बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ शक्तिहरू एकजुट हुन्छौँ : मन्त्री घिसिङ

बुधबार, ०९ पुस २०८२, १४ : १०
बुधबार, ०९ पुस २०८२

सारांश

  • ऊर्जा मन्त्री कुलमान घिसिङले मुलुकको परिवर्तन संस्थागत गर्न नयाँ शक्तिहरू एकजुट हुनुपर्ने बताए।
  • उनले सुशासन कायम गर्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कुरामा जोड दिए।
  • आगामी निर्वाचनमा नयाँ र प्रगतिशील शक्तिहरू मिलेर जानुपर्ने घिसिङको भनाइ छ।

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मुलुकको परिवर्तनलाई संस्थागत गर्न र सुशासन कायम गर्न सबै नयाँ शक्तिहरू एकजुट हुने बताएका छन् । सय दिनको उपलब्धि सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।

‘हामीले अहिलेसम्म कुनै पनि ठाउँमा सुशासनको विषयमा सम्झौता गरेका छैनौँ,’ उनले भने, ‘तलदेखि माथि सम्मका निकायहरूमा देखिएका समस्याहरूलाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ र गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’

घिसिङले आफू मन्त्रीको हैसियतमा राजनीतिक क्षेत्रमा प्रवेश गरिसकेको र आगामी निर्वाचन मुलुकका लागि निर्णायक हुने बताए । उनले निर्वाचनमा जाँदा सबै नयाँ र प्रगतिशील शक्तिहरू मिलेर जानुको विकल्प नभएको उल्लेख गरे।  

‘देशको परिवर्तनलाई संस्थागत गर्न र आगामी चुनावपछि सही नेतृत्व स्थापित गर्न सबै नयाँ शक्तिहरू मिलेर जानुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ,’ घिसिङले भने- ‘उपयुक्त समयमा हामी आवश्यक निर्णय लिनेछौँ। अहिलेको मुख्य कार्यभार भनेको चुनाव सम्पन्न गर्नु र सुशासनमार्फत जनतालाई राहत दिनु हो।’

उनले देशका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुपर्ने र जस्तोसुकै परिस्थितिमा पनि मुलुकको हितलाई केन्द्रमा राख्नुपर्ने बताए । नयाँ शक्तिहरूबिचको एकताले मात्रै मुलुकमा देखिएका विद्यमान चुनौतीहरूको सामना गर्न सकिने उनको दाबी थियो।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप