गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक : मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक रहेको बताए।
- उनले संघीय सरकारले विमानस्थल सुचारु गर्न ध्यान दिनुपर्ने र प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गरे।
- आचार्यले व्यवसायीका समस्या समाधानका लागि वार्ता भए पनि ठोस समाधान नभएको र संघीय सरकारको ध्यानाकर्षण गराए।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औँ वार्षिकोत्सव समारोहलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न विश्व समुदायको विश्वास आर्जन गर्न कूटनीतिक पहल अपरिहार्य रहेको बताएका हुन् । सङ्घीय सरकारले विमानस्थल सुचारु गर्न अविलम्ब ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले प्रदेश सरकार साझेदारी गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे ।
तर, प्रदेश सरकारले अघि सारेका प्रस्तावहरूमा सङ्घीय सरकारले हालसम्म कुनै निर्णय नगरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । ‘मुख्यमन्त्री आचार्यले परिणाममुखी ढङ्गले काम गर्न प्रदेश सरकार तयार रहेको बताउँदै व्यवसायीहरूका समस्या समाधानका लागि पटक पटक वार्ता भए पनि ठोस समाधान हुन नसकेको उल्लेख गरे ।
उनले सङ्घीय सरकार र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा राखिएको लक्ष्य र उद्देश्यअनुसार तत्काल नियमित सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे । विमानस्थल नचल्दा स्थानीय व्यवसायी धराशायी हुने अवस्था आउन नदिन अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तार गरी विश्वास निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
आवश्यक परे प्रदेश सरकारले जिम्मेवारी लिन तयार रहेको भन्दै श्रम स्वीकृति दिने कार्यालय यही स्थापना गर्न, स्वास्थ्य जाँच प्रदेश सरकारले गर्ने समेत प्रस्ताव राखेको स्मरण गरे । तर, सङ्घीय सरकारले यस सम्बन्धी अधिकार नदिँदा ती काम अघि बढ्न नसकेको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण