बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पुटिनको निवासमा ड्रोन हमला गरेको रुसी दाबी, जेलेन्स्कीद्वारा अस्वीकार

मङ्गलबार, १५ पुस २०८२, ०७ : ०७
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • युक्रेनले रुसी राष्ट्रपति पुटिनको निवासमा ड्रोन आक्रमण गरेको मस्कोको आरोपलाई जेलेन्स्कीले अस्वीकार गरे।
  • रुसले शान्ति वार्ता अवरुद्ध पार्न खोजेको आरोप लगाउँदै जेलेन्स्कीले यसलाई झुटको संज्ञा दिए।
  • यस घटनालाई लिएर रुसले शान्ति वार्तामा आफ्नो अडानबारे पुनरावलोकन गर्ने धम्की दिएको छ।

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासलाई लक्षित गरी युक्रेनले ड्रोन आक्रमण गरेको मस्कोको दाबीलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ठाडै अस्वीकार गरेका छन्। रुसले लगाएको यो आरोपलाई ‘विशुद्ध झुट’ को संज्ञा दिँदै जेलेन्स्कीले मस्कोले जारी शान्ति वार्ताको प्रक्रियालाई अवरुद्ध बनाउन खोजेको गम्भीर आरोप लगाएका हुन्।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभका अनुसार युक्रेनले रातको समयमा ९१ वटा लामो दूरीका ड्रोनहरू प्रयोग गरी उत्तर–पश्चिमी नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासमा आक्रमण गरेको थियो। रुसले आफ्ना हवाई रक्षा प्रणालीले सबै ड्रोनहरू नष्ट गरेको र कुनै मानवीय वा भौतिक क्षति नभएको दाबी गरेको छ। यद्यपि, कथित आक्रमणको समयमा राष्ट्रपति पुटिन कहाँ थिए भन्नेबारे केही खुलाइएको छैन।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसको यो दाबीलाई युक्रेनमाथि थप आक्रमण गर्ने बहानाका रूपमा व्याख्या गरेका छन्। उनले रुसले यसअघि पनि कीभका सरकारी भवनहरूलाई निशाना बनाइसकेको स्मरण गराउँदै विश्व समुदाय यस विषयमा मौन बस्न नहुने बताए। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले दिगो शान्ति स्थापनाका लागि भइरहेका प्रयासहरूलाई रुसले कमजोर पार्न खोजेको भन्दै चिन्ता व्यक्त गरे।

यता रुसी विदेशमन्त्री लाभरोभले भने कीभले ‘राज्य प्रायोजित आतंकवाद’ सुरु गरेको भन्दै अब रुसले शान्ति वार्तामा आफ्नो अडानबारे पुनरावलोकन गर्ने धम्की दिएका छन्। तर, रुसी समाचार एजेन्सी टासका अनुसार उनले अमेरिकासँगको वार्ता प्रक्रियाबाट भने बाहिरिने मनसाय नरहेको स्पष्ट पारेका छन्।

यो घटना यस्तो समयमा आएको छ, जब हालै फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबिच युद्ध अन्त्यका लागि संशोधित शान्ति योजनाबारे छलफल भएको थियो। उक्त छलफलमा अमेरिकाले युक्रेनलाई १५ वर्षका लागि सुरक्षा ग्यारेन्टी दिने प्रस्ताव गरेको र यस विषयमा ९५ प्रतिशत सहमति जुटेको दाबी गरिएको थियो। यद्यपि, क्षेत्रिय अखण्डता र रुसको कब्जामा रहेको जोपोरिजिया आणविक केन्द्रजस्ता विवादित विषयहरू अझै सुल्झिन बाँकी छन्।

रुसले हाल डोनबास क्षेत्रको ठूलो हिस्सा आफ्नो नियन्त्रणमा राखेको छ र यसअघि नै शान्ति योजनाका मुख्य बुँदाहरूलाई अस्वीकार गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप