रानीपोखरीबाट लुटेको पेस्तोल गुण्डागर्दीमा संलग्न जसवन्तले लुकाएका थिए ट्यांकीमा
काठमाडौं । भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा प्रहरीबाट लुटेको पेस्तोल काठमाडौंमा सक्रिय गुण्डाको हातमा पुगेको भेटिएको छ । प्रहरीले प्रयोग गर्दै आएको दुई थान सीएफ–९८ पेस्तोल सहित तीन जनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा खोटाङ घर भएर काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ३३ वर्षीय जसवन्त राई भन्ने अश्विन राई, काठमाडौं–१५ डल्लु बस्ने ३२ वर्षीय विकास शाही ‘झिल्के’ र मोरङको लेटाङ घर भएका २२ वर्षीय शाहिल तिवारी छन् ।
पुस १२ मा कलंकीबाट पक्राउ परेका जसवन्त आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । २०७३ सालमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई बिजुलीबजारमा गोली प्रहार गरेको थियो । त्यसबेला उनले प्रहरीलाई रड प्रहार गरेको प्रहरी अधिकृतहरुले दाबी गरेका छन् । पाँचवटा ज्यानमुद्दा र दर्जन सार्वजनिक अपराधको मुद्दा खेपेका राई काठमाडौंमा पछिल्लो समय सक्रिय गुण्डागर्दीमा संलग्न रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
जसवन्तले नागार्जुन नगरपालिका–४ स्थित बाफलमा ३ वर्षदेखि स्नुकर सञ्चालन गरिरहेका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको पेस्तोल उनले उक्त स्नुकरको पानी ट्यांकीमा लुकाएर राखेको अवस्थामा भेटिएको छ ।
अर्का आरोपी विकास शाही पनि गुण्डागर्दीमा संलग्न छन् । ठमेल, नयाँ बजार, बसपार्क, स्वयम्भू र बाफल क्षेत्रमा उनले गुण्डागर्दी गर्ने गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । झिल्के भनेर चिनिने शाहीसँग हतियार रहेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेर सोधपुछ गरेको थियो । त्यसपछि जसवन्तले सञ्चालन गरेको स्नुकरमा हतियार राखेको तथ्य खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
‘आपराधिक काममा प्रयोग गर्नेगरी पेस्तोल लुकाएर राखेको देखिन्छ,’ उनले भने ।
शाहीविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा उच्च अदालत पाटनबाट ९ महिना कैद सजाय हुने फैसला भएको थियो । २०८० भदौमा ठमेलमा झगडा गरेर सो मुद्दामा कैद सजाय भएपछि उनी फरार रहेको प्रहरीको अपराध रेकर्ड सिस्टममा देखिएको छ । यसअघि उनी चार पटक अभद्र व्यवहार र एकपटक बलात्कार सम्बन्धी कसुरमा पक्राउ परेर छुटेका थिए ।
शाहीले भदौ २६ मा ३ थान पेस्तोल नेपाली सेनालाई बुझाएको जिकिर गरेका छन् । जेनजी प्रदर्शनपछि सेनाले सुरक्षाको नेतृत्व गरेको अवस्थामा शाहीले डल्लु पुलमा गस्तीमा हिँडिरहेको सेनालाई हतियार बुझाएर फोटो खिचेको भेटिएको छ । तर उनले नराम्रा हतियार बुझाएर राम्रा हतियार लुकाएर राखेको र पछि जसवन्तलाई दिएको अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरीका अनुसार शाहिल तिवारी पनि गुण्डागर्दीमा संलग्न युवक हुन् । तिवारी र शाहीलाई प्रहरीले सोह्रखुट्टेबाट पक्राउ गरेको हो । उनीहरुविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण