प्राइड क्यासिनो लुट्नेहरु विरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान
सारांश
- बौद्धमा रहेको क्यासिनो प्राइडमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु भएको छ।
- प्रहरीले क्यासिनोबाट करिब १४ करोड लुटेको आरोपमा दावा शेर्पा, रञ्जित खड्गी र दोर्जे शेर्पालाई हिरासतमा लिएको छ।
- सम्पत्ति शुद्धीकरण निवारण ऐन २०८० संशोधन भएपछि प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको जिम्मेवारी पाएको हो।
काठमाडौँ । काठमाडौँको बौद्धमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट प्रालि ‘क्यासिनो प्राइड’ लुटपाटमा संलग्नहरू विरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान सुरु गरेको छ । जेनजी प्रदर्शन हुँदा भदौ २४ मा क्यासिनोबाट करिब १४ करोड लुटेको आरोपमा अहिले ३ जना काठमाडौँ प्रहरीको हिरासतमा छन् ।
भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा अहिले दावा शेर्पा ‘सेठ्ठी’, रञ्जित खड्गी ‘रने’ र दोर्जे शेर्पा छन् । गुण्डागर्दी पृष्ठभूमिका दावा काठमाडौँ–६ बौद्धमा बस्छन् । २९ वर्षीय खड्गी बुढानीलकण्ठ नगरपालिका–१२ का स्थानीय हुन् । ३० वर्षीय दोर्जे सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ घर भएर गोकर्णेश्वरमा बस्छन् ।
पक्राउ परेका आरोपीहरूको सम्पत्तिबारे पनि अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए । उनले भने, ‘उनीहरू विरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ ।’
सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्न समय लाग्ने हुनाले दोस्रो चरणमा सम्पत्तिको अनुसन्धान प्रतिवेदन लैजाने प्रहरीको तयारी छ । एसएसपी थापा भन्छन्– ‘पहिलो चरणमा लुटपाटको मुद्दा अदालत जान्छ, त्यसपछि सम्पत्तिको पूरक अभियोग लैजान्छौँ ।’
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०८० चैत ३० मा संशोधन गरेसँगै प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान जिम्मेवारी पाएको थियो । ऐन संशोधनसँगै अनुसन्धान र अभियोजन गर्ने निकायलाई ‘सम्बद्ध कसुरसँग’ जोडिए मुद्दा चलाउन पाउने अधिकार दिइएको हो । त्यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबारे अनुसन्धान गर्दै आएको थियो ।
क्यासिनो प्राइडमा दावा सेठ्ठीले टेबल चलाएका छन् । क्यासिनो सञ्चालकसँग टेबल किनेर जुवा खेलाउने गरिन्छ । तिनै टेबल सञ्चालक सेठ्ठीले भदौ २४ मा जेनजी प्रदर्शनको मौकामा लुटको नेतृत्व गरेको एसएसपी थापाले बताए । सेठ्ठीले घरेलु हतियार बोकेर लुट्ने कामको नेतृत्व गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सेठ्ठीसँगै ‘काभ्रेली समूह’ पनि क्यासिनोमा प्रवेश गरेका थिए । लुटमा संलग्न काभ्रेली समूहका कुलध्वज लामा ‘कुले’, सञ्जय तामाङ र राकेश तामाङ फरार रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।
सञ्जय तामाङ नमोबुद्ध नगरपालिकाको वडा सदस्य हुन् । दरबारमार्गस्थित लिक्विड लाउन्जमा रमेश भट्टलाई कुटेको आरोपमा २०७९ पुस ७ मा काभ्रेली समूहका कुलध्वज सहित ८ जना पक्राउ परेका थिए । कुलध्वज रोशी गाउँपालिका–४ का स्थानीय हुन् ।
काभ्रेली समूहले २०७९ जेठ २६ मा प्लाटिनम क्लबमा बालुवाटार घर भएका प्रतिष भास्कर सिंहलाई आक्रमण गरेका थिए । सो घटनामा कुलध्वज ५ लाख धरौटीमा छुटेका थिए ।
लुटेराहरूले खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेर लुटपाट गरेर हिँडेको भिडियोमा देखिन्छ । क्यासिनो सञ्चालकले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण