी लाइभ म्युजिकल कन्सर्ट गर्ने भएको छ । ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ नाम दिइएको कन्सर्ट फिल्म प्रचारका लागि गर्न लागेको हो । साङ्गीतिक दर्शकलाई फिल्मसँग जोड्न यस्तो कन्सर्ट गर्न लागेको निर्माण युनिटले जनाएको छ ।

कन्सर्ट माघ १ गते सुरु भई २३ गतेसम्म चल्नेछ । कन्सर्ट दाङ, पोखरा, काठमाडौँ, नेपालगन्ज, चितवन र धरानमा हुनेछ । कन्सर्टमा फिल्मका प्लेब्याक गायक केहरसिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले प्रस्तुति दिनेछ । केहर र उनको ब्यान्ड युवापुस्तामाझ लोकप्रिय छ ।

माघ २३ गते रिलिज हुने प्रेम कथानक फिल्म ‘कुमारी’को यसअघि दुई गीतहरू ‘कता छौ ...’ र ‘तिमी बिना ...’ सार्वजनिक भएका छन् । फिल्मको अर्को एक गीत सार्वजनिकको तयारीमा छ । कन्सर्टमा गायक गायिकाले फिल्मको अलावा अन्य गीत पनि गाउनेछन् ।

फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् । भ्यालेन्टाइन डेको आसपास रिलिज हुन लागेको  फिल्ममा नव कलाकार अबिषेक खड्का, आकृति राजभण्डारीको अलावा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारको अभिनय छ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल रहेका छन् । विकास सुवेदीको लेखन रहेको फिल्ममा छायाङ्कन सुसन प्रजापति, सम्पादन सुप्रिम पराजुलीको छ । फिल्म काठमाडौँ उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले वितरण गर्दैछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप