कांग्रेसमा श्रीमती, छोराछोरी, बहिनी, ससुरा, भाञ्जीदेखि पीएसम्म समानुपातिक उम्मेदवार
सारांश
- नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा नेताका परिवारका सदस्यहरूलाई राखेको छ।
- गगन थापाका ससुरा, बलबहादुर केसीले श्रीमती र बहिनी, रामचन्द्र पौडेलले छोरी, र रामवरण यादवले छोरालाई सूचीमा राखे।
- विमलेन्द्र निधिले भान्जी र प्रचार विभाग प्रमुखले पीएलाई सूचीमा राखेकोमा असन्तुष्टि जनाइएको छ।
काठमाडौँ । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा नेताका परिवारका व्यक्तिलाई राखेको छ । मंगलबार बुझाएको सूचीमा श्रीमती, छोराछोरी, बहिनी, ससुरा, भाञ्जीदेखि पीएसम्म समानुपातिक उम्मेदवार छन् ।
कांग्रेसका महामन्त्री गगन थापाका ससुरा अर्जुननरसिंह केसीलाई समानुपातिकतर्फको उम्मेदवार बनाइएको छ । केसी आफै पनि कार्यसम्पादन समिति सदस्य हुन् । कार्यसम्पादन समितिमा केसीलाई सूचीमा राख्न महामन्त्री थापा र केसी स्वयंले जोडबल गरेका थिए । केसीको नाम सूचीको ५३ नम्बरमा छ ।
केसीलाई समानुपातिक सूचीमा राखेको भन्दै आलोचना भएपछि महामन्त्री थापाले सामाजिक सञ्जालमा स्पष्टीकरण नै दिएका छन् । थापाले केसीलाई आफ्नो चाहनाबेगर समानुपातिक सूचीमा राखिएको भन्दै प्रष्टीकरण दिएका छन् । ‘म स्पष्ट पार्न चाहन्छु; यो मेरो चाहना विपरीत हो । मेरो अनुरोध र हरसम्भव प्रयास विपरीतको निर्णय हो,’ थापाले लेखेका छन् ।
त्यस्तै अर्का कार्यसम्पादन समिति सदस्य बलबहादुर केसीले श्रीमती र बहिनीको नाम समानुपातिकको बन्दसूचीमा राख्न सफल भएका छन् । केसीकी श्रीमती रिना उप्रेती र बहिनी गोमा केसी समानुपातिक सूचीमा परेका छन् । उप्रेतीको नाम कांग्रेसको सूचीको १३ नम्बरमा र केसीको नाम १५ नम्बरमा छ । उप्रेती पद्मकन्या क्याम्पसकी पूर्व स्वतन्त्र विद्यार्थी युनियनकी सभापति र केसी कांग्रेस ओखलढुंगाकी पूर्वसभापति हुन् ।
वर्तमान राष्ट्रपति तथा कांग्रेसका पूर्वकार्यवाहक सभापति रामचन्द्र पौडेलले आफ्नी छोरी संज्ञा पोखरेल पौडेललाई दबाब दिएर समानुपातिक सूचीमा राख्न लगाएका छन् । पोखरेलको नाम सूचीको ६२ औँ नम्बरमा छ ।
त्यस्तै पहिलो राष्ट्रपति तथा कांग्रेसका पूर्वमहामन्त्री डा. रामवरण यादवले छोरा डा. चन्द्रमोहन यादवको नाम सूचीमा राख्न सफल भएका छन् । डा. चन्द्रमोहन कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।
पूर्वउपसभापति विमलेन्द्र निधिले भाञ्जी निनु कर्णको नाम समानुपातिक सूचीमा राखेका छन् । कर्णको नाम सूचीको २५ औँ नम्बरमा छ । निधिले कर्णको नाम समानुपातिक सूचीमा राखेपछि कांग्रेस जनकपुरका नेता जीवराम चौधरीले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।
उनले निधिलाई सामान्य जिज्ञासा भन्दै सोधेका छन्, ‘तपाईंसँगै जेल–नेल बसेका, लाठी खाएका, यातना सहेका, प्रजातन्त्रका लागि जीवन अर्पण गरेका यसै क्षेत्रका ललन चौधरी, प्रफुल्ल राज घिमिरे, युवराज खाती,राज किशोर सिंह, राम भरत साह, वैद्यनाथ साह, धीरेन्द्र मोहन झा, निर्मल चौधरी, देवचन्द्र झा, अनिता श्रीवास्तव (अखिलानन्द श्रीवास्तवकी बुहारी), दिगम्बर राय, विभास लाभ,शम्भु नाथ झा मात्र होइन—सहिद दुर्गानन्द झा, नेवि नदाफ, सोने लाल पासवान, महावीर शर्मा, अखिलानन्द श्रीवास्तव, युगेश्वर शर्मा, भुवनेश्वर महासेठ , बलभद्र लाल कर्ण जस्ता प्रजातन्त्र सेनानीहरू,जो जीवनभर लोकतन्त्रका लागि लडे,कारागारमै सास फेरे,गरिबीमै मृत्युवरण गरे—उनीहरूले के पाए? न उनीहरूले केही पाए, न त उनीहरूका सन्तानले । आज त तिनका छोरा–छोरी, श्रीमतीहरूको अवस्था के छ भनेर सोधपुछ गर्ने नेता पनि भेटिँदैन। गाँस, बास र कपास बिना बाँचिरहेका ती परिवारहरूको पीडा कसैको सूचीमा परेन । व्यक्तिगत रूपमा म निनु कर्णलाई बधाई दिन चाहन्छु र उहाँको उज्ज्वल भविष्यको कामना पनि गर्दछु। यहाँ प्रश्न व्यक्तिको होइन, प्रणालीको हो।योग्यता, योगदान र बलिदान भन्दा नाता–सम्बन्ध ठुलो बन्नु नै पीडादायक हो ।’
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि आफ्ना सहयोगी (पीए) टेकबहादुर बिकको नाम सूचीमा राख्न भ्याएका छन् । बिकको नाम सूचीको १०९ नम्बरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण