शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

शुक्रबार, १८ पुस २०८२, १९ : २१
शुक्रबार, १८ पुस २०८२

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार जनकपुरधाममा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री यादवले प्रदेशका आठवटै जिल्लाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तथा कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै स्वास्थ्य उपचारमा कुनै पनि भेदभाव नराखी स्वास्थ्य उपचारलाई दिगो र प्रभावकारी बनाउन निर्देशन दिए ।

उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउनसमेत मुख्यमन्त्री यादवले निर्देशन दिए ।

जनताको उपचार आफ्नै जिल्ला वा प्रदेशमै कम खर्चमा, छिटो र सहज रूपमा हुने व्यवस्था मिलाउन आवश्यकता रहेको उल्लेख गरे ।

उनले सरकारी अस्पतालमा आवश्यक जनशक्ति, औषधि तथा उपकरणको व्यवस्थापनलाई चुस्त बनाउँदै सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिए। “जनताले समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ, त्यसका लागि सबै जिम्मेवार भएर काम गर्नुपर्छ”, उनले भने ।

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायले प्रदेशभित्रका स्वास्थ्य संस्थालाई सक्षम र भरपर्दो बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताए।

उनले सेवा सुधार, दक्ष जनशक्ति व्यवस्थापन तथा आधुनिक उपकरणको उपलब्धतालाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको उल्लेख गरे ।

उनले स्वास्थ्य सेवामा लापरबाही सह्य नहुने स्पष्ट पार्दै सेवाग्राहीमैत्री भएर काम गर्न मेसु तथा कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो । मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवलगायत अधिकारीहरूले प्रदेशका अस्पतालको वर्तमान अवस्था, चुनौती र सुधारका योजनाबारे जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप