बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्नाटकमा बस र ट्रक ठक्कर खाँदा आगलागी, एक दर्जन जनाभन्दा बढीको मृत्यु भएको आशङ्का

बिहीबार, १० पुस २०८२, ०८ : १०
बिहीबार, १० पुस २०८२

सारांश

  • कर्नाटकमा भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको अनुमान गरिएको छ।
  • बेङ्गलुरुबाट शिवमोगा जाँदै गरेको बस र ट्रक एकआपसमा ठोक्किँदा आगलागी भएको थियो।
  • प्रहरीका अनुसार ट्रक चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ।

चित्रदुर्गा । भारतको कर्नाटक राज्यस्थित चित्रदुर्गा जिल्लाको हिरियुर तालुकमा पर्ने राष्ट्रिय राजमार्ग ४८ मा बिहीबार भएको भयानक सडक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको आशङ्का गरिएको छ। 

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार बेङ्गलुरुबाट शिवमोगाका लागि छुटेको एउटा निजी स्लिपर कोच बस र विपरित दिशाबाट आइरहेको लरी (ट्रक) एकआपसमा ठोक्किँदा बसमा आगलागी भएको थियो। ठक्कर लगत्तै बसमा आगो सल्किएपछि भित्र रहेका धेरै यात्रुहरू बाहिर निस्कन नपाउँदै भित्रै थुनिएका थिए।

प्रहरीका अनुसार हिरियुरबाट बेङ्गलुरुतर्फ जाँदै गरेको लहरीले सडकको बिचमा रहेको डिभाइडर नाघेर विपरित दिशाबाट आइरहेको बसलाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर जोगिन सफल भएका केही यात्रुहरू गम्भीर घाइते भएका छन्। उनीहरूलाई तत्कालै उपचारका लागि नजिकैको अस्पताल लगिएको छ। प्रहरीले घटनाको विस्तृत विवरण र मृतकको आधिकारिक सङ्ख्या अनुसन्धान र पहिचान पछि मात्रै यकिन हुने बताएको छ।

प्रारम्भिक अनुसन्धानले लहरी चालकको लापरबाहीका कारण यो दुःखद घटना भएको देखाएको छ। ठक्कर र त्यसपछिको आगलागीले गर्दा बस पूर्ण रूपमा जलेर नष्ट भएको छ, जसले गर्दा उद्धार कार्यमा समेत कठिनाइ भएको थियो। चित्रदुर्गाका प्रहरी उपरीक्षक रञ्जितले घटनास्थलको निरीक्षण गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। हिरियुर ग्रामीण प्रहरी चौकीमा यसबारे मुद्दा दर्ता गरिएको छ।

यो दुर्घटनापछि व्यस्त राष्ट्रिय राजमार्ग ४८ मा केही घण्टासम्म यातायात अवरुद्ध भएको थियो। आपत्कालीन टोलीहरूले सडकबाट भग्नावशेष हटाउने र उद्धार कार्य जारी राखेका छन्। दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरूको पहिचान खुलाउने प्रयास भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप