बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जर्मनीको बैंकमा हलिउड शैलीको डकैती, झन्डै ५ अर्ब रुपैयाँ बराबरको धनमाल चोरी

बुधबार, १६ पुस २०८२, ०९ : ३५
बुधबार, १६ पुस २०८२

सारांश

  • जर्मनीको बैंकमा चोरहरूले ३ करोड युरो बराबरको धनमाल लुटे, जसलाई ओसियन्स इलाभेनको डकैतीसँग तुलना गरिएको छ।
  • चोरहरूले बैंकको सुरक्षित भल्टमा प्वाल पारेर नगद, सुन र गहना लुटेका थिए, र घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन्।
  • बैंकले प्रभावित ग्राहकहरूका लागि हटलाइन सेवा सुरु गरेको छ र अधिकांशको धनमाल चोरी भएको आशंका गरिएको छ।

म्युनिख । पश्चिम जर्मनीको एउटा व्यस्त सडकमा रहेको बैंकमा चोरहरूले ठूलो ड्रिल मेसिन प्रयोग गरी अत्याधुनिक शैलीमा डकैती गरेका छन्। गेल्सेनकिर्चेन सहरमा रहेको स्पार्कासे सेभिङ्स बैंकको सुरक्षित भल्ट फुटाएर चोरहरूले नगद, सुन र गहना गरी करिब ३ करोड युरो (झन्डै ५ अर्ब नेपाली रुपैयाँ) बराबरको सम्पत्ति लुटेका हुन्।

प्रहरीले यस घटनालाई हलिउड चलचित्र ‘ओसियन्स इलाभेन’ को डकैतीसँग तुलना गर्दै निकै व्यावसायिक ढंगले योजनाबद्ध रूपमा चोरी गरिएको बताएको छ। क्रिसमसको शान्त समयको फाइदा उठाउँदै चोरहरूले बुएर जिल्लाको निइनहोफस्ट्रासस्थित बैंकमा लुटपाट मच्चाएका हुन्।

प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरू बैंकसँगै जोडिएको पार्किङ ग्यारेजबाट भित्र पसेका थिए र काम सकेपछि त्यहीँबाट भाग्न सफल भए। शनिबार राति र आइतबारको बिचमा ग्यारेजको सिँढीमा केही व्यक्तिहरूले ठूला झोलाहरू बोकेर हिँडिरहेको प्रत्यक्षदर्शीले बताएका छन्। सोमबार बिहान सबेरै एउटा कालो रङको ‘अडी आर-एस ६’ कार उक्त ग्यारेजबाट बाहिरिएको सिसिटिभी फुटेजमा देखिएको छ।

सोमबार बिहान बैंकमा अचानक फायर अलार्म बजेपछि प्रहरी र दमकल टोली त्यहाँ पुग्दा मात्रै भल्टमा प्वाल पारिएको पत्ता लागेको थियो। चोरहरूले बैंकभित्र रहेका ३ हजारभन्दा बढी व्यक्तिगत सेफ डिपोजिट बक्सहरू फुटाएका छन्। बैंकका अनुसार ९५ प्रतिशत ग्राहकका बाकसहरू फुटाइएका कारण अधिकांशको धनमाल चोरी भएको उच्च सम्भावना छ। अहिलेसम्म यस घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् र प्रहरीले अपराधीहरूको खोजी कार्य जारी राखेको छ।

आफ्नो बचत लुटिएको खबर पाएपछि मंगलबार बैंक बाहिर ठूलो संख्यामा ग्राहकहरू जम्मा भएका थिए। बुढेसकालका लागि जम्मा गरेको सम्पत्ति चोरी भएपछि कतिपय ग्राहकहरू आक्रोशित र चिन्तित देखिएका छन्।

बैंकले प्रभावित ग्राहकहरूका लागि हटलाइन सेवा सुरु गरेको छ र प्रतिबाकस १० हजार ३ सय युरोसम्मको बीमा हुने जानकारी दिएको छ। घटनापछि प्राविधिक र सुरक्षा कारणले उक्त बैंकको शाखा अहिलेलाई बन्द गरिएको छ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप