बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्देशिका विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कारबाही हुने

बुधबार, ०९ पुस २०८२, १८ : ०८
बुधबार, ०९ पुस २०८२

सारांश

  • स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका विपरित काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
  • बिरामीलाई आर्थिक प्रलोभनमा पारी निजी अस्पताल लैजाने गुनासो बढेपछि मन्त्रालयले यस्तो चेतावनी दिएको हो।
  • मन्त्रालयले एम्बुलेन्स चालकलाई बिरामीले चाहेको अस्पताल लैजान र निर्देशिका पालना गर्न आग्रह गरेको छ।

काठमाडौँ ।  निर्देशिका विपरीत कुनै पनि लाभ लिने उद्देश्यले एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले बुधवार एक सूचना जारी गर्दै एम्बुलेन्स सेवा निर्देशिका- २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको हो ।

‘हाल उक्त निर्देशिका विपरीत बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा केही एम्बुलेन्सहरूले आर्थिक प्रलोभनमा परी बिरामी इच्छा वा अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशन बिना निजी तथा महँगा अस्पतालहरूमा लैजाने गरेको गुनासाहरू यस मन्त्रालयमा प्राप्त भएका छन्’ इकाईले जारी गरेकाे सूचनामा भनिएकाे छ, ‘अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरुलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य हो ।’  

इकाईले एम्बुलेन्स चालकहरूलाई प्रेषण गरिएको वा बिरामीले चाहेको स्वास्थ्य संस्थामै अनिवार्य रूपमा लैजान समेत अनुरोध गरेको छ । कसैले एम्बुलेन्स सेवा निर्देशिका बमोजिमका प्रावधानहरू पालना नगरी आर्थिक लाभ लगायत अन्य मापदण्ड विपरीत कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख छ । 

599452069_1183100457347608_5019055717840844898_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप