बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रञ्जिताको दाबी – नेकपासँगको एकता आकस्मिक होइन, योजनाबद्ध हो

सोमबार, १४ पुस २०८२, २२ : ०२
सोमबार, १४ पुस २०८२

सारांश

  • रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीले नेकपासँगको एकता आकस्मिक नभई पहिलेदेखि नै चलिरहेको छलफलको परिणाम भएको बताएको छ।
  • नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकताको तयारी भइरहेको बेला नेकपासँग एकता हुनु योजनाबद्ध भएको श्रेष्ठले बताइन्।
  • रेशम चौधरीले कानुनी अड्चन देखाउँदै एकता सम्भव नभएको दाबी गरे भने श्रेष्ठले पार्टीमा दुई तिहाईको निर्णय आवश्यक नभएको बताइन्।

काठमाडौँ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले नेकपासँग एकता गर्नु कुनै आकस्मिक निर्णय नभई पहिलेदेखि नै चलिरहेका छलफलहरूको परिणाम भएको बताएको छ । 

शनिबार रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता घोषणा गर्ने तयारी भइरहेका बेला अचानक यो प्रक्रियामा ब्रेक लाग्नु र पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपासँग एकताको घोषणा हुनुलाई श्रेष्ठले योजनाबद्ध रूपमा भएको बताएकी हुन् ।

श्रेष्ठका अनुसार नागरिक उन्मुक्ति पार्टी नेपाल, नेकपालगायत अन्य दलहरूसँग पनि एकता तथा सहकार्यका लागि छलफल चलिरहेको थियो । अन्ततः नेकपासँग सहमति भएपछि आज एकता घोषणा गरिएको उनले स्पष्ट पारिन्। ‘यो अचानक भएको होइन, कुरा पहिलादेखि चलिरहेको थियो, आज आएर सहमति भएको हो,’ श्रेष्ठले भनिन् ।

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकताका लागि कुरा चलेको र लगभग सहमतिजस्तै भइसकेको थियो । अन्तिम रूप दिन मात्र बाँकी रहेका बेला उक्त पार्टीका नेताहरूले पछि कुनै चासो नलिएको श्रेष्ठको भनाइ छ । ‘नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता गर्ने कुरा नै थियो, त्यो पार्टीका नेताहरूले आएर कुराकानी गरेर जानुभएको हो तर पछि वास्ता गर्न छाडेपछि हामीले नेकपासँग एकता गरेका हौँ,’ उनले खुलाइन् । 

यता नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले भने कानुनी अड्चनका कारण एकता सम्भव नभएको दाबी गरेका छन् । उनले दुवै पार्टीको विधानमा दुई तिहाई केन्द्रीय समितिले निर्णय गरेपछि मात्र एकता हुने प्रावधान रहेको र हाल दुवै पार्टीको केन्द्रीय समितिको बैठक बसाउने अवस्था नरहेकाले एकता नभएको बताए । चौधरीले तीन दलबिच चुनावी एकता भइसकेको र समानुपातिक उम्मेदवारको सूची पनि बुझाइसकेको अवस्थामा दुवै पार्टी निर्वाचन आयोगमा दर्ता रहेकाले कानुनी रूपमा कुरा नमिल्ने तर्क गरे । 

तर, अध्यक्ष श्रेष्ठले आफ्नो पार्टीमा दुई तिहाईले निर्णय गर्नुपर्ने प्रावधान नरहेको बताएकी छन् । ‘दुई तिहाईले निर्णय गर्नुपर्छ भने प्रावधान हाम्रो पार्टीमा छैन, उहाँहरूको पार्टीमा होला, यदि त्यस्तो भएको भए नेकपासँग कसरी एकता भयो त, कानुन समस्या उहाँहरूकै पार्टीमा हुन सक्छ यता हाम्रो छैन,’ श्रेष्ठले चौधरीको दाबी खण्डन गर्दै भनिन् । 

यो पनि 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप