रास्वपामा विलय हामीलाई मान्य हुँदैन : डकेन्द्रसिंह थेगिम
सारांश
- उज्यालो नेपाल पार्टी रास्वपासँगको एकताप्रति पहिचानवादी अभियन्ताहरूले असन्तुष्टि जनाएका छन्।
- पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले पहिचानको मुद्दालाई छोडेर गरिएको एकतामा आफूहरू समावेश नहुने बताए।
- रास्वपा संघीयता र धर्मनिरपेक्षताको विरुद्धमा उभिएको र पहिचानवादीहरूले यी मुद्दामा सहकार्यको सम्भावना कम देखेका छन्।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने उज्यालो नेपाल पार्टीको निर्णयप्रति पहिचानवादी अभियन्ताहरूले असन्तुष्टि जनाएका छन् । कोशी प्रदेशको नाम पुनः नामकरण संघर्ष समितिका संयोजकसमेत रहेका पहिचानवादी आन्दोलनका अगुवा डकेन्द्रसिंह थेगिमले आफूहरूलाई नसोधी पहिचानको मुद्दालाई छोडेर गरिएको एकतामा आफूहरू समावेश नहुने बताए ।
थेगिम उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिमा थिए । थेगिमले पहिचानवादी अभियन्ता डाक्टर महेन्द्र लावतीसहित पहिचानवादीको टिम रास्वपामा नजाने बताए । प्रस्तुत छ, उनीसँगको संक्षिप्त कुराकानीको सम्पादित अंशः
- उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचमा भएको एकताको विषयमा तपाईंको धारणा के हो ? कुलमान घिसिङलगायत त रास्वपामा जानुभयो नि ?
सुरुमा हामीले बुझेको यो एउटा ‘वैकल्पिक शक्ति’ निर्माण गर्ने र रास्वपासँग चुनावी गठबन्धन वा सहकार्यमात्र गर्ने भन्ने थियो, तर पछिल्लो समय एक्कासि सबै कुरा टुङ्ग्याएर एकीकरण नै भएको भन्ने खबर आयो । यस विषयमा हामीलाई कुनै पूर्वजानकारी दिइएन । म आफैँ पनि पूर्वतिर थिएँ ।
- हिजो साँझ सात बुँदे सहमति गरेर पार्टी नै विलय गराउनुभयो । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?
हो, कुलमानजीको अडान पहिचानको मुद्दामा पहिले निकै कडा थियो, तर अहिले एकीकरण हुँदा न हाम्रो पार्टीको चिह्न छ, न नाम । यो एकीकरणभन्दा पनि उहाँ रास्वपामा प्रवेश गरेजस्तो देखियो । यसमा हाम्रो र पार्टीका कार्यकर्ताहरूको पूर्ण सहमति छैन । डा. लावतीजस्तै मेरो पनि यसमा गम्भीर असहमति छ ।
- रास्वपाले तपाईंहरूको सैद्धान्तिक धारणामा सहमत भयो भने त फेरि त्यहाँ समाहित हुने हो कि के हो ? अब के गर्नुहुन्छ ?
रवि लामिछानेजीको पार्टी संघीयता र धर्मनिरपेक्षताको विरुद्धमा उभिएको अवस्था छ । उहाँहरूले त २०७९ को निर्वाचनमा प्रदेशमै उम्मेदवारी दिनुभएन । हामी पहिचानको आन्दोलनबाट आएका मान्छे हौँ । पहिचान, संघीयता र धर्मनिरपेक्षता हाम्रा मुख्य एजेन्डा हुन् । यदि रास्वपाले यी कुरा स्वीकार गर्छ भनेमात्र सहकार्य सम्भव छ, तर उहाँहरूले यी मुद्दा समेट्ने छाँट देखिँदैन । त्यसैले यो मेल खान्छजस्तो मलाई लाग्दैन ।
- अब विकल्प के त ? उज्यालो नेपाल पार्टी नै ब्युँताउने कि नयाँ अभियान वा स्वतन्त्र रूपमा अगाडि बढ्ने ?
यस विषयमा हामीले गम्भीर छलफल गर्नुपर्ने छ । छलफल नगरी यही हुन्छ भन्न सकिन्न, तर चुनावको ‘बन्द सूची’ मा नाम समावेश भइसकेको र निर्वाचन प्रक्रिया अगाडि बढिसकेकोले नयाँ पार्टी दर्ता गरेर जान प्राविधिक रूपमा कठिन छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर निष्कर्ष निकाल्छौँ ।
- तपाईंहरूको टिम अब एकजुट नै रहन्छ कि त्यहाँ पनि केही फाटो आउने सम्भावना छ ? साविक उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिमा भएका तपाईंहरू यो प्रक्रियामा कति जना असहमत हुनुहुन्छ ?
हाम्रो जुन टिम पहिले थियो, त्यो टिम एकजुट नै छ । डा. लावती हाम्रो समूहको अगुवा हुनुहुन्छ । हामी सबै असन्तुष्ट छौँ र हामीभित्र कुनै दुई मत छैन । मेरो नेतृत्वको अभियान समिति, पहिचानवादी मोर्चा र नागरिक मुक्ति पार्टी (पूर्व) का केही समूहहरू अझै पनि हामी एकै ठाउँमा छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण