शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

एमाले भनेकै ओली, ओली भनेकै झापा !

पद र अवसर पाइरहे पनि जनमत र परिणाम भने घट्दो
बिहीबार, १७ पुस २०८२, १० : ५६
बिहीबार, १७ पुस २०८२

सारांश

  • एमालेको ११औँ महाधिवेशनपछिका कार्यक्रममा झापाका नेताहरूको उपस्थिति पातलो देखिएको छ।
  • केपी शर्मा ओलीले झापालाई अवसर दिँदै आएको र निर्वाचनमा पनि झापाबाटै धेरै नेताहरूलाई प्राथमिकता दिएको देखिन्छ।
  • २०७९ को निर्वाचनमा एमालेले झापामा सिट जिते पनि अघिल्लो निर्वाचनको तुलनामा मत घटेको तथ्याङ्कले देखाउँछ।

विराटनगर । नेकपा एमालेको ११औँ महाधिवेशनको रन्को अझै सकिएको छैन । कतिपय जिल्लामा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बधाई दिने कार्यक्रम अझै जारी छ ।

अधिवेशन सकिएको केही दिनपछि नै एमाले झापाको विर्तामोड नगर कमिटीले बधाई तथा शुभकामना कार्यक्रम राखेको थियो । यसै पनि झापा एमालेको राम्रो जनाधार भएको जिल्ला हो । विर्तामोडस्थित पार्टी कार्यालयमा राखेको कार्यक्रममा अधिवेशनबाट निर्वाचित केन्द्रीय सचिवसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितका आधा दर्जन केन्द्रीय सदस्य सहभागी थिए । कार्यक्रम हलमा भने तीन दर्जन जति नेता कार्यकर्ताको जमघट थियो ।

त्यही कार्यक्रबारे जानकारी दिँदै एक जना एमाले नेताले भने, ‘नेता धेरै बनाएरमात्रै जनताले र कार्यकर्ताले विश्वास गर्दैन रहेछन् । झापाबाट केन्द्रीय समितिमा १९ जना सहभागी भएका छन् । अवसरको लाम लागेको छ, तर पार्टी कार्यालयमै आयोजित कार्यक्रममा ३०–३५ जना मान्छे हुनु भनेको लाजमर्दो होइन र ?’

एमालेको नवौँ महाधिवेशन (२०७१ साल)बाट अध्यक्षको रूपमा निर्वाचित भएपछि केपी शर्मा ओलीले आफ्नो गृहजिल्लाका नेता–कार्यकर्तालाई सकेजति अवसर दिएका छन् । उनी प्रधानमन्त्री हुँदाका बखत जिल्लामा विकास बजेट खन्याउने मात्रै होइन, झापालीलाई मनग्य अवसर दिएका छन्, तर त्यसका लागि सम्बन्धित नेता–कार्यकर्ता एमाले भएर मात्र पुग्दैन, उनको समर्थक पनि हुनुपर्दछ ।

ओलीले पार्टीको ११औँ महाधिवेशनमा झापाबाट आफ्नो प्यानलबाट सचिवमा हिक्मतकुमार कार्कीलाई जिताए । केन्द्रीय समितिमा देवेन्द्र दाहालदेखि जेनजी एलिसा गौतमसम्म १७ जना सामेल भए ।

ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा पठाएको ११० जनामध्ये ८ जना त झापाकै छन् । एमाले नेताहरूले दिएको जानकारी अनुसार झापाबाट समानुपातिकको बन्दसूचीमा लता प्रसाईं, निर्मला पाठक, मेनुका काफ्ले, विद्यानन्द राजवंशी, मीता घतानी, जितु गौतम, सोम पोर्तेल र अनिता कन्दङ्वा छन् ।

२०७९ सालको निर्वाचनबाट निर्वाचित झापा–२ का देवराज घिमिरेलाई ओलीले सभामुख बनाए । अरुकै नाम चर्चामा रहँदा ओलीले झापाली घिमिरेलाई काखी च्यापेका थिए । आफू प्रधानमन्त्री बन्दा उनले झापाकै देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाए ।

प्रतिनिधि सभामा मात्रै होइन, ओलीले कोशी प्रदेश सरकार र प्रदेश सभामा पनि झापालाई नै ध्यान दिने गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री झापाकै हिक्मतकुमार कार्की छन् । एमालेले पाएको मुख्यमन्त्रीसहितको पाँच वटा मन्त्रालयमध्ये खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री पनि झापाकै एकराज कार्कीलाई बनाएका छन् ।

Jhapako Amale Programme (1)

संघीय संसद् अन्तर्गत २०७९ मा एमालेले समानुपातिकमा ३४ जना सांसद जितेको थियो । त्यसमध्ये ओलीले चार जनालाई झापाबाट सिफारिस गरे । उनले अमृतलाल राजवंशी, कालुराम राई, सुनिता बराल र हर्कमाया विश्वकर्मालाई सांसद बनाए । राष्ट्रिय सभा निर्वाचनमा पनि कोशी प्रदेशको कोटाबाट झापाकै देवेन्द्र दाहाललाई अवसर दिए ।

कोशी प्रदेश संसद् अन्तर्गत २०७९ मा एमालेले समानुपातिकमा १५ जना सांसद जितेको थियो । त्यसमध्ये तीन जना झापाकै निर्वाचित बने । जसमा तारादेवी ढकाल, कमला थापा मगर र नम्बरलाल धिमाल छन् ।

परिणाममा २०७४ र २०७९

२०७९ सालको निर्वाचनमा झापाबाट संघीय संसदमा प्रत्यक्षतर्फ ३ वटा क्षेत्रमा र प्रदेश सभाको ६ वटा क्षेत्रमा एमाले विजयी भएको थियो । ७ वटा पालिकामा एमालेले जितेको थियो । प्रतिनिधि सभातर्फ एमालेले समानुपातिकमा झापाबाट एक लाख २७ हजार ७८० मत ल्याएको थियो ।

त्यसको तुलनामा एमाले २०७४ मा अझै बलियो थियो । प्रतिनिधि सभामा ३ वटा क्षेत्र जितेको एमालेले प्रदेश सभामा ८ वटा क्षेत्र जितेको थियो । पालिका ७ वटामा जितेको थियो । त्यसबेला एमालेले झापाबाट समानुपातिकतर्फ १ लाख ६० हजार ६३९ मत ल्याएको थियो । यो तथ्याङ्कलाई हेर्दा एमालेका लागि अवसर बढिरहँदा मत परिणाम भने घटिरहेको देखिएको छ ।

एमालेको समानुपातिक (२०८२) बन्द सूचीको नामावलीः

झापाः

१. लता प्रसाईं

२. निर्मला पाठक

३. मेनुका काफ्ले

४. विद्यानन्द राजवंशी

५. मीता घतानी

६. जितु गौतम

७. सोम पोर्तेल

८. अनिता कन्दङ्वा

११औँ महाधिवेशनबाट विजयी झापालीहरू

अध्यक्ष : केपी शर्मा ओली

सचिव : हिक्मतकुमार कार्की

केन्द्रीय सदस्यहरू

१) देवेन्द्र दाहाल

२) दीपक कार्की

३) अग्नि खरेल

४) चिन्तन पाठक

५) होमबहादुर थापा

६) गोविन्द थापा

७) इन्द्र भण्डारी

८) रोमनाथ ओली

९) मनोज ताम्ली

१०) निता घतानी

११) निर्मला पाठक

१२) जलवर्षा राजवंशी

१३) मेनुका काफ्ले

१४) गीता अधिकारी

१५) सुनिता बराल

१६) मीना उप्रेती

१७) एलिसा गौतम

संघ

सभामुख : देवराज घिमिरे

निवर्तमान प्रधानमन्त्री : केपी शर्मा ओली

निवर्तमान संघीय मन्त्री : देवेन्द्र दाहाल

कोशी प्रदेश

मुख्यमन्त्रीः हिक्मतकुमार कार्की

मन्त्री : एकराज कार्की

संघीय संसद् २०७९ मा समानुपातिक (३४ जनामा)

१) अमृतलाल राजवंशी

२) कालुराम राई

३) सुनिता बराल

४) हर्कमाया विश्वकर्मा

राष्ट्रिय सभा

१) देवेन्द्र दाहाल

कोशी प्रदेश संसद् २०७९ समानुपातिक (१५ मध्ये)

१) तारादेवी ढकाल

२) कमला थापा मगर

३) नम्बरलाल धिमाल

संघीय निर्वाचन क्षेत्र ५ र प्रदेश निर्वाचन क्षेत्र १० रहेको झापामा २०७९ सालको निर्वाचनपछि एमालेसहितका दलहरूबाट समानुपातिकतर्फ प्रतिनिधि सभामा १२ जना, राष्ट्रियसभामा २ र कोशी प्रदेश सभामा २० सहित ३४ जनाको प्रतिनिधित्व थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप