बाँझो बन्दै जमिनः खाद्यान्न बालीको क्षेत्रफल घट्दै
सारांश
- नेपालमा खाद्यान्न बाली हुने क्षेत्र घटिरहेको तथ्यांकले खाद्य सुरक्षामा जोखिम बढेको देखाएको छ।
- धान, मकै र गहुँ जस्ता मुख्य बालीको क्षेत्रफल घटेको छ भने कोदो र फापर जस्ता रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन्।
- तरकारी, फलफूल र नगदे बालीमा भने किसानको आकर्षण बढेको देखिन्छ, जसले कृषिमा व्यावसायिकताको संकेत गर्छ।
काठमाडौँ । नेपालमा खाद्यान्न बाली हुने क्षेत्र घटिरहेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘प्रमुख कृषि बालीले ढाकेको भू–क्षेत्र’ सम्बन्धी तथ्यांकले मुलुकको खाद्य सुरक्षाको आधार मानिने खाद्यान्न बालीको क्षेत्रफलमा ठुलो गिरावट आएको देखाएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत आवमा कृषि बाली क्षेत्र घटेको तथ्यांक देखिएको हो ।
कृषि बालीले ढाकेको क्षेत्रफल गत आर्थिक वर्षको तुलनामा २.२ प्रतिशतले घटेर ४७ लाख ४२ हजार ४ सय ९७ हेक्टरमा खुम्चिएको छ । यो गिरावटले मुलुकको उत्पादनशील जमिन बाँझो बढ्ने क्रममा रहेको दृश्य देखाउँछ ।
विशेषगरी मुलुकको खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको खाद्यान्न तथा अन्य बालीको क्षेत्रफल २.७ प्रतिशतले घट्नुलाई विज्ञहरूले राष्ट्रिय संकटको संकेतका रूपमा लिएका छन् । नेपालीको मुख्य आहार धानको क्षेत्रफल मात्रै १.३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १४ लाख ३६ हजारभन्दा बढी हेक्टरमा लगाइएको धान गत आव २०८१/०८२ मा १४ लाख १९ हजार हेक्टरमा सीमित हुनुले आन्तरिक चामल उत्पादनमा ठुलो धक्का पुग्ने देखिएको कृषि विज्ञहरू बताउँछन् ।
धान मात्र होइन, मकै र गहुँजस्ता पहाडी र तराई दुवै क्षेत्रका मुख्य बालीहरूको क्षेत्रफलमा पनि समान ३.६ प्रतिशतको गिरावट आएको छ । मकै ९ लाख २० हजार हेक्टर र गहुँ ६ लाख ८९ हजार हेक्टरमा खुम्चिनुले नेपालको कृषि प्रणालीमा आधारभूत खाद्यान्नको सट्टा अन्य विकल्प खोजिँदै गरेको स्पष्ट देखिन्छ ।
पौष्टिक र परम्परागत बालीका रूपमा चिनिने कोदो र फापरको अवस्था त झनै दयनीय छ । कोदोको क्षेत्रफल ८ प्रतिशतले घट्दा फापरको क्षेत्रफलमा १३.८ प्रतिशतको भारी गिरावट आएको छ । यी रैथाने बालीहरू लोप हुनुले एकातिर पोषण सुरक्षामा चुनौती थपेको छ भने अर्कोतिर ग्रामीण अर्थतन्त्रको मौलिकता हराउँदै गएको युवा किसान दिपेश नेपाल बताउँछन् ।
रैथाने र प्राङ्गरिक खेतीमा जोड दिँदै आएका नेपालका अनुसार यो तथ्यांकले जमिन बाँझो हुँदै आएको डरलाग्दो तथ्यांक हो । ‘घरैपिच्छे युवाहरू विदेश गएका छन्, खेती गर्ने खेतबारी जंगलमा परिणत भइरहेको छ । खेतीहुने जमिन घट्नुले कृषि क्षेत्र प्रति हेर्ने दृष्टिकोण थाहा हुन्छ,’ उनी भन्छन् ।

नगदे बालीले थोरै आशा
यद्यपि नगदेबालीले नेपाली कृषि अर्थतन्त्रलाई थोरै आशा देखाएको छ । आलु र उखुजस्ता बालीमा सामान्य सुधार देखिएको छ । आलुको क्षेत्रफलमा ०.१ प्रतिशत र उखुमा २.५ प्रतिशतको वृद्धि हुनुले किसानहरू अब केवल पेट भर्न नभई बजारमा तुरुन्तै नगदमा परिणत हुने बालीतर्फ आकर्षित भएको देखिन्छ । तेलहन र दलहनजस्ता बालीमा पनि गिरावट देखिए पनि भटमासको क्षेत्रफलमा २४.१ प्रतिशतको उत्साहजनक वृद्धि हुनुले औद्योगिक कच्चा पदार्थको उत्पादनमा एउटा सानो आशा जगाएको छ ।
कृषि क्षेत्रको अर्को चिन्ताजनक पक्ष फलफूल खेतीमा देखिएको गिरावट हो । फलफूल खेती हुने कुल क्षेत्रफलमा ८.३ प्रतिशतको ठुलो ह्रास आएको छ । जसमा सबैभन्दा बढी मार आँप खेतीलाई परेको छ । तराईको मुख्य फल मानिने आँपको क्षेत्रफल २३.७ प्रतिशतले घटेर ५१ हजार ७ सय ३६ हेक्टरमा झर्नुले एउटा ठुलो व्यावसायिक क्षतिलाई संकेत गर्छ । केरा खेतीमा पनि ५.९ प्रतिशतको कमी आएको छ । यद्यपि सुन्तला र स्याउजस्ता पहाडी फलफूलमा भने क्रमशः ३.८ र ६.६ प्रतिशतको सुधार देखिनुले उच्च पहाडी भेगमा व्यावसायिक खेतीको विस्तार भइरहेको बुझ्न सकिने कृषि मन्त्रालयका सहसचिव तथा कृषि विकास महाशाखा प्रमुख डा. रामकृष्ण श्रेष्ठ बताउँछन् । फलफूलमा देखिएको यो मिश्रित नतिजाले तराईका पुराना बगैँचाहरू नष्ट भइरहेको र पहाडमा नयाँ व्यावसायिक बगैँचाहरू विकास भइरहेको देखाउने मन्त्रालयको तर्क छ ।
खाद्यान्न र फलफूलको क्षेत्रफल खुम्चिरहँदा तरकारी र बागवानीको क्षेत्रमा भने आशा देखिन्छ । तथ्यांकअनुसार यस क्षेत्रको कुल क्षेत्रफल आव २०८०/०८१ भन्दा ०८१/०८२ मा ५.७ प्रतिशतले विस्तार भएको छ । तरकारी खेती हुने जमिन ५.४ प्रतिशतले बढेर ३ लाख २७ हजार ८ सय ४७ हेक्टर पुगेको छ भने बागवानीको क्षेत्रमा १५ प्रतिशतको उच्च वृद्धि भएको छ । यसले नेपाली किसानहरू निर्वाहमुखी खेतीबाट बाहिर निस्केर व्यावसायिक खेतीतर्फ पाइला चालेको प्रस्ट पार्छ । छिटो प्रतिफल दिने र सहरिया बजारमा उच्च माग रहने तरकारी खेतीमा युवाहरूको आकर्षण बढ्नुले कृषिलाई व्यवसायका रूपमा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ ।
यसैगरी उच्च मूल्यका नगदे बाली र पेय पदार्थको क्षेत्रमा पनि नेपालले उल्लेख्य प्रगति गरेको छ । विशेषगरी कफी खेतीको क्षेत्रफलमा ३७.६ प्रतिशतको वृद्धि भएको छ ।
चिया र अदुवा–बेसारजस्ता मसला बालीको क्षेत्रफलमा पनि ३.२ प्रतिशतको वृद्धि देखिएको छ । यी बालीहरूले नेपालको वैदेशिक व्यापार घाटा कम गर्न र किसानको आयस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
यस्तै मौरीपालन क्षेत्रमा पनि ५.४ प्रतिशतको सुधार देखिनुले मह उत्पादन र जैविक विविधता संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
किन घट्यो खाद्यान्न बाली हुने क्षेत्र ?
राष्ट्र बैंकका एकातिर मुलुकको आधारभूत खाद्यान्न बालीको क्षेत्र घटेर खाद्य सुरक्षामा जोखिम बढेको छ भने अर्कोतिर व्यावसायिक तरकारी र कफीजस्ता बालीमा किसानको आकर्षण बढेको छ । यसका पछाडि मुख्य तीन वटा कारणहरू जिम्मेवार रहेको कृषि अभियान्ता सुदर्शन श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार पहिलो कारण तीव्र सहरीकरण र घर जग्गा प्लटिङका कारण सहर नजिकका उर्वर धान खेतहरू कंक्रिटको जंगलमा परिणत हुनु हो । यस्तै दोस्रो कारण, वैदेशिक रोजगारीका कारण ग्रामीण भेगबाट युवा जनशक्ति पलायन हुनु हो, जसका कारण खेतीपाती गर्ने मानिसको अभाव भई पहाडी र दुर्गम क्षेत्रका जमिनहरू बाँझो भइरहेका छन् ।
तेस्रो कारण भने परम्परागत खाद्यान्न बालीमा लाग्ने लागतको तुलनामा न्यून प्रतिफल र बजारको अनिश्चितता हो । यसको कारण किसानहरू छिटो आम्दानी हुने तरकारी र व्यावसायिक बालीतर्फ आकर्षित भएका श्रेष्ठको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण