सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’

आइतबार, ०३ साउन २०८३, १८ : २७
आइतबार, ०३ साउन २०८३

पोखरा । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीका पुराना र शीर्ष नेताहरूलाई पार्टी कार्यालय सानेपामा आएर नयाँ पुस्तासँग विचार विमर्श गर्न आह्वान गरेका छन् । 

प्रजातान्त्रिक विचार समाजले पोखरामा आयोजना गरेको संविधान संशोधन सुझाव विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउन सुझाएका हुन् ।

‘मेरा आदरणीय मेरा पुराना नेताहरू, यहीँ हुनुहुन्छ । म आग्रह गर्न चाहन्छु, अब नेताले डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बसेर युवा नेताहरूसँगै छलफल गर्ने हो,’ उनले भने, ‘तपाईंहरूको अनुभव र युवाहरूको ऊर्जा मिलेर मात्रै पार्टी र देशलाई सही दिशामा डोर्‍याउन सकिन्छ ।’ 

पछिल्लो समय निवर्तमान सभापति शेरबहादुर देउवा निकटका नेताहरूले छुट्टै भेला र छलफल गर्ने गरिरहेका छन् । उक्त पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेको छ । यही सन्दर्भलाई लक्षित गर्दै भण्डारीले असन्तुष्टिहरूलाई पार्टीको संस्थागत फोरमभित्रै समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेता भण्डारीले संविधान संशोधन गर्दा प्राप्त उपलब्धिहरू गुम्न नदिन सचेत हुनुपर्ने बताए । ‘दुई–तीन वटा कुराहरू हटाइयो भने यो संविधान नै मर्छ,’ उनले भने, ‘एउटा सङ्घीयता, एउटा गणतन्त्र, अर्को चाहिँ समानुपातिक समावेशिताका कुराहरू । मूलभूत कुराहरू यिनीहरू हुन्, जसलाई जोगाउनुपर्छ ।’ 

संविधानका सबै विषयमा एकै पटक हात हाल्न नहुने उनको भनाई छ । संविधान कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक कठिनाइ र खर्चिलो संरचनाका बारेमा भने पुनर्विचार गर्नुपर्ने उनले बताए । भण्डारीले प्रदेश संरचना खारेज गर्ने भन्दा पनि त्यसलाई कम खर्चिलो र चुस्त बनाउन मन्त्रालय तथा सांसदको सङ्ख्या घटाउनुपर्ने सुझाव दिए ।

उनले समानुपातिक समावेशी सिद्धान्तलाई कायम राख्दै निर्वाचन प्रणालीलाई पनि सुधार्नुपर्ने आवश्यकता औँल्याए । ‘हामीले समानुपातिक प्रणाली ल्यायौँ, तर त्यसको सही अभ्यास हुन सकेन । आफ्नो गोजीका मान्छे र नातागोतालाई मात्रै छान्ने प्रवृत्तिले गर्दा यो प्रणालीप्रति नै वितृष्णा पैदा भएको छ,’ अघि भने, ‘त्यसैले संविधान संशोधन गर्दा यस्ता कमजोरीलाई सच्याएर पूर्ण लोकतान्त्रिक र जनमुखी बनाउनुपर्छ।’

भण्डारीले आगामी चुनावमा कांग्रेसले एक्लै बहुमत ल्याउने गरी तयारी गर्नुपर्ने र त्यसपछि मात्रै देशमा स्थिरता र विकास सम्भव हुने दाबी गरेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप