शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कांग्रेसमा किचलाे

महामन्त्रीद्वयको विज्ञप्तिपछि छलफलमा देउवा, कार्यसम्पादन समिति बैठक बोलाउने तयारी

बिहीबार, १७ पुस २०८२, २० : ५९
बिहीबार, १७ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरेपछि सभापति देउवाले नेताहरूसँग छलफल गरिरहेका छन्।
  • देउवाले पार्टीका नेताहरूसँग व्यक्तिगत र सामूहिक छलफल गरिरहेका छन्, जसमा डा. शेखर कोइराला र अन्य वरिष्ठ नेताहरू सहभागी छन्।
  • प्रवक्ता डा. महतले महामन्त्रीहरूको विज्ञप्ति व्यक्तिगत भएको र संस्थागत निर्णय लिन कार्यसम्पादन समिति बैठक बोलाउने तयारी भइरहेको बताए।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै  नियमित महाधिवेशन स्थगन गरेको बताएपछि सभापति शेरबहादुर देउवाले नेताहरूसँग छलफल गरिरहेका छन् । 

महाराजगञ्जस्थित निवासमा देउवाले नेताहरूसँग वान टु वान र सामूहिक छलफल गरिरहेका हुन् । देउवाले पहिला पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालासँग छलफल गरेका थिए ।

त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, रमेश लेखक, प्रवक्ता डा. प्रकाशशरण महतलगायतसँग व्यक्तिगत र सामूहिक छलफल गरिरहेका छन् । 

प्रवक्ता डा. महतले महामन्त्रीहरूले विज्ञप्ति जारी गरेर नियमित महाधिवेशन स्थगित गरेको बताएपछि सभापति देउवा कसरी अगाडि बढ्ने भन्नेबारे नेताहरूसँग अनौपचारिक छलफलमा रहेको जानकारी दिए ।

‘उहाँ सभापति देउवा अनौपचारिक छलफलमा हुनुहुन्छ । नेताहरूसँग व्यक्तिगत र सानो समूहमा छलफल गरिरहनु भएको छ,’ प्रवक्ता महतले रातोपाटीसँग भने । 

महामन्त्री थापा र शर्माले बिहीबार साँझ विज्ञप्ति निकाल्दै भनेका थिए, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ ।’

त्यो उनीहरूको व्यक्तिगत निर्णय भएकोले कसरी अगाडि बढ्ने भन्नेबारे कार्यसम्पादन समिति बैठक बोलाउन नेताहरूले देउवा र कार्यवाहक सभापति खड्कालाई सुझाएका छन् । 

प्रवक्ता डा.महतले महामन्त्रीद्वयको विज्ञप्ति व्यक्तिगत भएको र कांग्रेसको संस्थागत नभएको बताए । संस्थागत निर्णय गर्न कार्यसम्पादन समिति बैठक बोलाउने तयारी भइरहेको उनले जानकारी दिए ।

‘यो महामन्त्रीद्वयको व्यक्तिगत निर्णय हो । संस्थागत निर्णय होइन । संस्थागत निर्णय लिन पहिला पदाधिकारी त्यसपछि कार्यसम्पादन समिति बैठक बोलाउने तयारी भइरहेको छ,’ प्रवक्ता डा. महतले भने । 

उनले दुवै बैठक भोलि नै बोलाउने तयारी भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप