बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्वचालित कारका लागि एनभिडियाले ल्यायो ‘तर्क गर्न सक्ने’ प्रविधि

मङ्गलबार, २२ पुस २०८२, १७ : ३१
मङ्गलबार, २२ पुस २०८२

वासिङटन डीसी । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले स्वचालित कारहरूका लागि ‘रिजनिङ’ अर्थात् तर्क गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई)युक्त नयाँ प्रविधि सार्वजनिक गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङले लस भेगासमा भइरहेको कञ्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) ‘अल्पामायो’ नाम गरेको एआई प्लेटफर्म सार्वजनिक गरेका हुन् । यसले स्वचालित सवारी साधनमा तर्क शक्ति ल्याउने हुआङको भनाइ छ । 

उनका अनुसार यसले स्वचालित सवारी साधनलाई मानिसलेझैँ सोच्न, दुर्लभ वा जटिल परिस्थितिमा सुरक्षित खालको निर्णय लिन र ड्राइभिङ सम्बन्धी आफ्ना निर्णयहरू अरूलाई बुझाउन सक्षम बनाउनेछ । जर्मन कम्पनी मर्सिडिज–बेन्जसँगको सहकार्यमा एनभिडियाले यो प्रविधिबाट चल्ने चालकविहीन कार मर्सिडिज–बेन्ज सीएलए बनाउन सुरु गरिसकेको छ । उक्त गाडी आगामी केही महिनाभित्र अमेरिकामा सार्वजनिक गरिने बताइएको छ, त्यसपछि यसलाई युरोप तथा एसियामा लगिनेछ । 

मानव चालकबाट प्रत्यक्ष सिकेको हुनाले यो प्रणालीले गाडी स्वाभाविक रूपमा चल्ने हुआङको दाबी छ । अल्पामायो ओपन–सोर्स एआई मोडल भएको अनि यसको कोड ‘हगिङ फेस’ नाम गरेको मेसिन लर्निङ प्लेटफर्ममा निःशुल्क उपलब्ध गराइएको पनि एनभिडियाले जनाएको छ ।

यसले अनुसन्धानकर्तालाई मोडल पुनःप्रशिक्षण गर्न सहज बनाउने बताइएको छ । यस परियोजनाले टेस्लाजस्ता कम्पनीहरूलाई चुनौती दिने देखिन्छ । टेस्लाका हाकिम एलन मस्कले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ९९ प्रतिशतसम्म पुग्न सजिलो भए पनि बाँकी जटिल समस्या समाधान गर्न निकै कठिन हुने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप